६ वैशाख २०७८ सोमबार
विचार

खोपका राजकुमार

दृष्टिकोण

यतिबेला अस्ट्राजेनेका खोपको संसारभर चर्चा छ। नहोस् पनि किन, सारा गिल्बर्टले अक्फोर्ड विश्वविद्यालयको टोलीसँग मिलेर बनाएको यो खोपलाई यति धेरै चर्चामा ल्याइयो कि हिजोसम्म नामै नसुनिएको आङ्ल–स्विडिस औषधि कम्पनीको चारैतिर नाम सुन्न थालियो। कतिसम्म भने नेपालीले पनि यो खोपका बारेमा सुन्न थाले।

नेपालीले सुन्नुको अर्को कारणचाहिँ यो खोपको सर्वसुलभताका लागि भारतीय एउटा कम्पनीका ४० वर्षीय ‘युवा’ले यसको जिम्मेवारी लिएका थिए। ती भारतीय हुन्, अदर पुनावाला। उनी आफूलाई ‘खोपका राजकुमार’ भन्न रुचाउँछन्। नरुचाऊन् पनि किन, उनका बुवा साइरस पुनावालाले स्थापना गरेको सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले अहिलेसम्म संसारलाई चाहिने सबै प्रकारका खोप उत्पादन गर्ने गरेको छ र त्यसैका आधारमा उनलाई ‘खोपका राजा’ उपनाम पाएका थिए। जब यिनै ४० वर्षीय युवा अदरले कोरोनाकालमा महत्वाकांक्षी परियोजना अघि बढाए, उनले आफूलाई ‘खोपका राजकुमार’का रूपमा दर्ज गर्ने प्रयास गरे।

हुन पनि अदर सन् २०११ मा एसआइआईको प्रमुख कार्यकारी भएयता यस कम्पनीले वार्षिक १।५ अर्ब खोप उत्पादन गर्ने गर्छ। पोलियो, डिप्थेरिया, टिटानस, बिसिजी, हेपाटाइटिसदेखि रुबेला, दादुराका सबै खोप यसैले उत्पादन गर्ने गर्छ। यो खोपले पुनावालालाई यति सम्पत्ति थुपारिदियो, अहिले उनीहरू भारतकै सबैभन्दा धनीहरूमध्ये छैटौँमा पर्छन्। उनीहरूको अनुमानित सम्पत्ति १५ अर्ब डलर सम्पत्ति आकलन गरिएको छ।  

हालै टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार पहिले अमेरिकी दूतावास रहेको लिङ्कन हाउस यिनीहरूले नै खरिद गरेका थिए, त्यसका लागि उनीहरूले ११३ मिलियन अमेरिकी डलर तिरेका थिए। सन् २०१५ मा किनिएको सो भवन हालसम्मकै भारतीय घर बन्न पुगेको थियो।

अदरको सान कतिसम्म भने दुई सन्तानका पिता उनी यात्राका क्रममा हेलिकप्टर र निजी जेटबाहेक अन्य कुरामा यात्रा गर्न भ्याउँदैनन्। उनले पिकासो, साल्भाडर डाली, रेम्ब्रान्ट र रुबेन्सजस्ता प्रख्यात चित्रकारका कला घरमा सजाउँछन्। उनीसँग ३५ वटा दुर्लभ कारका संकलन छन्।  

उनको निजी जीवन हेर्दा साँच्चिकै चकाचौंधपूर्ण रहेको उनको निजी वेबसाइटमा स्वीकार गरिएको छ, तर वेबसाइट भन्छ, ‘उनी चकाचौंधपूर्ण जीवन रुचाउने, घोडादौडमा रुचि राख्ने र मात्तिएका छोराहरूको जस्तो जीवनशैली देखिए पनि वास्तवमा उनी एक गम्भीर व्यक्ति हुन्। कडा अनुशासनमा हुर्किएका र सधैँ ‘काम काम काम’ भनिरहने उनी बोसका एक असल शिष्य हुन्। र, उनका बोस हुन्, उनका पिता साइरस पुनावाला।’

