१ वैशाख २०८२ सोमबार
image/svg+xml १४:४६ अपराह्न
राजनीति

‘राजनीतिक अस्थिरता र सामाजिक अराजकता मुलुकको चुनौती’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिले मुलुकका चुनौतीका रूपमा देखिएको बताएका छन्। 

राष्ट्रिय युवासङ्घ शिक्षा विभागको आयोजनामा युवा साहित्यिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता र सामाजिक अराजकता लामो समयसम्म नजाने बताए।

महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता जस्ता चुनौतीलाई चिर्न दुई ठूला दल सरकारमा सहभागी भएको बताए।

उनले युवा पुस्ता परम्परागत कृषिमा जोडिन नचाहँदा विदेश पलायन बढेको सुनाए। “नयाँ पुस्ता परम्परागत कृषिमा संलग्न हुन चाहेनन्, जसले सबैभन्दा धेरै रोजगारी दिन्थ्यो, त्यो रोजगारीबाट युवाहरू अलग्गिए, आज समाजमा जुन प्रकारको मानव शक्ति व्यवस्थापन चुनौती छ, त्यसका कारण भनेको शिक्षित युवा कृषिबाट विमुख हुनु हो”, उनले भने।

उनले परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणाली विकास गरेर देशमा रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिए।

“देश रातारात बन्दैन। समय लाग्छ। २०१५ साल यता जम्मा १७ वर्षमात्र राजनीतिक दलले नेतृत्व गर्न पाएका छन्”, उनले भने, “राजनीतिक दलले नेतृत्व गर्ने समय पर्याप्त नपाएर मुलुक नबनेको हो।”

कार्यक्रममा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवालाई सामाजिक अराजकताबाट टाढा राख्नुपर्ने धारणा राखे।

सङ्घका शिक्षा विभाग प्रमुख तथा सचिव कुवेर अधिकारीले आजको आवश्यकता युवाहरूमा सकारात्मक सोचको विकास गरी आत्मविश्वास दिलाउन र नयाँ सोचका साथ राष्ट्र निर्माणमा योगदान गराउन सम्मेलन आयोजना गरिएको बताए।

सम्मेलनमा युवाहरूले मुलुकका लागि सकारात्मक सन्देशमूलक कविता, गजल, निवन्ध, वकृत्वकला वाचन गरिने जनाइएको छ।

उत्कृष्ट हुनेलाई पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। सम्मेलनमा हुने वतृत्वकलामा ११० तथा गजल, कविता र निवन्धमा ४०० सहभागी छन्।

प्रकाशित: २५ चैत्र २०८१ २०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App