लोक भनेको संसार, जगत् हो। र, लोकसंगीत भनेको त्यहाँको जनसमाजमा परम्परादेखि गाउँदै र चल्दै आएका गीत (रसिया, कर्खा, झ्याउरे, चर्खा, सिलोक आदि)। संगीत अध्येता बुलु मुकारुङका शब्दमा भन्ने हो भने लोक भनेको ग्रामीण जनजीवन, गाउँबस्ती, भौतिक परिवेश वा समाज हो। यही लोकबाट लोकसंगीतका लय–लर्का, भाका र तराना निस्किन्छन्। त्यही लोक–लोरी, लय वा संगीत नै लोकगीत–संगीत हो। ती पुस्तान्तरणसँगै विकास भएर विशाल भूतलमा फिँजिएका हुन्।
लोकसंगीतको जग श्रुतिपरम्परा हो। इतिहासमा हाम्रा पूर्वजदेखि हामीसम्म आइपुगेका जेजति लोकसंगीत छन्, ती श्रुतिपरम्पराकै देन हुन्। ऐतिहासिक अलका आत्रेय चुडालले लेखेकी छन्– नेपाली लोकभाका गाउन विशेष गायन समारोह नै चाहिँदैनथ्यो । नेपाली लोकगीतहरू अरूलाई सुनाउन कम, आफ्नै लागि बढी गाइने गीतहरू हुन्। नेपाली लोकभाका त घाँस काट्दै गरेकी घँसिनीको चुराको छमछमसँगै, जाँतोको घडघडसँगै, धानखेतमा रोपाहारको छुपुछुपुसँगै, ढिकीको ढिकीच्याउँसँगै गुन्जिन्थ्यो, रोदीघरमा घन्किन्थ्यो। लोकगीतका यी परम्परा र परिभाषामा सायदै कसैले फरक मत राख्लान्।
तर, सन्दर्भ आज नेपाली बजारमा चलेका केही लोकगीतले खिपेका शब्द र तिनलाई दृश्यभाषामा रूपान्तरण गर्दा अपनाइएका शैलीको हो। लोकगीतको आवरणमा श्रोता र दर्शकको ध्यान खिच्न गरिएका हरसम्भव प्रयत्नको हो। आफूलाई लोकसंगीतका सर्जक भनाउन रुचाउने केही कलाकारहरू हालका वर्षहरूमा निरन्तर अश्लील, स्त्रीद्वेषी र द्विअर्थी गीत बनाइरहेका छन्। लोकभाकामा झट्ट टिपिहाल्ने लवज हुने भएका कारण ती गीतहरू चाँडै ‘भाइरल’ पनि भइरहेका छन्। चोक, बजार, पार्टी, पिकनिक, टिकटक, रिल्स जताततै यस्तै गीतहरूमा भिडियो बनाउने लहर र लहड पनि चलेको छ। कलाकारले एकसाथ प्रसिद्धि र पैसा पनि आर्जन गरिरहेका छन्।
तपाईं यसका लागि ‘म त ढलें, ढलें’ जस्ता गीतको उदाहरण लिन सक्नुुहुन्छ। अहिले यो गीत यसरी सुनिएको छ कि जोकोही नेपाली (भिडियोमा त कतिपय विदेशी पनि देखिन्छन्) केवल गीतसँगै ढलिरहेका छन्। जुनसुकै उमेर समूहका मानिसले पनि गीतमा भाका हालेका छन्। हुँदाहुँदा विद्यालयमा शिक्षकहरूले विद्यार्थीलाई समेत यही गीतमा नचाइरहेका छन्। शिक्षक आफैं पनि नाचिरहेका छन्। यस्ता अनेक गीत छन्, जसका शब्द र भिडियो अनुचित मात्र होइन, आपत्तिजनकसमेत छन्। तर, एकपटक गीत बनाएर सार्वजनिक गर्ने, भ्युज बटुल्ने र आलोचना आइहाले कतै प्रस्टीकरण त माफी माग्ने तर गीतलाई चल्न दिइराख्ने कलाकारका कुनियत स्पष्ट देखिएको छ।
