७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

उद्योगलाई सरकारसँग जोड्न लागिपरेका छौं: भागीरथ सापकोटा

भागीरथ सापकोटा, संयोजक, नेपाल उद्योग तथा व्यवसायी महासंघ नेकपा एमाले

सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागीरथ सापकोटा २०८१ वैशाख ७ देखि संगठनको नेतृत्वमा छन्। उनी अहिले उद्योगी–व्यवसायीका बिच ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ अन्तत्र्रिmया कार्यक्रम गरी सरकारी र निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहजीकरणको अग्रसरता लिइरहेका छन्। सापकोटासँग तेजेन्द्र काफ्लेले गरेको कुराकानीको संक्षेप:

नेपालमा रहेका उद्योगहरूको वर्तमान अवस्था के हो?

नेपालमा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा रहेका उद्योगहरूले आफूलाई ४० प्रतिशत हाराहारीमा सञ्चालन गर्दै गर्दा घाटामा व्यवसाय गरिरहेका छन्। यसको प्रत्यक्ष असर राज्यको आर्थिक कारोबार, वित्त तथा बैंकिङ क्षेत्रमा देखिएको हो।

उद्योग तथा व्यवसाय न्यून क्षमतामा सञ्चालन हुँदा रोजगारीमा त्यसको प्रत्यक्ष असर परेको छ। नेपालमा उद्योग व्यवसाय क्षेत्रमा परेको असरले रोजगारी सिर्जना नहुँदा दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो छ। कोभिडको असरले बैंकिङ क्षेत्रमा ब्याजदर ह्वात्तै बढ्यो। यसले पनि व्यवसायमा प्रत्यक्ष असर पुर्‍यायो। धेरै व्यवसाय बन्द भए। यसको असर अझै पनि छ।

देश विकासमा मेरुदण्ड मानिएका उद्योगहरू बलिया बन्न नसक्दा रोजगारी अभावमा युवाहरू पलायन हुने क्रम जारी छ, यसलाई कसरी रोक्न सकिन्छ? केही योजना छन्?

नेपालबाट युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न देशमै साना तथा मझौला उद्योगहरू सञ्चालनमा जोड दिइनुपर्छ। राज्यले नयाँ सुरुवात गरेको छ–स्टार्टअप उद्यमी कर्जा सुविधा। यसले पनि नेपालमै केही गर्न चाहने युवाहरूलाई नयाँ जोस बढाउन सक्छ, तर यसलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न आवश्यक छ।भविष्यमा पहुँचका आधारमा योजना वा कर्जा बाँडफाँट भएमा युवा पलायन हुने सम्भावना अझ बढेर जाने छ।

विदेशमा नेपालमा भन्दा बढी तलब सुविधा प्राप्त हुने, आवास, यातायात अनि अन्य धेरै कुरामा सहज हुने भएकाले पनि युवा नेपालमै बसेर जागिर खाने सोचमा छैनन्। अब तत्काल युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशहरूको जस्तो आर्थिक वद्धि गरेर सुविधासम्पन्न गराउने अवस्था नेपालको छैन। अब यसलाई विस्तारै घटाउन युवाहरूलाई उद्योग तथा व्यवसायमा समेट्दै जानु पर्दछ। अब राज्यले उद्योग व्यवसायसँग सम्बन्धित कानुन, नीति, ऐन, नियम, व्यवहार लगायतमा सुधार गर्नुपर्ने हुन्छ।

सरकारी तथा निजी साझेदारीमा रहेका रुग्ण उद्योगहरू सञ्चालनको कार्ययोजना बन्दै छ भनिन्छ, यसमा तपाईंको अवधारणा के हो?

