२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ३:४६ पूर्वाह्न
राजनीति

उच्च अदालतको आदेशपछि रवि पक्राउ: आज रूपन्देही लगिने

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा झेलिरहेका उनी शुक्रबार साँझ काठमाडौंको हात्तीगौंडास्थित निवासबाटै पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई शुक्रबार एक रात जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने र शनिबार रूपन्देही जिल्ला अदालत पु¥याउने बताइएको छ।

जिल्ला अदालत रूपन्देहीको फैसलाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन दिएका रविलाई शुक्रबार थुना पठाउने आदेश उच्च अदालत बुटवलले दिएको थियो। उक्त आदेशलगत्तै रविलाई पक्रन प्रहरी परिचालन भएको थियो।

जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले उनलाई थुनामा पठाउने आदेश गरेको हो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार उनलाई थुनामा पठाउने आदेश जारी गरेको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उनलाई जिल्ला अदालत रूपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गरेको थियो। रविले फागुन १६ गते रूपन्देही अदालतको आदेश बदरको माग राखेर उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए।

अदालतबाट आदेश जारी हुनेबित्तिकै सामाजिक सञ्जालमार्फत लामिछानेले तत्काल गिरफ्तारी दिने बताएका थिए। ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिल्यै गिरफ्तारी दिँदै छु,’ उनले फेसबुकमा लेखेका थिए।

उनले अरू न्यायालयका ढोका खुला नै रहेको पनि बताएका थिए। ‘न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउँछु,’ रविले लेखेका थिए, ‘ममाथि ठुलो अन्याय भएको छ।’ उनले शनिबार चितवनमा गर्ने भनिएको सभा नरोक्न निर्देशन पनि दिएका छन्।

रविलेले रास्वपाको अफिसियल फेसबुक पेजमार्फत पनि आदेशभन्दा पहिले प्रहरी तैनाथ हुँदा ठुलो आशंका सिर्जना गरेको बताएका थिए । कुनै कागज, पुर्जी नदिई प्रहरी आफूलाई पक्रन आफ्नो घरभित्र प्रहरी आएको भन्दै उनले असन्तुष्टि पनि जनाएका थिए।

प्रकाशित: २३ चैत्र २०८१ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App