नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताएका छन्।
गणेशमान सिंह फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याउनुभएको योगदान’ विषयक कार्यक्रममा उनले भने, “पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातन्त्रबारे नेपालमा मात्र होइन भारतमा पनि आवाज उठाउनुभएको थियो। उहाँ नेपाल आएपछि प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उत्साह थपिएको थियो।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले चन्द्रशेखरप्रति नेपालमा सम्मान र सदभाव रहेको बताउँदै अहिले पनि नेपालको गणतन्त्रात्मक व्यवस्थाप्रति भारतको सदभाव रहेको उल्लेख गरे।
“नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, गणेशमान सिंहलगायतप्रति उहाँको सम्बन्ध राम्रो थियो”, सभापति देउवाले भने, “नेपाल धेरै पटक आउनुभएको र मैले पनि राम्रोसँग चिनेको थिएँ, भारतमा जाँदा म उहाँको निवासमा गएको छु। उहाँ सहयोगी हुनुहुन्थ्यो।”
सभापति देउवाले नेपाल–भारतबीचको खुला सिमानाले दुई देशको प्रगाढ सम्बन्धको महत्वबारे स्पष्ट पारेको उल्लेख गर्दै दुवै देशका जनताबीच समेत घनिष्ठ सम्बन्ध रहिआएको बताए।
प्रकाशित: २५ चैत्र २०८१ २२:१६ सोमबार