१० वैशाख २०८२ बुधबार
image/svg+xml ४:४ पूर्वाह्न
कला/संस्कृति

चलचित्र उद्योगका लागि २०८१: व्यस्त दयाहाङ, चर्चित समीर

नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ। जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्‍यो । यसकारण विसं २०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष बन्नेछ ।

चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार यो वर्ष ६२ चलचित्र प्रदर्शन भएका छन्। यो वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ ।

यो वर्षको सुरुआतमा वैशाख १ गते प्रदर्शन भएको ‘डिग्री माइला’ ले ठिकठाक व्यापार गरिरहँदा वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ ले आक्रामक व्यापार गर्न सफल भयो  ।

यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । यी दुवै चलचित्र प्रदर्शन अगाडि सामान्य सोचिएका थिए । तर, प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ ‘रेकर्ड’ बनाउन सफल भए ।

‘छक्का पञ्जा ५’, ‘होस्टेल ३’, ‘अन्जिला’ ले लगानी सुरक्षित गर्दै मुनाफा आर्जन गर्न सफल भए । यसबाहेक विदेशी बजारसहित ‘घर ज्वाईं’, ‘गाउँ आएको बाटो’ र ‘लाज शरणम्’ चलचित्रले राम्रै कमाइ गरे।

नेपाली फिल्म जगतमा केही नयाँ अनुहारले चर्चा पाए भने केही पुरानै अनुहारले राज गरे। यो वर्ष केही अभिनेता तथा अभिनेत्रीलाई फिल्ममा काम गर्न भ्याइनभ्याइ भयो भने नयाँ आएका अनुहारले पनि नेपाली फिल्मी जगतमा राम्रै आशा जगाए। तीनै चर्चा बटुलेका अभिनेता तथा अभिनेत्रीहरूको चर्चा गरेका छौँ। 

अभिनेता दयाहाङ राई

यो वर्ष फिल्ममा सबैभन्दा व्यस्त थिए भने त्यो नाम हो अभिनेता दयाहाङ राई। उनलाई फिल्ममा भ्यानभ्याइ नै भएको थियो। २०८१ को नयाँ वर्षमै दयाहाङ राई अभिनीत फिल्म डिग्री माइला हलमा लाग्यो। रामबाबु गुरुङको लेखन र निर्देशनमा बनेको डिग्री माइलामा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन्। त्यसपछि उनी फिल्म ‘मनसरा’ मा पनि देखिए। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ मा दयाहाङ राईसँग मिरुना मगर देखिइन्। दयाहाङ राई फिल्म ‘गाउँ आएको बाटो’ मा देखिए। फिल्म ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको थियो। दयाहाङ राई फिल्म ‘घर ज्वाइँ’ पनि देखिए। यस फिल्ममा दयाहाङ राई र मिरुना मगर नै मुख्य भूमिकामा छन्। दयाहाङ राई फिल्म एन्जिलामा पनि देखिए । त्यहाँ उनी बुबाको भूमिकामा प्रस्तुत भएका छन्। 

अभिनेता विजय बराल 

फिल्म पूर्ण बहादुरको सारङ्गीपछि अभिनेता विजय बरालको चर्चा एकाएक बढ्यो। अन्य फिल्ममा सहायक भूमिकामा देखिने विजय यो फिल्ममा मुख्य भूमिकामा नै देखिएका छन्। यो चलचित्रमा उनी एकल बाबुको पात्र भूमिकामा देखिएका छन्। उनको अभिनयलाई दर्शकले मन पराए जसले गर्दा फिल्म बक्स अफिसमा हिट भयो। त्यसो त बराल यसअघि नै चर्चित नभएका भने होइनन्। ‘कबड्डी’ र त्यसपछिको ‘कबड्डी’ शृङ्खलाबाट उनी नेपाली सिने जगतको चिरपरिचित अनुहार भइसकेका थिए। तर फिल्म पूर्ण बहादुरको सारङ्गीले भने उनलाई थप उचाईंमा पुर्‍यायो। 

अभिनेता विपीन कार्की

अभिनेता विपिन कार्कीलाई नेपाली सिने क्षेत्रमा भर्साटाइल एक्टरको रूपमा चिनिन्छ। अभिनयको दुनियामा छुट्टै स्थान बनाउन सफल विपिन रङ्गमञ्चबाट फिल्ममा प्रवेश गर्ने कलाकार हुन्। फिल्ममा एकपछि अर्को गर्दै फरक फरक भूमिकामा देखिने उनको आगामी फिल्म कस्तो होला भनेर दर्शक जहिले पनि प्रतिक्षारत हुन्छन्। उनै विपिन अभिनीत फिल्म तेल भिसा यो वर्ष प्रदर्शनमा आयो। विदेशिएका नेपालीको परिवारले नेपालमा परिवारसँगको बियोग र त्यसको छटपटिमा समय बिताएको कथा बोकेको फिल्ममा अभिनेता कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । कार्कीकै अर्को फिल्म कर्मा अहिले हलमा लागिरहेको छ। 

