ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ। मङ्गला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडकअन्तर्गत यस वर्ष पिपलबोट–पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो। मङ्गला–५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक विसं २०६८ मा मार्ग खुलेको थियो।
गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन करोड २७ लाख रूपैयाँ बजेट विनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि दुई करोड १७ लाख रूपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको छ। ठेक्का मार्फत पिपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मङ्गला–५ का वडाध्यक्ष भुपेन्द्र खत्रीले बताए।
उनकाे अनुसार नौ सय ४५ घनमिटर पलम (पक्की) पर्खाल, एक हजार पाच सय ९६ घनमिटर ग्यावियन पर्खाल, दुई सय मिटर नाली र दुई सय २० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको छ। आउँदाे असारभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ।
सडक स्तरोन्नति भएपछि साविक अर्मन गाविसका बासिन्दालाई आवतजावत, वडा कार्यालय जानआउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा छ।
हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। यसअघि गत वर्ष हाडेभिर–पिपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो। यो मङ्गला गाउँपालिकाको गौरवको आयोजना हो।
प्रकाशित: १० वैशाख २०८२ ११:२९ बुधबार





