१९ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

बालीनाली अवशेषको व्यवस्थापन

फाइल तस्वीर

बालीनाली भित्याएपछि बाँकी डाँठ दाइँ गरेर बचेको पराल, भुस, लहरा तथा जमिनमा असरल्ल पातलाई बालीनाली अवशेष भनिन्छ। केही दशकदेखि कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्दो छ। साथै खेतबारीमा काम गर्ने खेतालाको न्यूनताले गर्दा यो पनि आवश्यकता बनेको छ। यस्तोमा काट्ने तथा दाइँ गर्ने कम्बाइन्ड हाडरवेस्टरको प्रचलन द्रूत गतिले बढेको छ। जसका कारण ठुलो परिमाणमा बालीनालीको अवशेष खेतमा रहिरहन्छ। जसको समुचित व्यवस्थापन एउटा चुनौतीका रूपमा हाम्रो सामु छ।  

किसान आफ्नो सहुलियतका लागि यिनलाई बालेर व्यवस्थापन गर्छन्। किसानको तर्कअनुसार केही बाली जस्तै धानगहुँको जरा चाँडै माटोमा गल्दैन। साथै धान रोप्ने बेलामा तिनले कामदारको खुट्टा घोच्छन्। त्यसबाहेक अवशेष व्यवस्थापनमा खर्च, ज्यामी अनि समयको आवश्यकता पर्छ तथा दुई बालीबीच उपयुक्त समयको अभावमा उनीहरू यस्तो गर्न बाध्य छन्। उनीहरूको तर्क यो पनि छ कि बालीनालीको अवशेष डढाउँदा खेत सफा हुन्छ तर यसरी बालीनाली अवशेषको व्यवस्थापन खेतको माटो, वातावरण एवम् मानिस तथा पशुहरूको स्वास्थ्यका लागि कति घातक हुन्छ, यसको अनुमान आज पनि किसानलाई छैन। 

कुल बालीनाली उत्पादनको ५८ प्रतिशत नगदे बालीबाट, १७ प्रतिशत उखुबाट, २० प्रतिशत रेसा भएका बालीबाट र ५ प्रतिशत तेलहन बालीबाट प्राप्त हुन्छ। भारतमा गरिएको एउटा सर्वेक्षण प्रतिवेदनअनुसार सबैभन्दा बढी बालीनाली डढाउनेमा पन्जाब, हरियाणा, पश्चिमउत्तर प्रदेश रहेका छन्, जसका कारण नयाँदिल्लीको वायु प्रदूषण उच्च बिन्दुमा छ। तर आन्द्र प्रदेश, महाराष्ट्र, पूर्वी उत्तर प्रदेश आदि राज्यमा पनि यो प्रथा सुरु भएको देखिन्छ। हाम्रो आफ्नै परिवेशमा पनि यो प्रथा नौलो होइन।  

बालीनाली अवशेष डढाउँदा माटोमा नोक्सानी

खेतको उर्वरा शक्तिमा ह्रास  

- बालीनालीको अवशेष डढाउँदा शत प्रतिशत नाइट्रोजन, २५ प्रतिशत फस्फोरस, २० प्रतिशत पोटास र ६० प्रतिशत सल्फर नोक्सानी हुन्छ।  

- भूमि संरचनामा क्षति हुनाको कारण पोषक तत्वको समुचित मात्रामा स्थानान्तरण हुँदैन तथा अत्यधिक पानीको निकास हुन पाउँदैन।  

- माटोको कार्बनिक पदार्थमा ह्रास आउँछ।  

- बालीनालीको अवशेषबाट प्राप्त हुने पोषण तत्वबाट माटो वञ्चित हुन्छ।  

- माटोको माथिल्लो सतहमा पाइने मित्र किराफट्याङग्रा आदि नासिएर जान्छन्।  

मानवीय स्वास्थ्यमा दुष्प्रभाव

- दमजस्ता श्वाससम्बन्धी रोगका रोगीहरूलाई साह्रै  

अप्ठ्यारो पार्ने छ, साथै यी रोगका बिरामीको संख्या वृद्धि हुने छ।  

- सल्फर अक्साइड तथा नाइट्रोजन अक्साइडका कारण आँखा पोल्ने समस्या हुन्छ।  

- छालाजन्य रोगको गुनासो बढ्छ।  

- वर्तमानमा बालीनालीको अवशेष डढाइने क्षेत्रमा क्यान्सरका रोगीको संख्यामा वृद्धि भएको देखिन्छ।  

पर्यावरणसम्बन्धी दुष्परिणाम  

- यसले वैश्विक तापमान (ग्लोबल वार्मिङ)लाई प्रोत्साहन गर्छ।  

- कुहिरोजस्तो स्थिति पैदा हुन्छ, जसले दुर्घटनाको जोखिम बढ्छ।  

- बालीनाली अवशेषका साथै खेतबारी किनाराको रुखविरुवालाई पनि आगोले क्षति पुर्याउँछ।  

- ओजोन तहमा ह्रास आउँछ।

- अत्यधिक मात्रामा कार्बनडाइअक्साइडको उत्सर्जनले क्षति पुग्छ।  

- हरित गृह ग्यासको अत्यधिक मात्रामा उत्सर्जनले वैश्विक तापमानलाई प्रोत्साहित गर्छ।  

