२१ चैत्र २०८१ बिहीबार
image/svg+xml २२:१९ अपराह्न
स्वास्थ्य

प्रोटिन कमीका कारण मोटा, पुड्का नेपाली

सन्दर्भ: विश्व प्रोटिन दिवस

प्रोटिन मानव शरीरका लागि अत्यावश्यक पोषण तत्त्व हो। प्रोटिनको मात्रा मिलाएर खाए मात्र शरीर स्वस्थ र फुर्तिलो बन्छ अन्यथा विभिन्न रोगको सामना गर्नुपर्ने स्थिति निम्तिन्छ। धेरै नेपालीमा प्रोटिनको मात्रा कम हुने गरेको विज्ञहरूले औंल्याएका छन्। विश्व प्रोटिन दिवसका अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पोषणविद्हरूले नेपालका मध्यम वर्ग र मध्यम उमेर समूहका मानिसमा प्रोटिनको कमी भएको बताए।

कार्यक्रममा चिरायु अस्पतालकी पोषणविद् रश्मि बजिमयले नेपालमा प्रोटिनको मात्रा नपुगेका कारण सार्कोजेनिक ओबिसिटी (मोटोपना र शरीरको बिच भागमा बोसो जम्मा हुने समस्या) बढेको बताइन्। ‘अधबैंसे मानिसहरूमा यो समस्या बढी देखिन्छ,’ उनले भनिन्।

उनका अनुसार यस्तो समस्या भएका मानिसमा पछि गएर मधुमेह, उच्च रक्तचाप र शरीरको चाल कम हुने अस्टियो पोरोसिसजस्ता दीर्घरोगहरू देखा पर्छन् नै, हड्डी खिइने, नसा च्यापिनेजस्ता समस्याहरू पनि निम्तिन्छन्। प्रोटिनको मात्रा शरीरमा बढी भएको अवस्थामा पनि मिर्गौलाको समस्या हुने र पहिल्यै उच्च रक्तचाप भएका बिरामीका हकमा पछि गएर मिर्गौला नै काम नलाग्ने अवस्थासमेत आउने समस्या हुन्छ।

बजिमयका अनुसार नेपालमा मध्यम वर्गका मानिसमा प्रोटिनको कमी हुने समस्या बढी देखिएको हो। यस्तो देखिनुको मुख्य कारण यो वर्गले प्रोटिनयुक्त खानपानमा ध्यान नदिनु हो । नेपालको दैनिक भोजनमा कार्बोहाइड्रेट बढी समावेश हुने भएकाले पनि मध्यम वर्ग र मध्यम उमेर समूहमा मोटोपना बढी देखिएको उनको भनाइ छ।

पोषणविद् नानीशोभा शाक्य भने नेपालमा शाकाहारी बन्ने र परम्परागत रूपमा मासु कम खाने वा खाँदै नखाने चलन भएका कारण जुनसुकै वर्गका मानिसमा प्रोटिनको कमी देखिने गरेको बताउँछिन्।

कुपोषण भएर पुड्कोपनाको सिकार भएका बालबालिका र अन्य केही कमजोरी भएर उपचारका लागि ढिलो अस्पताल आइपुग्ने गरेको उनी बताउँछिन्। यसरी उपचारका लागि आइपुग्नेमा उच्च वर्गका मानिससमेत भेटिन्छन्। उनीहरूमा प्रोटिनको मात्रा मिलाएर खाने जनचेतना नभएकाले त्यस्तो समस्या हुने गरेको पोषणविद् शाक्य बताउँछिन्। समग्रमा मांसहारी र शाकाहारी दुवैखाले मानिस कतिपयमा खानेकुरा अभाव र कतै चेतनाको कमीले प्रोटिन कमी भएको समस्या देखिन्छ।

