१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसन कक्ष अभाव

महोत्तरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेसँगै उनीहरूलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कुल ५० संक्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि थपिएपछि हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ ।

कोरोनाबाट संक्रमितको संख्या २३ र आरडीटीबाट ३७ जना गरी ६० पुगेको छ । पिसिआरका १९ जना र आरडिटी नौ जना गरी २८ बिरामी उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पतालमा भर्ना भएका छन् । अन्यको उपचार जनकपुर कोरोना अस्पतालमा भइरहेको छ ।      

भवनमा आइसोलेसन कक्ष र भेन्टिलेटरसहितका कक्ष निर्माण कार्य जारी रहेको छ । कोरोना संक्रमण पुष्टि भइसकेकालाई क्वारेन्टिनस्थलमै राखिँदा त्यहाँ रहेका अन्य व्यक्तिमा समेत संक्रमण फैलिन सक्ने खतरा बढेको छ । संक्रमणको त्रास बढेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि अस्पतालमा आइसोलेसन कक्ष निर्माणमा तदारुकता नदेखाइएका कारण अहिले आएर संक्रमितलाई राख्ने स्थानको अभाव भएको हो ।      

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि जिल्लाको मौजुदा क्षमताले उपचार प्रक्रिया थाम्न नसक्ने देखिएको छ । पिपिई, कीट, भिटिएम, आइसोलेसन शय्या, पिसिआर उपकरण र भेन्टिलेटर सामग्री पर्याप्त छैन नै स्वास्थ्यकर्मी जनशक्ति पनि अपुग छ ।      

जथाभावी खर्च दुरुपयोग बढ्यो      

क्वारेन्टिनमा बस्नेको संख्या बढेपछि महोत्तरीका स्थानीय तहहरुले क्वारेन्टिनका नाममा मापदण्डबिना नै जथाभावी खर्च गरिरहेका छन् । पछि बिल भर्पाइअनुसार भुक्तानी गर्ने गरी खर्च भएकाले दुरुपयोगको सम्भावना बढेको हो । क्वारेन्टिनमा मानिसको संख्या बढेकाले नगरप्रमुख तथा वडाध्यक्षले पछि बिल भर्पाइ पेस गर्ने नाममा अहिले जथाभावी खर्च गरिरहेका छन् ।      

स्थानीय तहले जथाभावी खर्च देखाए पनि बजेट सक्न आधारभूत पूर्वाधारबिनै क्वारेन्टिन निर्माण गरेको, क्वारेन्टिनमा चिसो भुइँमा त्रिपालमाथि फम र तन्ना ओच्छ्याएर सुताउने गरिएको, खानाको प्रबन्ध राम्रोसँग नगरिएको पाइएको छ । पङ्खा, झुल, शौचालय र बिजुलीको अभावले समेत व्यवस्थापन भद्रगोल छ ।      

क्वारेन्टिनको खाना गुणस्तरहीन भएको गुनासो धेरै आएपछि क्वारेन्टिनमा बसेकाले घरका परिवारले ल्याइदिएको खाना खाने गरेका छन् । महामारीका बेला भैपरी आउने कामका लागि खर्च गरिनु स्वाभाविक भए पनि त्यही नाममा रकम दुरुपयोग हुने सम्भावना पनि बढेको छ ।   

प्रकाशित: १९ जेष्ठ २०७७ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App