११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

गोही किन्ने फेला परेनन्

यस्तो पनि!

सन् २००५ मा मो जुनरङले चीनमा गुआङदोङ क्रोकोडायल इन्डस्ट्री कम्पनी स्थापना गरेका थिए। चीनमा गोहीको छालादेखि मासुसम्म निकै मन पराइन्छ। त्यसका छाला, मासुदेखि मलमूत्रसम्म विभिन्न उत्पादनमा उपयोग गरिन्छ र चीनमा त्यसको खपत निकै लोकप्रिय छ।

यसै लोकप्रियतालाई आधार मान्दै मोले गोही कम्पनी खोलेका थिए। कम्पनीले व्यवसायिक रूपमा गोही पाल्ने, हुर्काउने र बेच्ने उद्देश्यले काम थालेका थिए। यसबीचमा यति धेरै गोही उत्पादन भयो कि त्यसलाई बजारीकरण गर्नै धौधौ भयो।

गोहीलाई सम्हाल्नै गाह्रो। त्यसलाई पक्रेर आफू अनुकूलको काम गर्न अझ गाह्रो ! त्यसैले यहाँका गोही बिक्री हुन गाह्रो हुन थालेपछि कम्पनी नै घाटामा जान थाल्यो।

कम्पनीमा लगानी गरेको बैंकले हालै यहाँका गोहीलाई लिलामीमा राखेर डाक बढाबढ गरेको छ। यो कम्पनीका संस्थापक मोलाई स्थानीयहरूले ‘गोहीका देउता’ (क्रोकोडायल गड) भनेर बोलाउने गर्थे। कम्पनी नै घाटामा गएपछि गएको महिना मे ९ मा लिलामीमा डाक बढाबढ गरिएको थियो। तर गएको महिना कोही पनि ग्राहक किन्न तयार भएन।

यसको कारणचाहिँ, कम्पनीले गोही पक्रन र ग्राहकले चाहेको ठाउँसम्म पुर्‍याउन अस्वीकार गर्नु थियो। गोहीका विभिन्न अंगहरू सौन्दर्य, स्वास्थ्य सामग्रीदेखि खान्कीसम्म प्रयोग हुने गर्छ। एउटा सामान्य चिनियाँ गोहीको वजन दुई सय केजीदेखि पाँच सय केजीसम्म हुन्छ। कम्पनीसँग पाँचसय वटा गोही रहेको अनुमान गरिएको छ। एउटा गोहीको मूल्य आकारअनुसार आठ हजार युआनदेखि २० हजार युआनसम्म पर्ने गर्छ।

यसअघि पनि जनवरी र फेब्रुअरीमा दुई पटक डाक बढाबढ गरिएको थियो। अनलाइन गरिएको सो लिलामीमा पहिलो पटक ५० लाख युआन र पछिल्लो डाक बढाबढमा ४० लाख युआन दाम राखिएको थियो। यो चाहिँ त्यहाँ भएका सबै गोहीको रकम तोकिएको थियो। अनलाइनमा चार हजारले रमिता हेर्न आफूलाई दर्ता गरेको भए पनि कसैले पनि बोली लगाएका थिएनन्। पछिल्लो समय पनि कसैले बोली लगाएनन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २९ चैत्र २०८१ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App