यहाँनेर चासो र चिन्ता भनेको यस्ता गीत सुनेर हुर्किरहेका हाम्रा बालबालिकाप्रतिको हो। जसलाई शब्दको मर्म पत्तो हुँदैन, मात्र संगीतसँग तालमेल मिलाउन मात्र जानेका हुन्छन्। उनीहरूमा तपाईंहामी ठुलाको सल्लाह पुग्नुअघि नै युट्युब र अनेक सामाजिक सञ्जाल पुगिसक्छन्। लोकसंगीत लोकको यस्तो अभिव्यक्ति हो, जहाँ को सर्जक, को श्रोता, को दर्शक खासै भेद हुँदैनथ्यो। बिस्तारै ग्रामोफोन भित्रिएपछि लोकसंगीतका संकलक खोजिन थालियो। रेकर्डिङको अभ्यासले व्यक्ति र स्वामित्व भित्रियो। लोकगीतमा पनि रचनाकार र संगीतकार देखिन थाले। र, अहिलेको समय त्यसैको परिणाम हो। जहाँ लोकगीत त छ तर लोक हराउन थालेको छ। रचनाकारले लोकधुनमा रचेका कतिपय सिर्जनाले लोकका लय–आलय नबोकेका होइनन् तर बजारमा हाबी तिनै लोकगीत छन्, जसले माथि भनिएझैं सस्तो लोकरिझ्याइँ समातेका छन्।
लोकगीतमा आएको यो संक्रमण नयाँ होइन तर इन्टरनेट प्रविधिले यसलाई यति व्यापक बनाइदिएको छ कि अधिकांशलाई यसको कल्पनासम्म पनि थिएन। यसबाट समग्रमा लोकलाई नै क्षति पुगिरहेको छ तर सबैभन्दा चोट भने लोकसंगीतमाथि नै परिरहेको छ। यसो भनिनुको कारण के हो भने नेपाली समाजको एउटा तप्कामा लामो समयसम्म पनि लोकगीत कुनै गीत बनेन। यसले अवहेलना र बहिष्करण खेपिरह्यो। लोकगीतका कलाकार अन्यत्र होइन, रेडियो नेपालमा समेत दोयम दर्जाका ठानिन्थे। तर, आज लोकसंगीत आधुनिक वा सुगम संगीतसमेत पछारेर जनमनको ह्रदयमा राज गर्न सफल भएको छ। लोकसंगीतले चौतर्फी सम्मान पाउन थालेको छ। यसका लागि लोकसंगीतका धरोहर अग्रजहरूले ठुलो संघर्ष र त्याग गरेका छन्।
लोकसंगीतलाई थप समृद्ध बनाउनुपर्ने ठीक यही बेला लोकको सदाशयताको दोहन सुरु भएको छ। कलाकारमा कलात्मक चेत विलीन हुँदै चर्तिकला हाबी भएको छ। बेरोजगारी, गरिबी, विभेद, विदेशगमन, निराशाजस्ता विषय उठाइन छाडेर अधिकांश गीत महिलाको शरीर, निजी जीवन र जाति, समुदायको छेडछाडमा प्रवेश भएको छ। संवेदनशीलताको अनिवार्यता पन्छाएर गीतलाई क्षणिक मजाक बनाउन थालेका छन्। कतिपयले यस्ता सवालमा सिर्जनात्मक स्वतन्त्रताको पनि कुरा गर्न सक्छन्।
तर, न्यूनतम सामाजिक उत्तरदायित्व समेतलाई बिर्सेर कसैले पनि सिर्जनाको वकालत गर्न मिल्दैन। स्रष्टाले के बुझ्नुपर्छ हामी बाँच्ने समाज यही हो, मर्ने समाज पनि यही हो। त्यसकारण पनि अब लोकसंगीतका सर्जक, गायकगायिका सुध्रिनुपर्छ, सच्चिनुपर्छ। सम्मिलित संस्थाहरूले यसबारे चिन्ता गर्नुपर्छ। परे सरकारले पनि नियमन र नियन्त्रण गर्नुपर्छ। लोकसंगीत भन्दैमा मनपरी, तथानाम, जथाभाबीको यो भाँडभैलो जारी रहे लोकसंगीतले दशकौंपछि कमाएको इमान कुनै पनि बेला गल्र्यामगुर्लुम ढल्न बेर लाग्दैन। र, त्यतिबेला ‘म त ढलेँ, ढलेँ’ भन्दै गर्दा समाउन हात दिने पनि कोही हुनेछैन।
प्रकाशित: ४ फाल्गुन २०८१ ०६:०८ आइतबार