२३ चैत्र २०८१ शनिबार
image/svg+xml ७:५१ पूर्वाह्न
सम्पादकीय

गाउँको चासो र चिन्ता

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले हालै प्रकाशन गरेको प्रतिवेदनले नेपालमा कृषि क्षेत्र निरन्तर घट्दो र वन तथा बुट्यान क्षेत्र रहेको तथ्यांक प्रस्तुत गरेको छ। प्रतिवेदनअनुसार देशमा अहिले कृषि क्षेत्र २२.५९ प्रतिशत र वन तथा बुट्यान क्षेत्र ४६.०८ प्रतिशत पुगेको छ। प्रतिवेदनका अनुसार सन् २०२२ पछिको दुई वर्षमा मात्रै कृषि क्षेत्र १.७५ प्रतिशतले घटेको छ। कृषि तथा खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिले हरेक वर्ष कृषि क्षेत्र घट्दै गएको र वन तथा बुट्यान क्षेत्र बढेको बुझ्न गाह्रो छैन। थप, कृषि क्षेत्रमै आवास तथा पूर्वाधार निमार्ण हुने क्रम बढेका कारण पनि कृषियोग्य जमिनमा उल्लेख्य परिवर्तन आएको हो।

कृषि क्षेत्र घट्नु र वन क्षेत्र बढ्नुले एउटा अर्को यथार्थ पनि सामुन्ने ल्याएको छ, त्यो हो गाउँबाट सहरतर्फको बसाइसराइको लस्कर। एउटा भाष्य गाउँ रित्तियो भन्ने भने अर्को गाउँलाई जसरी भए पनि बचाई राख्नुपर्छ भन्ने छ। सहरियालाई लागेको छ, गाउँ संकटमा छ, यसको अस्तित्व जसरी भए पनि जोगाउनुपर्छ। अनि, गाउँलेलाई लागेको छ, गाउँमा थोरै मात्र बाँकी गाउँ बचाउने हो भने जसरी हुन्छ सहर त जानैपर्छ। खासमा हाम्रा लागि गाउँ के हो ? आफू जन्मे, हुर्केबढेको ठाउँ र त्योसँगै जोडिएका स्मृतिरमण, जरासँग सदैव जोडिइरहने अभिप्राय वा त्योभन्दा बढी? यस्ता जिज्ञासामा घोत्लिँदा महसुस हुने रहेछ, गाउँ त हाम्रो आदर्श स्थल रहेछ, जो हाम्रो नैतिकताको ठूलो भार बोकेर बाँचिहिँड्दो रहेछ। भाइचारा, सहजीवन, साहचर्य, समभाव र समग्रमा हाम्रो जीवनशैलीको आधारबिन्दु नै गाउँ रहेछ। कोभिड महामारी पछिल्लो समयको यस्तै ‘केस स्टडी’ बन्यो जहाँ गाउँ मानिसको अन्तिम आश्रयस्थल बन्यो।

तर, भोग्नेहरूलाई यो पनि थाहा छ कि वर्गीय, जातीय, लैंगिकलगायत अनेक विविधताले भरिएको गाउँ सुन्दर मात्र छैन। विभेदको जग मात्र होइन जड पनि गाउँमै घर गरिबसेको छ। यिनै विभेदबाट मुक्तिको सपना देखाउँदै मुलुकमा पटकपटक आन्दोलन नभएका होइनन्। पछिल्लोपटक माओवादीले पनि यस्तै मुद्दालाई नै वैचारिक हतियार बनाएर १० वर्षे ‘जनयुद्ध’ नै गर्‍यो। तर यसबाट गाउँले लाभभन्दा धेरै बढी हानि बेहोर्‍यो।

यता नवउदारवादीहरू, अभिजात वर्ग र सहरका मध्यमवर्गीयहरूका लागि देशको अपविकासको कारण नै गाउँ हो। गाउँको श्वासप्रश्वास कृषिकर्मलाई उनीहरू जसरी हुन्छ आधुनिक बनाउन चाहन्छन्। भौतिक विकासका खातिर प्रकृति र प्राकृतिक सम्पदाको दोहन चुलिएको छ। यो भनेको अन्ततः गाउँको अन्त्य र सहरको स्थापना हो, गाउँ नै गाउँको देशबाट सहरै सहरको देश बनाउने प्रपञ्च हो। तर, फेरि उनीहरू नै गाउँको वकालत गर्छन् र सहरमै गाउँ अर्थात् ‘अर्बन भिलेज’को कल्पना गर्छन्, ग्रामीण जीवनको सिर्जना सहरमा गर्ने दुस्साहस गर्छन्। उदाहरणका लागि, राजधानीमा जिल्ला र गाउँ सम्पर्क मञ्चहरू खोलिन्छन्।

आज हामी गाउँ हेर्ने दुई अतिवादबाट बच्नुपरेको छ। अर्थात् गाउँलाई स्वर्ग र नर्क देख्ने चिन्तकका दृष्टिमा पुनःदृष्टि दिनुपरेको छ। परनिर्भर सहर होइन, आत्मनिर्भर गाउँ बनाउनुपरेको छ। जलवायु संकट जस्ता नवीन चुनौतीहरूको सामना गर्नुपर्नेछ। गाउँको यस्तो राष्ट्रिय पुनःकल्पना रच्नुपर्नेछ, जहाँ सामाजिक न्यायमा आधारित गाउँ स्थापित गर्न सकियोस्। यसका लागि हाम्रो स्मृतिरमण शक्तिले नै कथित विकासवादी, उपभोक्तावादी, रंगभेदी, धर्मान्धवादीलगायत जुनसुकै आवरणमा प्रस्तुत अतिवादीलाई परास्त गर्नुपर्नेछ। यस्तो स्मृतिरमण जो बुद्धि र तर्कशीलतामा विश्वास गरोस्, न कि हिजो जे थियो त्यो नै सही थियो भन्ने अतीतमुखी आदर्शमा।

प्रकाशित: ५ फाल्गुन २०८१ ०५:५९ सोमबार

Download Nagarik App
Download Nagarik App