१६ चैत्र २०८० शुक्रबार
अन्य

सुपा देउराली

हाम्रो गाउँ, राम्रो गाउँ

गीता पौडेल

गीता पौडेल

दुईटा फूल र ढुंगा चढाएर देउरालीप्रति सद्भाव दर्शाउने बटुवाहरूसहित समग्र गाउँलेको आस्थाको प्रतीक मानिन्छ सुपा देउराली मन्दिर। सन्धिखर्क–गोरुसिंगे राजमार्गमा आवतजावत गर्नेहरूको मनोकामना पूरा गराइदिने देवी। दुःख परेका बेला भाकल गर्ने र भाकल पूरा भएपछि आफूले भनेका कुरा सुपा देउरालीलाई चढाउने परम्परा छ।

अर्घाखाँची जिल्ला, सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोटमा छ मन्दिर।  नरपानी र फलामे दुई अग्ला महाभारतबीचको खोंचमा अवस्थित मन्दिरमा एकादशी, औंसी र पूर्णिमाबाहेकका दिनमा भाकल चढाउन सकिन्छ। विशेषतः शनिबारका दिन भाकल चढाउनेहरूको भिड लाग्छ।

सुपा देउराली मन्दिर पछाडिका झरनामा क्यानोनिङ, शीत खोलामा बञ्जीजम्प र मन्दिरभन्दा माथि डाँडामा प्याराग्लाइडिङको सम्भावना देखिन्छ।  

प्राकृतिक रुपमा पनि मन्दिर क्षेत्र मनमोहक छ। मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङछङ आवाजले त्यो बाटो भएर आवतजावत गर्ने यात्रुको मन लोभ्याउँछ। मन्दिर परिसरबाट हिमाल, पहाड र तराई एकैसाथ देख्न सकिन्छ।  

यही मन्दिरका कारण अर्घाखाँचीमा आन्तरिक पर्यटन बढ्दै गएको छ। कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाने बाटोमा पर्ने सुपा देउराली आसपासका जिल्लाका आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको छ सुपा देउराली।  

मन्दिरको उत्पत्तिबारे एकिन तिथीमिति पत्ता लागेको छैन। तर, देवीको व्यवस्थित मन्दिर २०४२ सालमा बनाइएको हो। धाराको पानी अचाएर घण्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा आनन्द अनुभव हुन्छ।  

पक्की बाटोको छेउ तथा भयानक छाँगाको शिरमै मन्दिर अडिएको हेर्दा चमत्कार जस्तै लाग्छ। मन्दिर हातामा विश्रामस्थल र पिउने पानीको सुविधा छ। नजिकै खाजा पसल र होटल पनि छन्।  

सुपा देउरालीको रोचक किंवदन्ती छ। बाइसे–चौविसे राजाको पालामा खाँचीकोटका राजकुमार र भारत बलरामपुरको राजकुमारीसँग वैवाहिक सम्बन्ध कायम गर्ने टुँगो भएछ। लगनको दिन दुलही लिएर अर्घाखाँची फर्कने बेला बाटोमा जन्तीलाई भोज खुवाउने योजना बनेछ। भोज खाने क्रममा जन्तीबाट खाँचीकोटका राजाले झुक्याएर विवाह गरेका र दुलहीतर्फको जातको प्रसंग निकाल्दा जन्तीहरूका बीचमा विवाद भएछ।

भोजमा जेजस्तो विवाद भए पनि दुलही खाँचीकोटसम्म पुर्याउनुपर्ने हुँदा जन्तीहरू अघि बढेछन्। बाटोमा दुलही बोकेको तामदानबाट रगतको थोपा चुहिन थालेछ। जन्तीहरू आत्तिएर तामदानमा हेर्दा दुलही मृतावस्थामा देखेछन्। अनि सबै जन्ती शोकाकुल भएछन्। दुलहीको मृत्युको शोकले खाँचीकोट शोकमग्न भएछ।  

