गर्मी मौसम सुरु भएयता लुम्बिनी प्रदेशको ३ हजार बढी हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयको तथ्याङ्क अनुसार ३ हजार १ सय ८१ दशमलव २० हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । अहिले सम्म प्रदेशका १२ जिल्लाका १ सय ९३ स्थानमा डढेलो लागेको छ । डढेलोमा परि एक जनाको मृत्यु समेत भएको छ भने २ जना घाइते समेत भएका छन् । यसै गरी सयौँ बोटबिरुवा जलेर नष्ट भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।
जिल्लागत रुपमा हेर्दा सबै भन्दा बढी डढेलो रुकुम पूर्वमा लागेको छ । यहाँ १ हजार १ सय २० हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ । ६ स्थानमा आगो लागेको र ३ हजार २ सय ७६ बोटबिरुवा जलेर नष्ट भएको निर्देशनालयका सूचना अधिकारी डिलाराम पौडेलले जानकारी दिए । उनका अनुसार आगो निभाउने क्रममा ढुङ्गाले लागेर एक जना घाइते समेत भएका छन् । वनमा आगो लगाउने दुई जनालाई कानुनी कारबाही गरिएको पनि सूचना अधिकारी पौडेलले जानकारी दिए ।
यसै गरी पाल्पामा ७ सय २६ हेक्टर वन क्षेत्रमा अहिले सम्म डढेलो लागेको छ । वन निर्देशनालयले सोमबार तयार पारेको तथ्याङ्क अनुसार पाल्पामा ६५ स्थानमा डढेलो लागेको र आगलागीमा परिन एक जनाको मृत्यु समेत भएको छ। आगलागीमा पनि पाल्पा गत २१ गते रिब्दीकोटका टेबहादुर सुर्तुंगे मगरको मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी पौडेलले जानकारी दिए । यसै गरी आगो निभाउने क्रममा एक जना घाइते भएका छन् भने एउटा गोठ समेत जल्नुका साथै सयौँ बोटबिरुवा जलेर नष्ट भएका छन् । यसै गरी दाङ ( देउखुरी डिभिजन अन्तर्गतको क्षेत्र) मा ३ सय ९४ दशमलव ५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।
१५ स्थानमा भएको आगलागीबाट बाेटबिरुवामा सामान्य क्षत्री भएको निर्देशनालयले उल्लेख गरेको छ । यसै गरी नवलपरासीमा २ सय ५० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । २० स्थानमा भएको आगलागीबाट साना बोटबिरुवा जलेर नष्ट भएका छन् । यसै गरी दाङ (दाङ डिभिजन अन्तर्गतको वन क्षेत्र) मा १ सय ५९ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । ९ स्थानमा भएको आगलागीबाट ५ हजार विरुवा जलेर नष्ट भएको वन निर्देशनालयका सूचना अधिकारी पौडेलले जानकारी दिए । यसै गरी आगाबाट एउटा गोठ र ३ वटा परालका टौवा समेत जलेका छन् ।
यस्तै अर्घाखाँचीमा १ सय १२ दशमलव५५ हेक्टर वन क्षेत्र डढेलोबाट सखाप बनेको छ । १६ स्थानमा लागेको आगोबाट बाेटबिरुवा जलेर नष्ट भएका छन् । यसै गरी रुपन्देहीमा १ सय १० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । निर्देशनालयका अनुसार १८ स्थानमा भएको आगलागीबाट १ हजार ७ सय बोटबिरुवा जलेर नष्ट भएका छन् । यस्तै गुल्मीमा ११ स्थानमा भएको आगालागीबाट ५७ हेक्टर वन क्षेत्र नासिएको छ । आगलागी भएको स्थानमा बोटबिरुवा जलेर नष्ट भएका छन् भने ३ घरगोठ समेत जलेका छन् । यसै गरी कपिलवस्तु ( गौतमबुद्ध डिभिजन वन क्षेत्र) मा ७० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । ९ स्थानमा भएको आगलागीबाट ३ घर र २ गोठ जलेका छन् भने बाेटबिरुवा समेत नष्ट भएको वन निर्देशनालयले जनाएको छ । यसै गरी कपिलवस्तु(कपिलवस्तु डिभिजनको क्षेत्र) मा ६२ दशमलव७५ हेक्टर वन क्षेत्रमा डढेलो लाग्दा बाेटबिरुवा जलेर नष्ट भएका छन् । यहाँ अहिले सम्म ५ स्थानमा आगलागी भएको निर्देशनालयले जनाएको छ ।
यसै गरी बर्दियामा ३९ दशमलव ५ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । ५ स्थानमा भएको आगलागीबाट यो जिल्लामा पनि साना बिरुवा जलेर नष्ट भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । बाँकेमा ६ स्थानमा लागेको आगोले २५ हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँ पनि आगालागिबाट बोटबिरुवा जलेका छन् । यसै गरी रोल्पामा ३९ दशमलव ८ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ भने डढेलोले सैयाैँ बोटबिरुवा जलेका छन् । यो जिल्लामा अहिले सम्म ६ स्थानमा आगलागी भएको छ । यस्तै प्यूठानमा १५ दशमलव ५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । २ स्थानमा भएको आगलागीबाट १ घर, एक गोठ जल्नुका साथै १ जना घाइते समेत भएका छन् । यहाँ पनि साना बोटबिरुवा जलेर नष्ट भएको प्रदेश वन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार वनमा आगलागी हुनुको प्रमुख कारण मानवीय त्रुटि देखिन्छ । चोरी सिकारी गर्नेहरूबाट वन क्षेत्रमा बढी आगलागी हुने गरेको वन निर्देशनालयका सूचना अधिकारी पौडेलले जानकारी दिए । ‘मूलतः जङ्गलमा चोरी सिकारी गर्नेहरूले आगो बाल्ने र त्यहीँबाट वनमा फैलिने गरेको पाइन्छ,’ सूचना अधिकारी पौडेलले भने ‘आगलागीको प्रमुख कारण भनेकै मानवमा चेतको विकास नहुनु नै हो ।’ यसै गरी कतिपयले घाँस पलाउने भन्दै जानी जानी वनमा आगो लगाउने गरेको समेत पाइन्छ । ‘कतिपयले वनमा आगो लगायो भने हरियो घाँस पलाउँछ भनेर पनि जानी जानी आगो लगाएको पाइन्छ,’ सूचना अधिकारी पौडेलले भने ‘वनमा आगो लगाउनु हुँदैन भनेर जति सुकै सचेतना बढाउन खोजिए पनि परिणामतः परिवर्तन भएको देखिन्न ।’
यसै गरी वनमा डढेलो फैलिनुको कारण भनेको सुख्खा याम बढी हुनु हो । पानी परेको खण्डमा वनमा लागेको आगो निभ्ने भएकाले क्षति कम हुने भएपनि पानी नपर्दा आगो नियन्त्रण भन्दा बाहिर गएर ठूलो क्षेत्री निम्तने गरेको पौडेलले बताए । अहिले सम्मको पछिल्लो आगलागीको तथ्याङ्क गत वर्षको भन्दा बढी नभएको तर पानी नपरेको खण्डमा डढेलो फैलने पनि उनले बताए । ‘अहिले सम्मको तथ्याङ्कलाई हेर्ने हो भने यो त्यति भयावह हैन,’ उनले भने ‘तर पानी परेन भने, सुख्खा बढ्यो भने आगो वनमा फैलन्छ, यसले बढी क्षेत्री निम्त्याउँछ ।’
प्रकाशित: २५ चैत्र २०८१ १८:३९ सोमबार