१८ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

भुवन र नीरजको फराकिलो जित

सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच–प्लेको पहिलो दिन प्राफेसनल नम्बर एक भुवन नगरकोटी र नम्बर दुई नीरज तामाङले फराकिलो अन्तरको जितमा क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धनबहादुर थापा, रवि खड्का, प्रदीपकुमार लामा, तोरणविक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाए।

रोयल नेपाल गल्फ क्लबमा मंगलबार भुवनले १६औं वरीयताका पशुपति शर्मालाई ५–४ ले हराए। चार होलअगाडि जित निकालेका उनले अब क्वाटर्रफाइनलमा धनबहादुर थापालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्।

आठौं वरीयताका धन र नवौं वरीयताका भुवनकुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो। १७औं होलको समाप्तिसम्म दुवै बराबरीमा थिए। १८औं होल जितेर धनले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

अर्का खेलाडी नीरजले १५औं वरीयताका सूर्यप्रसाद शर्मालाई सहजै ५–४ ले हराए। चार होलअगाडि पहिलो चरणको खेल जितेका नीरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन्। नीरजले अब सातौं वरीयताका रामे मगरसँग क्वार्टरफाइनल खेल्नेछन्। रामेले १०औं वरीयताका दीपक मगरलाई ४–३ ले हराए।

डिफेन्डिङ च्याम्पियन तेस्रो वरीयताका दिनेश प्रजापतिले १४औं वरीयताका रमेश अधिकारीलाई ४–३ ले माथ दिए। उनले अब अनुभवी तोरणविक्रम शाहीसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछन्। ११औं वरीयताका तोरणसँग छैटौं वरीयताका जयराम श्रेष्ठ ३–२ ले पराजित हुन पुगे।

यसैगरी चौथो वरीयताका रवि खड्काले १३औं वरीयताका टंकबहादुर कार्कीलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। रविले अब १२औं वरीयताका प्रदीपकुमार लामासँग खेल्नेछन्। प्रदीपले पाँचाैं वरीयताका सञ्जय लामाविरुद्ध २–१ को अप्रत्याशित नतिजा निकाले।

सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन्। प्रतियोगिताको कुल नगद पुरस्कार राशि २ लाख ५० हजार रहेको छ। उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन्।

यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार रूपैयाँ हात पार्नेछन्। क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार रूपैयाँ प्राप्त गर्नेछन्। पहिलो चरणमा पराजित भएका आठ खेलाडीले नगद ६/६ हजार पाउनेछन्।  

प्रकाशित: २७ चैत्र २०८१ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App