यहाँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक कौरा नृत्यमा छमछमी नाचेका छन्।
बन्दीपुरमा जारी १३औँ सांस्कृतिक तथा सडक खाना महोत्सवका अवसरमा आज विदेशी पर्यटक कौरा नाचेका हुन्।
मगर समुदायको प्रख्यात उक्त नाच महोत्सवमा प्रस्तुत गरिएको थियो। मगर समुदायका युवायुवतीसँगै विदेशी पर्यटकले उक्त नाचमा सहभागिता जनाएका थिए।
नेपाली समुदायको कला, संस्कृति र रितीरिवाज देखेर विदेशी पर्यटक मोहित भएको बन्दीपुर भ्रमण वर्ष २०२५ का सचिवालय संयोजक वैशबहादुर गुरुङले जानकारी दिए।
उनले भने, “महोत्सवमा विभिन्न जातजातिका कला, संस्कृति, नृत्य प्रवर्द्धन गरेका छौँ। बन्दीपुरभित्रका मगर, गुरुङ, नेवार जातजातिका नाचलाई समावेश गरेका छौँ।”
बन्दीपुर भ्रमण वर्ष भर विविध कार्यक्रम गरिने गुरुङको भनाइ छ। महोत्सवमा विभिन्न रैथाने समुदायले बनाउने परिकारको स्वाद लिन पाइने जनाइएको छ।
महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिए।
आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको उत्तिकै भीड हुन्छ। यहाँ विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी छ। नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन्।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने विदेशी पर्यटक यहाँको संस्कृति देखेर मोहित हुने गरेको बताए। उनले भने, “यहाँको संस्कृति देखेर विदेशीहरु रमाउँछन्। अन्य बेलामा यहाँको कला संस्कृतिबारे विदेशीलाई जानकारी गराउने गरेका छौँ।”
प्रकाशित: १ वैशाख २०८२ २१:०४ सोमबार