नेपालमा सरकारी तथा निजी साझेदारी कार्ययोजना बनाई लागु गरिनुपर्छ भन्ने विगतदेखिकै विषय हो। तथापि यसलाई हामीले सक्रिय बनाउन सकेका छैनौं। नेपालमा सामुदायिक वन र खानेपानीमा सरकारी तथा निजी साझेदारीको अवधारणा लागु गर्ने प्रयास भएको छ। जहाँ सरोकारवालासँग प्रत्यक्ष सम्बन्ध तथा कार्यान्वयनको पाटो जोडिएको हुन्छ, जसले एउटा नुमना उदाहरणसमेत प्रस्तुत गरेको छ, जुन तपाईंहामी आफैंले देखेका छौं।

अहिले दक्षिण एसियाली मुलुकमै सामुदायिक वनको कार्यगत उदाहरणलाई प्रयोगमा ल्याउन खोजिएको पाइन्छ। नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो पहलमा उद्योग तथा व्यवसायलाई राज्य तथा निजी क्षेत्रमा देखिएका समस्याको समाधान तथा सुधार गर्दै आर्थिक विकासका लागि के गर्न सकिन्छ भन्ने विभिन्न कार्यक्रम तथा संवादको आयोजना गर्दै आएको छ, जसबाट आएका महत्वपूर्ण सल्लाह, सुझाव तथा प्रस्तावहरूलाई दस्ताबेजीकरण गरी राज्यको मुख्य निकाय सरकार तथा अन्य सम्बन्धित क्षेत्रसम्म पुर्‍याउन पहल गरेको छ।

तपाईंको पार्टी एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएका छन्, सम्भव देख्नुहुन्छ?

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नेपाल सरकारको नारालाई साकार बनाउन राज्य र निजी क्षेत्रको एकत्रित प्रयास आवश्यक छ। अब हामीले पूर्वाधार तथा उद्योगको पाटोलाई विकास गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ।

सर्वप्रथम आर्थिक अवस्था बलियो हुनुपर्छ, त्यसका लागि निजी क्षेत्र बलियो हुनुपर्‍यो। यसले रोजगारी सिर्जना गर्दछ अनि व्यक्तिको क्रयशक्तिमा वृद्धि हुन्छ तथा अर्कातर्फ व्यक्ति वा व्यवसायीको क्रयशक्ति बढे पनि राज्यलाई तिर्नुपर्ने कर तथा अन्य दायित्व तिर्ने वातावरण सिर्जना हुन्छ।

यी कुराले राज्य बलियो बनाउँछ अनि राज्यले आफूले खर्च गरेर राज्यमा सुधारका कार्य गर्न सक्छ। सबैभन्दा बढी पूर्वाधार सुधारका कार्यमा राज्यले ध्यान दिनुपर्दछ। पूर्वाधार विकास भएमा उद्योगधन्धा सञ्चालनमा सहजता आउँछ। यसले व्यापार तथा सेवा क्षेत्रमा विकास हुन्छ। सरकारले छिमेकी राष्ट्रहरू तथा अन्य राष्ट्रबाट आयात हुँदै आएको कच्चा पदार्थ न्यूनीकरण गर्नेतर्फ योजना बनाउन आवश्यक छ।

नेपाली उद्योगलाई प्रोत्साहन र विदेशी उद्यमीलाई आमन्त्रण गर्न सके नेपाललेफट्को मार्न सक्ने थियो, सम्भावना छ यसमा?

वैदेशिक लगानी भित्र्याउन सर्वप्रथम देशभित्रका उद्योगी–व्यवसायीहरूको मनोबल उच्च बनाउनु पर्छ। राज्यले उद्योग–व्यवसायप्रतिको दृष्टिकोण फराकिलो बनाएर लगानीको वातावरण सिर्जना गर्ने, व्यवसायीका पक्षमा उभिने र राम्रो कामको सही मूल्यांकन गर्ने हो भने पनि वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्र उत्साहित हुन्छन्।

आगामी दिनमा उद्योग–व्यवसाय वृद्धि गर्दै देशको आर्थिक उन्नतिमा लाग्न र सबै पक्ष एक भएर राम्रालाई पुरस्कृत तथा नराम्रालाई दण्ड–जरिवानाका आधारमा अगाडि बढ्न सक्नुपर्छ। नेपालका कृषि तथा खनिजजन्य उद्योग दक्षिण एसियामै सबैभन्दा राम्रो सम्भावना बोकेका उद्योग हुन्। सबै क्षेत्रको पहलमा यसलाई विस्तार गर्न सके अबको एक दशकमा नेपाललाई उत्कृष्ट आर्थिक विकास गर्ने देशका रूपमा प्रस्तुत गर्न सक्छौं।

प्रकाशित: २५ भाद्र २०८१ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App