चितवनको सौराहामा रत्न बिज समिट आयोजना हुँदैछ। जेसिआइ रत्ननगरले बैशाख १२ र १३ मा सौराहाको रोयल टाइगर लक्जरी रिसोर्टमा दोस्रो संस्करणको यो समिट गर्न लागेको हो।
जेसिआइ रत्ननगरले मंगलबार पत्रकार सम्मेलन गरी युवालाई व्यवसायप्रति आकर्षित गर्न यो समिट आयोजना गर्न लागिएको बताएको छ। समिटमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्वअर्थसचिव मधुकुमार मरासिनीलगायत उद्यमीहरूले प्रेरणात्मक सत्र सञ्चालन गर्नेछन्। जेसिआइ रत्ननगरका अध्यक्ष बाबुराम परियारका अनुसार चन्द्र ढकालले नेपालको व्यापारिक परिदृश्य र अवसरबारे प्रस्तुति र प्रशिक्षण दिनेछन्। त्यस्तै, मधुकुमार मरासिनीले नेपालको वर्तमान आर्थिक अवस्था र सम्भावनाबारे प्रस्तुति दिनेछन्।
कोकाकोलाका उपव्यवस्थापक प्रकृती बस्याल, प्रशिक्षक क्षितिज जंग थापा, उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेल र नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरी पन्तले पनि प्रेरणात्मक प्रस्तुति दिनेछन्। जेसिआइ रत्ननगरका महासचिव तथा कार्यक्रम संयोजक सौरभ रिजालले युवा व्यवसायीमा रहेको निराशा हटाई उद्यमी बन्न चाहनेका लागि नयाँ अवसर सिर्जना गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने बताए।
जेसिआइ रत्ननगरका पूर्वअध्यक्ष सुवास पोखरेलले यो समिटले उद्योग–व्यवसायमा लाग्न चाहनेलाई प्रेरणा र ऊर्जा दिने बताए। समिटमा चितवन, नवलपुर, मकवानपुर, कास्कीलगायत जिल्लाका उद्यमी–व्यवसायी सहभागी हुनेछन्।
प्रकाशित: १० वैशाख २०८२ ११:१६ बुधबार