साइरसले सन् १९६६ मा यो कम्पनी स्थापना गरेका थिए। त्यो बेला यहाँ उनको घोडाको तबेला थियो। तबेला र रेसकोर्स सँगै थियो र नाम थियो, पुनावाला स्टड। त्यहाँ उनका घोडाहरू रेस कोर्समा दौडन तम्तयार भएर बसेका हुन्थे। त्यही रेस कोर्स र तबेलाको जमिनलाई केही घटाएर उनले औषधि उत्पादन कारखाना स्थापना गरेका थिए, एसआइआई।

सन् २०१५ मा जब बिल गेट्सले दिएको संसारमा खतरनाक महामारी आइरहेको र हाम्रो कुनै तयारी नरहेको ‘टेड टक’ अदरले हेरे, त्यसपछि उनी महामारीका लागि आफूहरू तयार रहनुपर्ने उनका बुवा साइरसलाई बताए। त्यो बेला संसारमा कतिपय रोग निर्मूल भइरहेका थिए, नयाँ रोगका लागि तयार रहनुपर्ने छोराको प्रस्तावलाई उनले उति गम्भीर रूपमा लिएनन्। जब साइरसले पनि बिल गेट्सको सो भाषण सुने, छोराको कुरामा दम लाग्यो। यसपछि एकैपटक सन् २०१६ देखि एसआइआईको उत्पादन क्षमता दोब्बर बनाइयो।  

उत्पादन क्षमता दोब्बर बनाउँदाको फाइदा के भयो भने विश्व स्वास्थ्य संगठन, ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनिजेसन र भ्याक्सिन च्यारिटीजस्ता संस्थाले विश्वभरका लागि खोप उत्पादनको जिम्मा एसआइआईलाई नै दिन थाले। भनेको समयमा र भने जति खोप दिने भएकाले एसआइआई एउटा भरपर्दो पार्टनरका रूपमा उदायो।

हेर्दाहेर्दै उनी बिल गेट्सको सहयोगबाट भ्याक्सिन च्यारिटीको बोर्ड सदस्य समेत बन्न पुगे। र, पाँच वर्षमै लगाएको यो छलाङका कारण अदर पुनावाला ‘भ्याक्सिन प्रिन्स’का रूपमा कहलिन थाले। उनको भ्याक्सिन प्रिन्स टाइटल उनको बुवाले पाएको ‘भ्याक्सिन किङ’कै उपनामको निरन्तरता थियो, जब उनी सन् २०११ मा एसआइआईको प्रमुख कार्यकारीका रूपमा चुनिएका थिए।

संसार कोरोना भाइरसबाट आक्रान्त हुन थालेका बेला उनीसँग दुईवटा बाटा थिए–पहिलो, अरू कम्पनीझैँ खोप तयार कहिले हुन्छ, त्यो उत्पादन गर्ने थोरबहुत मौका पाइन्छ कि भनेर कुर्ने र संसारमा मृतक संख्या गनिरहने। अर्को चाहिँ, संसारमा खोप तयार गर्न दौडधुप गरिरहेका शोधकर्तासँग काँधमा काँध मिलाएर अघि बढेर उनीहरूभन्दा अगाडि दौड पूरा गर्ने जोखिम मोल्ने। तीमध्ये उनले पछिल्लो बाटो रोजे। यसमा खतरा निकै ठूलो थियो। लगानीको जोखिम सबैभन्दा ठूलो थियो। तर अदरले त्यो जोखिम उठाए। त्यही जोखिमले आज उनको ‘प्रिन्स अफ भ्याक्सिन’ उपनामलाई प्रमाणित गरिरहेको छ।

प्रकाशित: २१ चैत्र २०७७ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?