अभिनेता प्रदिप खड्का

अभिनेता प्रदीप खड्काले कैयन चलचित्रमा ‘लभर ब्वाय’ र ‘रोमान्टिक हिरो’को छवि बनाए। तर फिल्म प्रकाशबाट भने उनले आफ्नो चलचित्रमा ‘लभर ब्वाय’ र ‘रोमान्टिक हिरो’ को छविलाई बदले। फिल्म प्रकाशबाट अभिनयको छवि बदलेका प्रदिपले चलचित्र ‘पुजार सार्की’ बाट भने अभिनयमा आफूलाई अझै प्रमाणित गरे। ‘पुजार सार्की’ चलचित्रमा उनको साबिक भूमिका छैन, उनी विशेष मुद्दा बोकेको यो चलचित्रमा ‘मैतबहादुर’ बनेका छन्। ‘मैतबहादुर’ समाजको त्यो पात्र हो जसले अन्तरजातीय प्रेम गरेको छ। उसले आफ्नो प्रेम प्राप्तिको लागि जे पनि गर्न तयार छ। खड्काको यही वर्ष प्रदर्शनमा आएको फिल्म हो एक्टर टेक वान। उनले यहाँ दिव्या राइमाझिसँग स्क्रिन सेयर गरेका छन्। अहिले उनको अर्को फिल्म पिताम्बर हलमा चलिरहेको छ। 

अभिनेता समीर भट्ट

नेपाली सिने जगतमा आशलाग्दो रुपमा उदाएका अभिनेता हुन समीर भट्ट। उनको पहिलो फिल्म ‘१२ गाउँ’ ले नै उनलाई चर्चित बनायो। अभिनेता विराज भट्टको छोरा समेत रहेको समिरको एक्सनलाई दर्शकले खुबै मन पराएका थिए। ‘१२ गाउँ’ बाट विराजले छोरा समीरले अभिनेताको रुपमा डेब्यु गराएका थिए। फिल्मको ट्रेलर रिलीजपछि नै समिर यो फिल्मबाट ‘स्टार’को रुपमा उदाउन सक्ने कतिपयको विश्लेषण थियो। सामाजिक यथार्थलाई एक्सन जनरामा देखाइएको यो फिल्मले बक्स अफिसमा राम्रै कमाइ गर्‍यो।  फिल्म ‘छक्का पञ्जा ५’, र ‘ज्वाइँ साब’ सँग प्रतिस्पर्धा गरेको फिल्म  ‘१२ गाउँ’ लाई दर्शकले राम्रै साथ दिए। 

अभिनेत्रीहरु 

अभिनेत्री केकी अधिकारी 

अभिनेत्री केकी अधिकारीको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्म ’बोक्सीको घर’ ले बक्स अफिसमा धमाका नै मच्चायो। केकी अधिकारी नेपाली चलचित्रमा कुनै नयाँ नाम होइन । तर, होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’ मार्फत उनले आफूलाई ‘रि–ब्रान्डिङ’ गर्न सफल भएकी छन् । नेपाली फिल्म जगतमा फिल्म चल्नलाई एउटा स्टार हिरो चाहिन्छ भन्ने भाष्य छ। तर केकीले त्यो भाष्यलाई ताडिन्। मुख्य भूमिकामा आफै देखिएकी केकीको फिल्म ’बोक्सीको घर’ हेर्न दर्शकहरू उर्लिए। हिरोबिना एउटा नायिकाको स्टारडमले पनि चलचित्र हिट हुनसक्छ भन्ने मानसिकता केकीले स्थापित गरिन् । प्रदर्शन हुनुअघि धेरैले सोचेका थिएनन्  फिल्म ’बोक्सीको घर’ ले यति चर्चा पाउला। तर चलचित्रले बक्स अफिसमा अनपेक्षित कमाइ गर्‍यो। 