बालीनाली अवशेष व्यवस्थापनका विकल्प  

अहिलेको अवस्थामा मुख्यतः पशु आहारका लागि केही अवशेष सङ्कलन गरिन्छ। त्यसबाहेक बाँकीलाई खेतबारीमा डढाइन्छ। जसले गर्दा पर्यावरण, जनसमुदाय तथा पशु स्वास्थ्यलाई क्षति भइरहेको छ। अवशेष व्यवस्थापनको विकल्प निम्न प्रकारले हुन सक्छ ः  

- बालीनाली अवशेषलाई पशु आहार तथा औद्योगिक उपयोगका लागि सङ्कलन गर्ने, माटोमा मिलाउने, माटोको सतहमा राख्ने।  

- अवशेषहरूलाई पशु आहारा वा औद्योगिक उपयोगका लागि सङ्कलन गर्ने।  

धानको पराललाई पशु आहाराको रूपमा प्रयोग गरिन्छ। यसमा सिलिकाको मात्रा धेरै हुन्छ। धानको पराललाई युरिया वा क्याल्सियम हाइड्रोक्साइडले उपचार गरेर वा प्रोटिनद्वारा सम्बर्धन गरेर प्रयोग गरी उपचारबाट गुणस्तरमा सुधार गरी आहाराका रूपमा प्रयोग गर्न सकिन्छ। पराललाई सानो सानो टुक्रामा काटेर वाष्पबाट उपचार गरी पशु आहाराका रूपमा प्रयोग गर्न सकिन्छ। स्ट्रो बेलर प्रयोग गरेर खेतबारीमा रहेको बालीनाली अवशेषलाई ब्लाक बनाई भण्डारण गरी ऊर्जा उत्पादन गरेका छन्। धेरै निजी कम्पनीहरूले भारतमा धानको परालबाट बिजुली उत्पादन गरेका छन्। यो बालीनाली अवशेषको प्रभावकारी व्यवस्थापन मानिन्छ। 

देशका मुख्य उत्पादन हुने क्षेत्रमा यसको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता देखिन्छ। बालीनाली अवशेषको कागज कुट, कार्डबोर्ड, कार्टुन कापीकिताबका गाताजस्ता सामान बनाउनमा प्रयोग गरिनुका साथै अरू नयाँ नयाँ वैकल्पिक उपयोगका माध्यम पत्ता लगाउनु नितान्त आवश्यक छ। कुनै पनि दृष्टिकोणले बालीनालीका अवशेष डढाउन उचित मानिँदैन। त्यसैले कृषकले बालीनाली अवशेषको व्यवस्थापनमा यस विकल्पलाई उपयोग गर्नु आवश्यक छ। संरक्षक प्रणालीलाई अपनाएर वा बालीनाली विविधीकरणद्वारा अवशेष डढाउने समस्याबाट मुक्ति पाउन सक्छन्।  

बालीनाली अवशेष माटोमा मिसाउने  

बालीनाली भित्र्याएपछि रोटावेटरले जोतेर एकपटक सिँचाइ गर्नाले बालीनालीका अवशेषहरू माटोमा मिल्छन् अनि अर्को बाली रोप्न वा बिउ छर्न सजिलो हुन्छ। धान, गहुँको अवशेष जोतेर पानी लगाई व्यवस्थापन सम्भव छ साथै २०–२५ किलो युरिया प्रतिहेक्टरले हाल्नाले अवशेष माटोमा विलिन हुने प्रक्रिया चाडो हुन्छ।  

अवशेषलाई खेतको सतहमा राख्ने  

गहुँ काटेपछि बाँकी जरा बुट्यान जिरोटिलेज मेसिन वा टंबो हैप्पी सिडर लु मुङ्ग वा ढैचा छरेर अवशेष व्यवस्थापन गर्न सकिन्छ। धान काटिसकेपछि जिरो टिलेज प्रविधिबाट गहुँ छरेर प्रभावकारी ढङ्गले बालीनाली अवशेष व्यवस्थापन गर्न सकिन्छ। उखु काटिसकेपछि रोटरी डिस्क ड्रिलले गहुँको बिउदाना छर्ने प्रविधिलाई बृहत् रूपमा प्रचारप्रसार गरी उखु बालीको अवशेषलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ। कपास भएको खेतमा गहुँको खेती र गहुँको बोट भएको खेतमा मुङको खेती गरेर बालीनाली अवशेषको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ। यस विधिले बालीनालीको अवशेष डढाउने प्रथा रोक्न सहयोगी हुनेछ। 

प्रकाशित: ५ वैशाख २०८० ००:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App