२७ पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हनिमुन गएका श्रीमानको हत्या आरोपमा श्रीमतीसहित चार जना पक्राउ

भारत, इन्दौरका बेपत्ता दम्पती प्रकरणमा अनुसन्धान जारी छ। मेघालय प्रहरीले राजा रघुवंशीकी श्रीमती सोनम रघुवंशीले उत्तर प्रदेशको गाजीपुरमा आत्मसमर्पण गरेको जानकारी दिएको छ। साथै, थप तीन संदिग्धलाई पक्राउ गरिएको छ। 

सोनमका बुबा देवी सिंहले मेघालय प्रहरीले कथा सिर्जना गरेको आरोप लगाएका छन्। आफ्नी छोरी निर्दोष भएको दाबी उनको छ। मेघालयका मुख्यमन्त्री कोनराड संगमाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मध्य प्रदेशका तीन आक्रमणकारी पक्राउ परेका छन्, एक महिलाले आत्मसमर्पण गरेकी छन्, र अर्को आक्रमणकारीको खोजी जारी छ।’  

मेघालय प्रहरीका महानिर्देशक इदाशिशा नोंगराङले भने, ‘सोनमलाई गाजीपुरको नन्दगञ्ज प्रहरी चौकीमा आत्मसमर्पण गरेको अवस्थामा पक्राउ गरिएको हो।’ रातभरको छापामारीमा एक जनालाई उत्तर प्रदेश र दुई जनालाई इन्दौरबाट पक्राउ गरिएको छ। इन्दौर प्रहरीले सोनमलाई गाजीपुरको एक ढाबाबाट पक्राउ गरेको जनाएको छ।  

बाबु देवी सिंहले भने, ‘विवाह दुवै परिवारको सहमतिमा भएको थियो। मेघालय सरकारले पहिलो दिनदेखि झूट बोलिरहेको छ। मेरी छोरीले ढाबाबाट फोन गरेर प्रहरीलाई बोलाएकी थिइन्। म अमित शाह जीलाई सीबीआई अनुसन्धानको अपिल गर्छु।’  

इन्दौरका २९ वर्षीय राजा र २७ वर्षीया सोनम हनिमुनका लागि मेघालय गएका थिए। २३ मेमा बेपत्ता भएका उनीहरूको खोजीमा प्रहरीले स्थानीय र पर्यटक गाइडहरूसँग सोधपुछ गरेको थियो। ११ दिनपछि राजाको शव २ जुनमा पूर्वी खासी हिल्सको वेइसाडोङ फल्स नजिकै १५० फिट गहिरो खोंचमा फेला पर्‍यो।  

पूर्वी खासी हिल्सका प्रहरी उपरीक्षक विवेक सायमले भने, ‘यो हत्या हो, हामीले अपराधमा प्रयोग भएको ‘दाओ’ बरामद गरेका छौं। पोस्टमार्टम रिपोर्टको पर्खाइमा छौं।’ प्रहरीले हत्याको मुद्दा दर्ता गरेको र राजाको स्कुटरको जीपीएसले माव्कमा गाउँमा रोकेको देखाएको जनाएको छ। राजाको परिवारले प्रहरीको लापरवाही र सामान हराएको आरोप लगाएका छन्। राजाका भाइ सचिन र सोनमका बुबाले सीबीआई जाँचको माग गरेका छन्। एजेन्सी

प्रकाशित: २६ जेष्ठ २०८२ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App