अभिनेत्री मिरूना मगर

अभिनेत्री मिरूना मगरलाई अभिनेता दयाहाङ राई फापे भन्दा फरक नपर्ला। दर्शकहरूले मगर र राईको जोडीलाई खुबै मन पराए। दयाहाङ राई र मिरूना मगर ’कबड्डी ४’ मा पहिलो पटक जोडीका रूपमा देखिएका थिए। यो फिल्ममा उनीहरूको जोडी निकै रुचाइएको थियो। त्यसपछि मगर र राईको जोडी फिल्म जारीमा देखियो। फिल्म जारी बक्स अफिसमा ब्लकबस्टर बन्यो भने मिरुना र राईको जोडी पनि हिट बन्यो। त्यसपछि यो जोडीले फिल्म ’नांगो गाउँ’ गरेको थियो। यो वर्ष भने मिरुनाको दुई वटा फिल्म हलमा लागे, ‘मनसरा’ र ‘घर ज्वाईँ’। यी फिल्ममा पनि मिरुनाको जोडी दयाहाङ राई। ’कबड्डी ४’ बाट दयाहाङको जोडी बनेकी मिरुना त्यसपछि भने पछाडि फर्केर हेर्न परेको छैन। उनी लगातार नै हिट फिल्म दिइरहेकी छिन्। 

अभिनेत्री स्वस्तिमा खड्का

फिल्म ‘होस्टेल रिर्टन्स’बाट सहायक चरित्रमा उदाएकी अभिनेत्री हुन्, स्वस्तिमा खड्का । यो फिल्म बक्सअफिसमा राम्रै चल्यो। एउटा फिल्म खेल्ने बित्तिकै विवाह गरेकी स्वस्तिमाले विवाह पछि पनि फिल्म क्षेत्रमा करिअरलाई अगाडि बढाउन सकिन्छ भन्ने साबित गरिन्। विवाह पछि अभिनेत्रीहरूको करिअर सकियो भने भाष्यलाई स्वस्तिमाले चालेन्ज नै दिइन्। विवाह पछि झन उनको करिअर चम्कियो। फिल्ममा फरक फरक क्यारेक्टरमा देखिने स्वस्तिमालाई अहिलेसम्म पछाडि फर्किएर हेर्न परेको छैन। उनले निरन्तर आफ्नो  स्टारडमलाई बचाइराखेकी छिन्। अभिनेत्रीसँगै स्वस्तिमा यो वर्ष फिल्म निर्मात्री समेत बनेकी छिन्। उनले  निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ यही वर्ष प्रदर्शन भएको छ। फिल्ममा स्वस्तिमाको नै शीर्ष अभिनय रहेको छ। 

अभिनेत्री अन्जना बराइली

मोडल हुँदै फिल्ममा आएकी अन्जना बराइलीको डेब्यु फिल्म ‘महापुरुष’ हो। उनले लगातार काम गरेको तीन वटा चलचित्र नै बक्स अफिसमा सुप्परडुप्पर बने। बराइली लगातार तीनवटा सुपर हिट सिनेमा दिएर चर्चामा छिन् । पछिल्लो समय चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गरेको अभिनयले त अहिले उनी झनै सर्वत्र चर्चामा छिन् । यो सिनेमामा अन्जना मुख्य भूमिकामा छिन् । बाटुलीको पात्रमा रहेकी अन्जना बराइलीको फरक चरित्र देखिन्छ यसमा। आरनमा श्रम गरेर खाने विश्वकर्मा परिवारबाट गीत गाउँदै अर्काले गरेको सहयोगको भरमा गुजारा चलाउने गन्धर्व परिवारको सदस्य बन्दा उनको सोचमा आएको परिवर्तन चरित्रमा देखिन्छ। फिल्म प्रकाशबाट नै अभिनयको चर्चा पाएकी बराइलीलाई फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले झन नयाँ उचाइमा पुर्‍यायो। 

अभिनेत्री दिव्या राइमाझी

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अमेरिकाबाट नेपाल आएसँगै दुइटा फिल्ममा अभिनय गरिसकेकी छिन्। अमेरिकामा पढेर उतै जागिर गरिरहेकी उनी अभिनेत्री बन्नकै लागि जागिर छाडेर गत चैतमा मात्रै नेपाल आएकी हुन्। फिल्म खेल्नुअघि नै सिने जगतमा दिव्याको चर्चा उतिकै थियो कारण उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन्।  फिल्म ‘एक्टर’ बाट दीलिप रायमाझीकी छोरी दिव्याले डेव्यु गर्दै भन्ने समाचारहरूले नै उनलाई एक खालको चर्चा दिलायो। त्यसैमा उनलाई चुनौती पनि थियो आफूलाई प्रमाणित गर्ने। उनै दिव्यालाई दर्शकहरूले राम्रै साथ दिए। प्रदिप र दिव्याको जोडीलाई दर्शकहरूले मन पराए। उनको अहिले अर्को चलचित्र पिताम्बर हलमा लागिरहेको छ। 

प्रकाशित: १ वैशाख २०८२ १७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App