भोलिपल्टबाट गाउँमा रोगव्याधि उत्पन्न हुन थालेछ। गाउँघरमा मानिसको समेत मृत्यु हुन थालेछ। सबै मानिस आत्तिन थालेछन्। गाउँका धामीझाँक्री र जोखाना हेर्ने जैसीको समेत खैलाबैला भएछ। त्यसैबेला एक जना झाँक्रीले विवाह गरेर ल्याएकी राजकुमारी देवीको स्वरूप उत्पन्न भएकाले उनको पूजाआजा नगर्दासम्म गाउँमा यस्तै भइरहने बताएछन्।

त्यसपछि गाउँलेहरू दुलही लिएर जाँदा तामदानबाट रगतको थोपा झरेको स्थान भन्ज्याङमा आएर सुपादेउरालीको प्रतिमा राखी पूजा गरेछन्।

मन्दिर धार्मिक आस्थाको केन्द्र त हुँदै हो, यसको आम्दानीले शैक्षिक क्षेत्रमा समेत राहत पुगेको छ। मन्दिरको भेटीबाट अर्घाखाँचीका दुईटा विद्यालयका एक दर्जन शिक्षकलाई तलब खुवाइन्छ। 

समयक्रममा वैशाखे पूर्णिमाका दिन पूजा गरिने ठाउँमा विसं २०४० सालमा अर्घाखाँचीका बाबुराम रायमाझीले सामान्य मन्दिर बनाएपछि संरक्षण समिति बनाइएको थियो। त्यसबेलादेखि नित्य पूजा शुरू भएको मन्दिरलाई पछि पुनःनिर्माण गरियो। यसमा अर्घाखाँची निवासी श्रीनरनारायण बाबाले महत्वपूर्ण योगदान गरे। अर्घाखाँचीमै जन्मेका उनले बाबा आश्रम सेवा संस्था मातातीर्थ मार्फत १ करोड रुपियाँको लागतमा मन्दिर पुनःनिर्माण गराए। जस्तापाताले छाएको सामान्य मन्दिरलाई कलात्मक रुपमा पुनः बनाइएको हो।  

मन्दिर धार्मिक आस्थाको केन्द्र त हुँदै हो, यसको आम्दानीले शैक्षिक क्षेत्रमा समेत राहत पुगेको छ। मन्दिरको भेटीबाट अर्घाखाँचीका दुईटा विद्यालयका एक दर्जन शिक्षकलाई तलब खुवाइन्छ। खाँचीकोटको आदर्श माध्यमिक विद्यालयका पाँच र सीतापुरको शान्ति निम्न माध्यमिक विद्यालयका सात शिक्षकलाई मन्दिरकै आम्दानीबाट तलब खुवाइन्छ।  

मन्दिरको भेटी दैनिक दुई हजार पाँच सयदेखि १० हजारसम्म हुने गरेको छ। भेटीको ७५ प्रतिशत रकम विद्यालायमा जान्छ भने बाँकी २५ प्रतिशतले मन्दिर व्यवस्थापन गरिन्छ। भेटीबाटै गरीबलाई आर्थिक सहयोग, छात्रवृत्ति तथा वृद्धवृद्धालाई सहयोग गर्ने गरिएको छ। त्यस्तै सीतापुर र खाँचीकोटमा खानेपानीदेखि सडक विस्तारसम्मका काममा सहयोग गरिएको छ।

पूजारीबाहेक मन्दिरमा व्यवस्थापन समितिका दुई, सहयोगी पाँच र चौकीदार एक जना पनि बस्छन्। मन्दिर व्यवस्थापन समितिले धर्मशाला बनाउने निर्णय गरेको छ। तर, आवश्यक रकम जुट्न नसक्दा काम शुरू भैसकेको छैन।

सुपा देउरालीलाई प्राकृतिक, धार्मिक र साहसिक गन्तव्यका रुपमा विकास गर्न सकिन्छ। मन्दिर क्षेत्रमा साहसिक खेल गतिविधिको सम्भावना देखिन्छ। मन्दिर पछाडिका झरनामा क्यानोनिङ, शीत खोलामा बञ्जीजम्प र मन्दिरभन्दा माथिको डाँडामा प्याराग्लाइडिङको सम्भावना अध्ययन गरिएको छ। 

(पर्यटन प्रवद्र्धन मञ्च नेपालले आयोजना गरेको ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगितामा पुरस्कृत लेख।)

प्रकाशित: २७ असार २०७७ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App