२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ११:५३ पूर्वाह्न
राजनीति

बैंककमा ओली-मोदी भेटवार्ता: सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले थाइल्यान्डको राजधानी बैंककमा गरेको भेटवार्ता दुई देशबिचको सम्बन्ध सुधार र विस्तारमा सहयोगी हुने विश्लेषण गर्न थालिएको छ। नेपाली कांग्रेसको समर्थनमा ओली गत असारमा चौथो पटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री बनेपछि त्यसलाई भारतले निको नमानेको आकलन र विश्लेषण भइरहेका बेला भएको यो भेटले सम्बन्ध सुधार र विस्तारमा थप टेवा पु¥याउने विश्लेषण गर्न थालिएको हो।

ओली नेतृत्वमा सरकार बनेयता परराष्ट्र मन्त्री आरजु राणा देउवा यसबिचमा तीन पटक नयाँ दिल्ली पुगेकी छन्। पहिलो पटक नयाँ दिल्ली पुग्दा उनलाई भारतले प्रधानमन्त्रीसरहको सम्मान दिएको थियो। त्यसपछिका दुई भ्रमणमा आरजुलाई पनि भारतले महत्त्व नदिएको चर्चा विश्लेषकहरूले गर्दै आएका थिए। यस अवधिमा भारतले प्रधानमन्त्री वलीलाई भारत भ्रमणको निम्ता पनि दिएन। दुई देशबिचको सम्बन्धलाई लिएर विभिन्न आशंका र विश्लेषण भइरहेका बेला शुक्रबार भएको ओली र मोदी भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ।

यसले नेपाल–भारत सम्बन्धमा थप सुधार ल्याउने आकलन गरिएको छ। यो भेटले लामो समयदेखि दुई देशबिचको सम्बन्ध सुधारमा ‘आइसब्रेक’ भएको विश्लेषकहरूको बुझाइ पनि छ। यसअघि प्रधानमन्त्री ओली र मोदीबिच संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा न्युयोर्कमा असोज ७ गते पनि भेटवार्ता भएको थियो।

ओली र मोदीबिच शुक्रबार भेटवार्ता भएकै आधारमा दुई देशबिचको सम्बन्धमा सुधार आइहालेको भन्न हतार हुने जनाउँदै नेपाल–भारत सम्बन्धका एक जानकारले भने, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमणको मितिले नै धेरै कुरा निधौरण गर्छ।’

नेपालमा राजावादी आन्दोलन बरिरहेको र त्यसमा भारतको हात रहेको आरोप लागिरहेका बेला नेपाललाई सुन्नुपर्छ भन्नेमा भारत पुगेको हुनसक्ने जानकार बताउँछन्। त्यति मात्र होइन, समान सांस्कृतिक तथा सामाजिक परम्पराले नेपाल–भारत सम्बन्ध जनस्तरसम्मै छ। तर संविधानसभाबाट नेपालले नयाँ संविधान जारी गरेपछि दुई देशबिचको सम्बन्धमा चिसोपन देखिएको स्रोतको दाबी छ।

संविधान जारी भएपछि दुई देशबिचको सम्बन्धमा देखिएको चिसोपन बढाउन कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालले जारी गरेको राजनीतिक नक्साले पनि थप मलजल गरेको विश्लेषण गरिँदै आएको छ।

नेपालमा राणाशासन अन्त्यदेखि गणतन्त्र स्थापनासम्म भारतको सहयोग र सद्भाव रहँदै आएको छ। तर नेपालमा अझै राजनीतिक स्थिरता कायम हुन सकेको छैन। विद्युत् उत्पादन, विद्युत् व्यापारका साथै पर्यटन क्षेत्रबाट नै नेपालको आर्थिक विकास सम्भव छ।

भारत सरकार नेपालमा विद्युत् उत्पादन र व्यापारमा सहयोगी बन्न तयार रहेको निकटहरूको दाबी छ। यसैअन्तर्गत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बाङ्लादेशसँग विद्युत् व्यापार सम्झौता भएको उनीहरूको दाबी छ। तर प्रधानमन्त्री ओलीको सम्पन्न चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) परियोजना अघि बढाउने निर्णयले भारतलाई थप संशंकित बनाएको जानकार बताउँछन्।

 बिआरआई चिनियाँ राष्ट्रपति सी जिङपिङले पहिलोपटक काजकस्तानजस्थित नजरबावेभ युनिभर्सिटीबाट सन् २०१३ सेप्टेम्बर ७ को दिन काजकस्तान भ्रमणका क्रममा घोषणा गरेका हुन्। विश्वलाई एक क्षेत्र एक सडकको माध्यमबाट जोड्ने महत्त्वाकांक्षी परियोजनामा रेललाइन र रोडको कनेक्टिभिटीसँग मात्र नभएर नीतिगत समन्वय, रेलवे र हाइवेसहितको संरचना, खुला व्यापार, आर्थिक समन्वय र जनजनको सामीप्यजस्ता विषयलाई मुख्य आधार बनाइएको छ।

यो परियोजनामा नेपालले हात बढाएकोमा भारतको चित्त बुझेको छैन। अन्य देशका सरकार प्रमुखसँग सामूहिक भेटेका भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँग भने एक्लै भेटेका हुन्। उनीहरूबिच के कुरा भयो भन्ने खुलाइएको छैन। तर दुवै देशका प्रधानमन्त्रीले भेट निकै महत्त्वपूर्ण र सौर्हाद भएको उल्लेख गरेका छन्। ओलीसँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले बैंककमा नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाट फलदायी रहेको जनाएका छन्।

प्रकाशित: २३ चैत्र २०८१ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App