१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

जुम्लामा पुग्यो पाठ्यपुस्तक

हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ। यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यसपटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो।

सदरमुकाम खलङ्गा बजारमा रहेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि नै पाठ्यपुस्तक जिल्लामा पुगिसकेको जानकारी दिए।

उनले भने, “जिल्लाका स्थानीय तहमा रहेका केही विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लगिसकेका छन्। अहिलेसम्म पातारासी गाउँपालिकाका चार, गुठीचौरका दुई र तिलाका चारवटा विद्यालयले पाठ्यपुस्तक लगिसकेका छन्।’

अरू स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका रोकायाको भनाइ छ। उनका अनुसार यही चैत ११ गते कक्षा १ देखि १० सम्मका एकएक हजार थान पुस्तक आइसकेका छन्।

सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो। विद्यालय सञ्चालन हुनुअघि प्रत्येक विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुग्ने भएको सध्या स्टेसनरीका सञ्चालक सुनम खड्काले बताए। उनका अनुसार शनिबार पाँचपाँच सय थान पाठ्यपुस्तक आइसकेका छन्।

सूचीकृत भएका स्टेसनरीबाट पाठ्ययुस्तक विद्यालयले खरिद गरेर लैजाने गरेको सिञ्जा गाउँपालिका शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताए। उनका अनुसार पाठ्यपुस्तक खरिद गरेर तिलाका सबै विद्यालयमा समयमै पुर्‍याउन परिपत्र गरिएको छ।

प्रकाशित: २४ चैत्र २०८० १३:३७ शनिबार

जुम्लामा पुग्यो पाठ्यपुस्तक नयाँ शैक्षिक सत्र