टिप्परको ठक्करबाट चिनियाँ कामदारको मृत्यु भएको छ। मनाङको चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो।
मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाको (ब्यूरो सात) कम्पाउन्डभित्र काम गरिरहेको अवस्थामा १० नम्बरवाला चाइनिज टिप्पर ब्याक गर्ने क्रममा ५३ वर्षीय योङ्गको टाउको ठोक्किएर चोट लागेको र घाइते भएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते भएका योङ्गको उपचारका क्रममा मृत्यु भएको हो।
उनले भने, 'योङ्गको प्रदेश अस्पताल चामेमा उपचारका क्रममा ७ः३५ बजे मृत्यु भएको छ। योङ्गको शव अस्पतालमा नै रहेको छ।'
टिप्पर चालक दार्चुला शैलेशिखर नगरपालिका–१ बारिलका ४३ वर्षीय दशरथ खडायत प्रहरीको नियन्त्रणमा रहेका छन्। टिप्परको कागजात प्राप्त नभएको र साङ्केतिक नम्बर मात्र रहेको पाइएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २९ चैत्र २०८१ ०६:५८ शुक्रबार





