११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

बिस्का जात्रा: आज पूजा, भोलिदेखि जात्रा

भैरवनाथकाे रथ। तस्बिर: नागरिक

यस वर्षको बिस्का जात्रा बुधबारदेखि सुरु हुँदै छ। बुधबार पूजा सामग्री, सुकुन्दा र बाजागाजासमेत लिई भक्तपुरको सल्लाघारी च्वंगा गणेशस्थान जाने र त्यहाँबाट खड्ग ल्याई गुठी कार्यालय सूर्यविनायक भक्तपुर भिœयाउने कार्यतालिका रहेको छ। यसका लागि खड्ग बोक्ने, छाता ओढाउने, सुकुन्दा बोक्ने एकएक जना र पूजा सामान बोक्ने आवश्यक कर्मचारी र बाजा बजाउने कुस्ले सहभागी हुनेछन्।

जात्राको औपचारिक सुरुवात भने बिहीबारदेखि हुनेछ। भक्तपुरका ङातापोल (पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेर जात्रा सुरु हुने परम्परा छ। यस दिन बिहानैबाट पूजा सुरु हुने छ।

बिहान पाँच बजे भैरवनाथको नित्य पूजा, ६ बजेदेखि आठ बजेसम्म भैरवनाथको पूजा सकिएपछि साँझ तीन बजेबाट भैरवनाथको रथ तान्न सुरु गरिने जात्रा कार्यतालिका मंगलबार सार्वजनिक गरिएको छ। रथ तानेर साँझ पाँच बजेभित्र गन्तव्यस्थल गःहिटीमा पु¥याउने कार्यतालिका सार्वजनिक भएको हो।

प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि (यो वर्ष चैत २८ गते) भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ। भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरअगाडि राखेर काठैकाठले बनाएको तीनतले भैरवनाथको रथलाई डोरीको सहायताले तानेर आठ दिन नौ रातसम्म जात्रा हुने गर्दछ। जात्रा वैशाख ५ गते यही रथ तानेर समापन हुने छ।

प्यागोडा शैलीमा बनाइएको भैरवनाथको रथको दुवैतिर डोरी राखेर तान्ने गरिन्छ। जात्राको पहिलो दिन अर्थात् चैत २८ गते रथ तान्ने प्रक्रियालाई स्थानीय नेपाल भाषामा द्यः कुहँ बिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ।

यो दिन भक्तपुर नगरको ठिक बिच भागमा रहेको पाँचतले मन्दिरमा राखेर बनाइएको रथलाई नगरको तल्लो साइटमा तानेर लैजाने गरिन्छ। सयौं युवाको सहभागितामा ६ वटा मोटामोटा डोरीको सहायताले रथ तान्ने गरिन्छ। रथ तान्ने क्रममा कहींकतै ठक्कर खाएमा फर्काउनुपर्न सक्ने भएकाले दुवैतिर डोरी राखेर रथलाई तानिन्छ। तर जुन दिन जता लाने हो, त्यता ६ वटा र अर्कातिर चारवटा मात्रै डोरी राखेर तान्ने गरिन्छ। जात्रामा हजारौंको सहभागितामा हुने छ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख खीमा ओलीले जात्रालाई व्यवस्थित र सभ्यरूपमा सम्पन्न गर्न दिउँसो तीन बजेबाट रथ तानेर साँझ पाँच बजेभित्र विसर्जन गर्ने योजना बनाएको बताइन्।

जात्रामा हजारौंको भीड हुने भएकाले शान्ति सुव्यवस्था कायम राख्न सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै सादा पोसाकमा पनि उत्तिकै सुरक्षाकर्मी खटिएका हुन्छन्। साथै ठाउँठाउँमा सिसिटिभीको पनि बन्दोबस्त गरिएको छ।

भैरवनाथको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते भैरवनाथकै रथ तानेर समापन हुने छ। यसबिचमा वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाउने र वैशाख १ गते ढाल्ने परम्परा जात्राको अर्काे आकर्षण हो।

प्रकाशित: २७ चैत्र २०८१ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App