६ वैशाख २०८१ बिहीबार
अर्थ

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

पोखरा–मुग्लिन राजमार्गमा अघिल्लो साताको पहिरोले सवारी अवरुद्ध भएपछि सास्ती खेप्दै यात्रु। फाइल तस्बिरः नागरिक

हवाईजहाजबाट काठमाडौं उत्रेका ७६ जना बंगलादेशी पर्यटकले दुईदिनका लागि पोखरामा होटल बुकिङ गरेका थिए। काठमाडौंबाट स्थलमार्ग हुँदै पोखरा आउँदै गर्दा अघिल्लो साता ती विदेशी पाहुना पृथ्वीराजमार्गको आँबुखैरेनीस्थित पहिरोको मारमा फँसे। घन्टौ जाममा परेर पनि पोखरा पुगिने अवस्था नआएपछि ती पाहुना चितवनको सौराहातिर मोडिए। उनीहरुले चितवनमा दुइदिन बिताएर काठमाडौं हुँदै पुन स्वदेश फर्किए।  

बंगलादेशबाट आएका ती पाहुनाको पोखरा घुमघाम यो पटकका लागि अधुरै रह्यो। पोखरा यात्रा पुरा हुन नपाएको भन्दै बंगलादेशी ती पाहुनाले दुख मनाउ गरे। पोखरामा उनीहरुले होटल ल्याण्डमार्क बुकिङ गरेका थिए। ल्याण्डर्माकका संचालक ओमप्रकाश पाण्डेका अनुसार पोखरा घुम्न नपाएपछि उनीहरु चितवनतिर मोडिएका थिए। चितवनमा पनि ल्याण्डमार्क होटलमै ती पाहुनालाई बसोबास गराएपनि उनीहरुले पोखरा भने घुम्न नपाएको पाण्डेले बताए।

‘पहिरोका कारण ती पाहुना पोखरा आउनै सकेनन। बीचबाटै यात्रा अन्यत्र मोडियो,’ पाण्डेले भने, ‘हामीले चितवनमा जसोतसो व्यस्थापन ग¥यौ र उनीहरुलाई थप समस्या भएन। महत्वपूर्ण गन्तव्य घुम्न नपाउँदा पर्यटक खुसी हुन सकेनन्।’ उनका अनुसार पोखरा आउनै नपाई चिवतनबाट पुन काठमाडौं हुँदै ती पाहुना स्वदेश फर्केका थिए। ‘बाढीपहिरोले पछिल्लो एकसाता पोखरा जोडने स्थलमार्ग झन्झटिलो बनेको छ। यसले यात्रामा बाधा उत्पन्न गराएको छ,’ पाण्डेले भने।

उनका अनुसार विदेशी मात्र नभई स्वदेशी पाहुनाको यात्रामा पनि अप्ठेरो आइपरेको छ। स्थलमार्ग हुँदै आउजाउ गर्ने भारतीय पाहुना पनि यतिबेला घुमघामका लागि निस्कन नसकेको उनले बताए। ‘पोखरालाई राजधानी काठमाडौंसँग जोड्ने मुख्य पृथ्वी राजमार्ग यतिबेला क्षतविक्षत हुँदा पर्यटन क्षेत्र प्रभावित भयो,’ उनले भने, ‘एकसाताको अवधिमै पर्यटन क्षेत्र सुस्ताउन पुगेको छ। एकसाताअघिको चहलपहल अहिले घटिसकेको छ।’

व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायातको पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको पनि उनीहरुले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग बिस्तार भईरहेको छ। राजमार्ग बिस्तार भएसँगै तनहुँको केही खण्डमा रातीको समयमा पाँचघण्टासम्म सवारी चल्न रोक लगाइन्छ। सवारी रोक लगाएको र यही बेला पहिरोले सडक अवरुद्ध पार्दा यात्रा सकसपूर्ण बनेको व्यवसायीले बताएका छन्।  

‘अघिल्लो सातासम्म पर्यटन क्षेत्रमा निकै नै चहलपहल थियो। तर, पछिल्लो एकसाताको चहलपहल अहिले एकाएक घटेको छ। अहिले चितवन, पोखरा सबैतिरका होटलमा पाहुना कम भएका छन,’ पाण्डेले भने, ‘हुन त अब भारतीयका लागि पनि अफसिजन हो। त्यसले पनि पाहुना कम भएका छन्। तर, बढी मार राजमार्गले पारेको छ।’ उनका अनुुसार पोखरा–मुग्लिनको राजमार्ग यतिसम्म जोखिमपूर्ण बनेको छ की कुनैपनि बेला रुख र पहिरो खसेर पुरिएला भन्ने त्रास बढाएको छ। ‘पानी पर्नासाथ राजमार्गमा भेल बग्छ। माथिबाट पहिरो खस्ने त्रास उत्तिकै छ,’ उनले भने, ‘बाटोमा लामो समय रोकिनु झनै जोखिमपूर्ण हो। कतिबेला माथिबाट पहिरो खसेर पुर्ने हो भन्ने त्रासले यात्रा गर्नुपर्छ।’ होटल संघ गण्डकी प्रदेश अध्यक्ष हरि शर्मा पनि पोखरालाई विभिन्न सहरसम्म जोड्ने स्थलमार्गको यात्रा झन्झट र जोखिमपूर्ण बन्दै जाँदा पर्यटनमा मार परेको बताउँछन्।

