इजिप्टले गाजामा युद्ध विरामका लागि इजरायलसमक्ष प्रस्ताव गरेको छ। इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजामा दुई दिनका लागि युद्ध विराम गर्न इजरायलसमक्ष प्रस्ताव गरेका हुन्। उनले युद्ध विराम अवधिमा ४ जना इजरायली बन्धकलाई रिहा गर्नुका साथै केही प्यालेस्टिनी नागरिकलाई रिहा गरिने बताए।
टाइम्स अफ इजरायलका अनुसार उक्त प्रस्तावमा बन्धकको रिहाई पछि १० दिनसम्म कुराकानी गरिने पनि उल्लेख छ।
गत साता इजिप्टले इजरायलसमक्ष उक्त प्रस्ताव पठाएकोमा इजरायलले राम्रो सर्तका साथ वार्ताका लागि तयार रहेको भन्दै फिर्ता पठाइदिएको थियो। अब हमासले पनि युद्धविरामका लागि इच्छा व्यक्त गरेको छ।
हमासले तत्काल गाजामा युद्ध अन्त्य, गाजाबाट इजरायली सेना फिर्ता र सबै इजरायली बन्धकको सट्टा केही निश्चित संख्यामा प्यालेस्टिनी नागरिकको रिहाईका लागि वार्ता गर्न तयार रहेको बताएको छ।
इजरायलका अनुसार गत अक्टोबर ७ मा हमासले २५१ जनालाई बन्धक बनाएकोमा अझै ९७ जना हमासको कब्जामा रहेको छ। जसमा ३४ जनाको शव फेला परेको छ।
प्रकाशित: १२ कार्तिक २०८१ १३:२४ सोमबार