२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

वाग्मतीमा बग्ला सफा पानी?

ऐतिहासिक हिसाबले कान्तिपुर नगरीको आफ्नै महत्व छ। तर दिनदिनै थुप्रिने फोहोरको डँगुर अनि घर घर र उद्योगबाट निस्कने फोहोर पानीे बिनाप्रशोधन वाग्मती र यसका सहायक नदीहरूमा मिसाउँदा यो कुरूप भएको छ।सहर बस्नलायकको बन्न वातावरण स्वच्छ हुनुपर्छ।

वाग्मती नदी कसरी प्रदूषित भइरहेको छ? यसका लागि फोहोर पानीबारे बुझौं। घर वा उद्योगले प्रयोगपछि छाडेको फोहोर पानी हो। घरबाट निस्कने फोहोर पानी दुई किसिमको हुन्छ। एउटा, दिसाजन्य फोहोर पानी। यसको मात्रा करिब २५ देखि ६० प्रतिशतसम्म हुन सक्छ। अर्को, दिसाजन्य पदार्थरहित फोहोर पानी। यसको मात्रा ७५ प्रतिशतसम्म हुन्छ।

दिसाजन्य फोहोर पानीमा अर्गानिक पदार्थ (बिओडी) को मात्रा बढी हुन्छ। एक लेखअनुसार दैनिक २१ हजार किलो ग्राम अर्गानिक पदार्थ (बिओडी) वाग्मती र आसपासका नदीमा फ्याँकिन्छ। यो केही समयपछि कुहिन थाल्छ। अक्सिजनको मात्रा कम भएमा फोहोरलाई गलाउने ब्याक्टेरियाहरूले काम गर्न थाल्छन्। यसले गर्दा फैलिएको दुर्गान्धित ग्यास नदीको आसपास फैलिन्छ। विकसित राष्ट्रहरूमा दिसाजन्य र दिशारहित पानीलाई छुट्टै संकलन गर्ने चलन बढ्दै गएको छ।

दिसारहित फोहोर पानीमा लुगा धुने स्थानबाट निस्कने फोहोर पानीदेखि पिसावसम्म मिसिन्छ। यसमा रोगजन्य ब्याक्टेरियाको सम्भावना निकै कम हुन्छ। स्वस्थ मानिसको पिसाव आफैँमा त्यस्ता ब्याक्टेरिया नष्ट गर्ने सामथ्र्य राख्छ। यस्तो पानीलाई थोरै मात्रामा प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ। गाडी धुन, बगैँचामा सिँचाइ गर्न वा शौचालयको फ्लसिङ्गमा यसको प्रयोग हुन सक्छ।

वाग्मती फोहोर हुनुमा फोहोरमैलाजन्य ठोस पदार्थ नदी किनारमा थुपार्नु पनि एक हो। यस्तो फोहर बिस्तारै कुहिँदै जान्छ। यसरी कुहेको फोहोरबाट निस्कने तरल पदार्थ फोहोर पानीभन्दा ५०औँ गुणा शक्तिशाली हुन्छ। यसले नदीलाई अझ प्रदूषित बनाउँछ। वाग्मतीमा सफा पानी बगाउने हो भने तरल र ठोस पदार्थजन्य दुवै फोहोरलाई व्यवस्थत गर्नु पर्छ। यसमा राज्यको प्राथमिकता कम छ।

हालै प्रकाशित जनगनणाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको सहरी इलाकामा १५४५ मिलियन एक अर्ब ४४ करोड ५० लाख लिटर फोहोर पानी दैनिक उत्पादन हुन्छ। यसको ७ प्रतिशत जति अर्थात १०० लिटर फोहोर पानी उत्पादन हुँदा ७ लिटरलाई मात्र प्रशोधन गरिन्छ। विश्वका अन्य मुलुकमा १०० लिटर उत्पादित फोहोर पानीमध्ये जम्मा सरदर २० लिटरलाई मात्र प्रशोधन गरेको पाइन्छ। विकसित राष्ट्रमा यो दर बढी छ। यसरी प्रशोधित पानीमा समेत नाइट्रोजन र फस्फोरसको मात्रा निकै र अर्गानिक पदार्थको मात्रा थोरै हुन्छ।