विज्ञका अनुसार प्रोटिनले मानिसको मानसिक विकासदेखि लिएर मांसपेशीको विकासमा समेत मद्दत गर्छ। पोषण मापदण्डअनुसार मानिसको तौलअनुसार प्रोटिनको मात्रा कम या बढी प्रयोग गर्नुपर्छ। एक केजी तौल बराबर ०.८३ प्रोटिन चाहिन्छ। यो हिसाबले ५० केजी तौल भएको मानिसका लागि ४१ ग्राम प्रोटिन आवश्यक पर्छ। तर नेपालमा यो मापदण्ड लागु हुन सकेको छैन।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित राष्ट्रहरूमा प्रतिवर्ष एक व्यक्तिले ४२ केजी प्रोटिन खपत गर्छन् भने नेपालीले २१ केजी मात्र मासु खपत गर्छन्। त्यसैगरी विकसित राष्ट्रहरूमा मानिसहरूले प्रतिवर्ष चार सय वटा अन्डा खान्छन् भने नेपालीले ७० वटा मात्र खान्छन्। यो हिसाबले अण्डा कम खपत गर्ने देशमा नेपाल ९२औं स्थानमा पर्छ।

नेपालमा पछिल्लो समय प्रोटिनको पर्याप्त स्रोत भएका खानेकुरा अण्डा, कुखुराको मासु र दुधको उत्पादनमा आत्मनिर्भर भइसकेको युसेकमा नेपाल नेतृत्व गरिरहेका डा. अशेष भट्टराईले बताए। केही वर्गमा प्रोटिन प्रयोग गर्न आर्थिक सामर्थ्य नभएको र केही वर्गमा सही प्रयोगको ज्ञानको कमीले प्रोटिन बढी वा कम हुने समस्या नेपालीले झेलिरहेको उनले जानकारी दिए। पोषणविद्हरूका अनुसार अन्डा, माछा, मासुमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ। तर शाकाहारी खानामा तुलनात्मक रूपमा यसको मात्रा कम हुन्छ। यही कारणले शाकाकारीहरूमा प्रोटिन कमी हुने समस्या पनि बढी देखिन्छ।

वनस्पतिजन्य खानामा पर्याप्त प्रोटिन नहुने हुँदा सबै गेडागुडी र त्यसका बिउ, दुध, दही, पनिर, टोफुजस्ता खाद्यान्नको प्रयोग गर्न सकिन्छ। यसमा पनि नेपालीले परम्परागत रूपमा प्रयोग गर्दै आएको क्वाँटी नियमित भोजनमा समावेश गर्दा प्रोटिनको मात्रा पुग्ने उनीहरूको भनाइ छ। ‘क्वाँटी अलिअलि उमारेर खाँदा प्रोटिनको मात्रा पर्याप्त भेटिन्छ,’ डा. भट्टराईले भने।

शरीरमा प्रोटिनको कमीले देखिएका विभिन्न नसर्ने दीर्घरोगमा कमी ल्याउन अन्तर्राष्ट्रिय स्तरमा धेरै वर्षदेखि नै विश्व प्रोटिन दिवस मनाउन थालिएको हो।

यो वर्ष नेपालले पहिलो पटक विश्व प्रोटिन दिवस मनाइएको हो। सो अवसरमा प्रोटिनजन्य खाद्यान्न उत्पादन गर्ने निकायहरू, पशुपन्छी व्यवसायी र खाद्य तथा गुण नियन्त्रण विभागहरूको उपस्थितिमा सुरक्षित प्रोटिन उत्पादनका क्षेत्रमा नेपाल आत्मनिर्भर बन्दै गएको र यो उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै गएको उनीहरूले जानकारी दिए। उनीहरूले खाद्य तथा गुण नियन्त्रण विभागले मासुजन्य उत्पादनमा अनुगमन गरेर यस्तो उत्पादन थप सुरक्षित बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले प्रोटिनको कमी पूरा गर्न सबै निकायको सहकार्यबाट मात्र सम्भव हुने बताए। यसका लागि आवश्यक सुझाव दिन सरोकारवालालाई उनले अनुरोध गरे। सोही क्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले राम्रो शारीरिक र सही मानसिक विकासका लागि प्रोटिनको भूमिका उल्लेखनीय रहेको बताए।

प्रकाशित: १६ फाल्गुन २०८१ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App