उनका अनुसार अहिले पृथ्वी राजमार्गको यात्रा सबैभन्दा जोखिम र झन्झटिलो बनेको छ। कुनबेला कहाँ र कति समय रोकिनुपर्ने भन्ने यकिन नहुँदा यात्रा नै समस्याग्रस्त बनेको उनले बताए। ‘मध्य वर्षायाम परेकोले यो बेला भारतीय पाहुनाको आगमन केही कम हुने नै हो। तर, अहिले राजमार्गको सास्तीले पनि पाहुना आउन चाहेका छैनन,’ शर्माले भने, ‘मुख्य राजमार्गको यात्रा यतिसम्मको झन्झटपूर्ण छ की तीनघण्टाको यात्रा अवधि अहिले बढेर १० घण्टासम्म पुगेको छ।’  

अघिल्लो सातादेखि राजमार्गको यात्राले झन्झट थप्न थालेको उनले बताए। उनका अनुसार पोखरा–मुग्लिन तीनघण्टामा सहज पार गरिने दुरी हो। तर, अहिले ८–१० घण्टासम्म लाग्ने गरेको छ। पोखरा–काठमाडौं ६ घण्टाको यात्रा कुनैदिन त ३० घण्टासम्म पनि पुगेको छ। ‘कतिबेला कहाँ पहिरो खस्ने भन्ने यकिन नहुँदा यात्रामा निस्कन पनि त्रास छ,’ उनले भने,‘लामो समय राजमार्गमा फस्दा यात्रा झनै सकसपूर्ण बन्ने गरेको छ।’ 

भारतीय पाहुना पोखरा भित्रिने मुख्य मार्ग नै पृथ्वी राजमार्ग हो। ठुला आकारका बस चढेर भारतीय पाहुना पोखरा आउने भएकोले उनीहरु चिवतन, काठमाडौं हुँदै भित्रिन्छन। ती पाहुनाले अहिले सकस खेप्नुपरेको उनले बताए। पोखरा–स्याङजा–बुटवल हुँदै आउजाउ गर्ने सिद्धार्थ राजमार्ग पनि कुनबेला कहाँ रोकिन्छ भन्ने यकिन नभएको शर्माले बताए।

‘यसै त वर्षाको झन्झट, त्यसैमाथि मुख्य राजमार्ग रातीमा बन्द हुँदा रोकिएका पाहुना पनि बेलैमा गन्तव्यसम्म पुग्न सकेका छैनन,’ शर्माले भने, ‘राजमार्ग सबैतिर भत्काएर अस्तव्यस्त पारिएको छ। सहज कुनैपनि ठाउँमा छैन। कम्तिमा निश्चित खण्ड भत्काएर त्यसलाई पुरा गरेर अरु खण्डमा काम गर्दा सहज हुन्थ्यो। तर, सबैतिर धुलो, हिलो मात्र राजमार्गमा छ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पनि स्थलमार्गको झन्झटले गर्दा आन्तरिक र भारतीय पाहुनाको हिडडुल नै कम भईसकेको बताउँछन्। स्थलमार्गमा झन्झट हुनासाथ हवाईमार्गको टिकटको भाउ महंगो पर्दा पनि असर पारेको उनले बताए। ‘अहिले हवाईजहाजले पनि पुरै हवाईभाडा लिएका छन। त्यो भाडा निकै नै महंगो पर्छ। त्यसैले अत्यावश्यक काम बाहेक अहिले हिडडुल छैन,’ उनले भने, ‘आन्तरिक पाहुना पनि सुस्ताएका छन्। वर्षा र झन्झटिलो राजमार्गको यात्रा जोखिमपूर्ण बनेको सन्देश फैलिएकोले पनि पर्यटनमा मार परेको हो।’ मुख्य राजमार्गमा झन्झट हुँदा बैकल्पिक सडकबारे सोच्नुपर्ने भएपनि त्यसको तयारी नगर्दा अहिले अप्ठेरो आएको उनले बताए।  

प्रकाशित: २ असार २०७९ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App