फस्फोरसको ०।१ मिलिग्राम प्रतिलिटर मात्रा पनि नदीको गुणस्तर बिगार्न प्रयाप्त हुन्छ। यसले ताल वा नदीको पानीमा एल्गीको मात्रालाई ह्वात्तै बढाउन सक्छ। योसँगै अर्को मुख्य समस्या फिकल कोलिफर्म अर्थात मानिसको दिसामा पाइने एकखाले ब्याक्टेरिया हो। एसियाका लगभग आधा नदीको पानीमा बाह्रै महिना यसको मात्रा १००० सिएफयु/१०० एमएलभन्दा बढी छ। युएनइपीका अनुसार यसबाट १३ करोड ४० लाख जनसंख्या प्रत्यक्ष प्रभावित भएको छ।

यसमा किसान संख्या जोडिएको छैन। यस्तै वाग्मतीको पानीमा यसको मात्रा बाह्रै महिना १०००० सिएफयु/१०० एमएलभन्दा माथि छ। यसको अर्थ वाग्मतीलाई खेतीमा प्रयोग गर्दा सहर आसपासका बस्तीेमा फोहोर पानीबाट सर्न सक्ने रोगको संक्रमण निकै हुने देखिन्छ। योसँगै वाग्मतीको पानीमा मेडिकलजन्य प्रदूषण पनि उल्लेख्य मात्रामा देखिएको छ। केही मात्रामा हेभी मेटल र विषादिको चुनौती पनि थपिएको छ। वाग्मतीमा सफा पानी बगाउने हो भने हामीले केही प्राकृतिक विधिमा आधारित इन्जियरिङ गतिविधि प्रयोग गर्न सकिन्छ।

हामीकहाँ खानेपानी र फोहोर पानी व्यवस्थापनसम्बन्धी छुट्टै कोड छैन। विदेशी कोडहरूमा आधारित प्रशोधन प्रणाली हाम्रा लागि उपयोगी नहुन सक्छ। सहरका फोहोर पानी प्रशोधन केन्द्रहरू बन्द हुनुको एउटा कारण यो पनि हुन सक्छ। हामीले फोहोर पानीमैत्री प्रशोधन प्रविधिमा सुधार गर्न सकेका छैनौं। कोडहरू निर्माण गर्दै गर्दा अरू राष्ट्रको हुबहु सार्नु भन्दा केही अनुसन्धान आफ्नै भूमिमा गरेर बनाउनु उपयोगी हुन्छ। हाम्रो अनुसन्धानको पाटो कमजोर रहनु समस्या हो। केही अनुसन्धान भए तापनि सम्बन्धित निकायबीच समन्वय अभाव छ।

हाल विश्वमा फोहोर पानी प्रशोधन गर्न प्रयोग गर्ने प्रख्यात विधि ब्याक्टेरियामा आधारित छ। यिनीहरूको प्रयोग गर्दैगर्दा तापक्रम लगायत त्यहाँको पानीमा पाइने अन्य अवयवको अध्ययन हुनु आवश्यक छ। यस्तो काम विश्वविद्यालयले गर्नुपर्ने हो। विडम्बना, हाम्रो सरकारी निकाय र विश्वविद्यालयबीच कुनै समन्वय छैन। भारतका आइआइटीले यस्ता काममा नेतृत्वदायी भूमिका निभाउँछन्।

हालै २०१७ मा आइआइटी मद्रासले फोहोर पानी प्रशोधन गरेर त्यसलाई पुनः प्रयोगमा ल्याउने योजना सफल कार्यान्वयन गरेको छ। यसले वार्षिक १ करोड भन्दा बढी भारतीय रुपियाँ आम्दानी गर्न सफल भएको छ। साथै खानेपानीको समस्या न्यूनीकरण गर्न योगदान दिएको छ। अर्कोतर्फ यहाँको तालमा पानी सञ्चित गरेर पर्यावरणमा थप सहयोग गरेको छ।

