इटहरीमा सोमबारदेखि मंगल राधिका सदानन्द प्रणामी अस्पतालबाट सेवा सुरु भएको छ । प्रणामीका गुरु डाक्टर सदानन्द महाराजले अस्पतालको उद्घाटन गरे ।
इटहरीमा सुविधासम्पन्न ‘क’ वर्गको अस्पतालको अभाव रहेकोमा १० करोड लगानीमा १५ बेडको अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनकै लागि एक महिनादेखि निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको थियो । स्वास्थ्य शिविरमा तीन हजार बढीले सेवा लिएका छन् ।
श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीको ४६ औं वार्षिकोत्सवको अवसर पारेर अस्पताल उद्घाटनसँगै श्री १०८ पाठ परायण अन्तर्राष्ट्रिय महोत्सव पनि सम्पन्न गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बताए । महोत्सवमा सामूहिक व्रतवन्ध, गुन्यूचोली र रक्तदान कार्यक्रम गरिएको उनले बताए । अस्पतालमा दक्ष चिकित्सक तथा प्राविधिक स्वास्थ्यकर्मीहरूसहित अत्याधुनिक प्रविधियुक्त ल्याब, भिडियो एक्स–रे र फार्मेसी सेवा रहेको छ ।
मंगल राधिका सदानन्द अस्पताल अहिले शुरुवाती चरणमा १५ बेडको रहेतापनि यसलाई भविष्यमा क्रमशः बढाएर लैजाने योजना अनुसार सोमबार नै ५०० सय बेड अस्पतालको भवन निर्माणका लागि शिलान्यास पनि गरियो ।
अस्पताल निर्माणका लागि सदानन्द महाराजले तीन अरब बढी रकम जुटाउने उद्घोष पनि गरे । सो क्रममा संघीय सांसद कल्पना चौधरीले ५०० सय बेड अस्पताल भवन निर्माणका लागि सांसद कोषबाट पाँच करोड रकम उपलब्ध गराउने घोषणा गरिन् ।
हिन्दु धर्म गुरू, साधु सन्त, इटहरीका राजनीतिक दलका प्रतिनिधि, भारतको विभिन्न राज्यबाट भक्तजन तथा धार्मिक गुरूहरूको उपस्थिती रहेको थियो ।
सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका बासीन्दालाई विशेष उपचारका लागि धरान, विराटनगर वा भारतको सिलिगुडीका अस्पताल धाउनुपर्ने बाध्यता छ ।
त्यसो त यसअघघि इटहरीमा ठूला लगानीमा केही स्वास्थ्य–संस्था स्थापना नभएका भने होइनन् । ठूलै लगानीमा खुलेका टिआर हस्पिटल, सिटी हस्पिटल, मेडिस्कट हस्पिटल र पूर्वाञ्चल हस्पिटललगायत स्वास्थ्य–संस्थाहरू बन्द भए । ती संस्थाहरू स्थायी विशेषज्ञ चिकित्सक, विशेष उपकरणको अभाव तथा सेवाग्राहीमा विश्वासको भावना जगाउन नसेकाले बन्द भएको पाइन्छ ।
सरकारी स्तरबाट इटहरी अस्पताललाई व्यवस्थित गरि सेवा थप गर्ने क्रम भने चलिरहेको छ ।
प्रकाशित: १ वैशाख २०८२ १९:०९ सोमबार