प्रोफेसर फिलिपको यो मोडलले भारतलाई एउटा नयाँ बाटो देखाउने निश्चित छ। यो मोडललाई तमिलनाडु सरकारले पछ्याउँदैछ। यसले विश्वमा देखिएको पानीमाथिको चाप कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। हाम्रा ठूला सरकारी कार्यालयमा यस्तो मोडल अपनाए पक्कै पानीको अभावले सफा हुन नसकेका शौचालयलाई राहत पुग्थ्यो।

फोहोर पानी व्यवस्थापन गर्न हालै गुहेश्वरीमा निर्माण गरिएको नयाँ प्रशोधन केन्द्रलाई थप व्यवस्थित बनाउँदै अघि बढाउन सकिन्छ। यसले त्यो प्रशोधन केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने ५० प्रतिशत बिजुली आफैँ उत्पादन गर्छ। तर यसको दीर्घकालीन उपयोग कत्तिको हुनेछ हेर्न बाँकी। गुहेश्वरीसँगै १३ करोड ८० लाख लिटर दैनिक उत्सर्जित फोहोर पानी प्रशोधन गर्ने केन्द्रहरू एडिबीको सहयोगमा प्रस्तावित छन् तर उपत्यकाको हकमा अझै पर्याप्त देखिन्न।

केयुकेएलको एउटा रिपोर्ट नियाल्दा १ करोड १३ लाख लिटर दैनिक उत्सर्जित फोहोर पानीलाई प्रशोधन गर्न अपुग देखिन्छ। यस्ता प्रशोधन केन्द्रबाट ग्लोबल वार्मिङलाई साथ दिने ग्यासहरू निस्कन्छन् जुन अर्को चिन्ताजनक पक्ष हो। यतिले मात्र नदी सफा राख्न सकिन्न। नदी सफा राख्न अहिले केही प्राकृतिक विधिमा आधारित प्रशोधन प्रणाली उपयुक्त हुन सक्छन्। को फ्लोटिङ वेटल्यान्डलाई नदीकै धारमा फिट गर्न सकिन्छ र यसले नदी वा तालको पानीमा रहेको अर्गानिक, नाइट्रोजन र फस्फोरसको मात्रालाई कम गर्न सक्छ।

यो सस्तो हुनुका साथै पर्यावरणका हिसावले लाभदायी छ। अहिले विकसित राष्ट्रमा पहिल्यै छुट्याइने भएकोले फोहोर पानीमा नाइट्रोजन र फस्फोरसको मात्रा निकै हुन्छ। वाग्मतीमा सफा पानी बगाउने सपना साकार पार्न सकिन्छ। त्यसका लागि सहरलाई एकीकृत फोहोर व्यवस्थापनमा जोड्न आवश्यक छ। ठोस र तरल दुवै फोहोरको समुचित व्यवस्थापन नगरेसम्म हरेक शनिबार गरिने सरसफाइ कार्यक्रमले वाग्मती सफा राख्न योगदान दिएको त छ तर यो दीर्घकालीन हुँदैन। खानेपानी, फोहोर पानी र फोहोरमैलालाई एकीकृत ढङ्गले सम्बोधन गर्नु आवश्यक छ।

यसमा प्राविधिक पाटोभन्दा बढी राजनीतिक र सामाजिक इच्छाशक्तिको खाँचो छ। प्रविधिको अभावले मात्रै काठमाडौँ फोहोर भएको होइन। किनकि अहिले निर्माण गरिँदै गरिएको ल्यान्डफिल्ड साइटले कति वर्ष फोहोरलाई धान्ने हो? यसको आयु महानगर हाँक्ने नेतृत्वमा भर पर्छ। उत्सर्जित फोहोरलाई न्यूनीकरण गर्दै अर्गानिक फोहोरलाई छुट्टै संकलन गरेर कम्पोस्ट मल मात्र बनाउन सके अर्थात भक्तपुरबाट केही ज्ञान सिक्न सके साँच्चै काठमाडौँको रूप फेरिने थियो।

पिएचडी स्कलर, आइआइटी, मद्रास 

प्रकाशित: २८ कार्तिक २०७९ ००:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App