बेँसीका घुम्ती भेडीगोठमा रहेका भेडाका बथान चरणका लागि लेक र हिमाली भेगतर्फ लागेका छन्। चिसो मौसममा चरणमा समस्या भएपछि बेँसी झरेका भेडा गर्मी सुरु भएसँगै फेरि लेकतर्फ गएका हुन्।
जिल्लाका घुम्ती गोठका गोठालाहरूले भेडाका बथानलाई लेक र उच्च खर्कतर्फ लैजान थालेको पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. सुनिल न्यौपानेले बताए। जिल्लामा साना–ठूला गरी तीन सयभन्दा बढी घुम्ती भेडीगोठ छन्, जुन बेँसीबाट लेकतर्फ लागेका छन्।
कार्यालयका अनुसार भुजुङ, सिउरुङ, घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत गाउँमा भेडीगोठ छन्। हिमाली भेगबाट चिसो छल्न बेँसी झरेका यी गोठ फेरि लेकतर्फ लागेका छन्। गुरुङ समुदायमा भेडीगोठ पुर्ख्यौली चलन र पेसा मानिन्छ।
भेडी गोठाला कमल अधिकारीले भने, ‘चिसो मौसममा बेँसी झारिएका भेडी गोठ फेरि लेकतर्फ लैजान थालेका छौँ। केही समयमा हिमालको काखमा रहेको ठूले लेकमा पुग्ने छौँ।’ उनले गर्मीको छ महिना लेक र चिसोको छ महिना बेँसीमा गोठ राख्ने जानकारी दिए।
लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय गोठाला दुरजङ गुरुङले चिसो छल्न बेँसी झारेका भेडा फागुनदेखि लेकतर्फ लगेका छन्। उनी अहिले लमजुङ र गोरखाको सिमाना चेपेखोलाको शिरमा पुगेका छन्। बेँसीबाट भेडाबाख्रा चराउँदै श्रीमञ्जाङ, ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कतर्फ लागेका छन्। उनको गोठमा साना–ठूला गरी आठ सयभन्दा बढी भेडा र बाख्रा छन्।
पसगाउँका भेडीगोठका बथान क्युबे–ल्हेदेतर्फ पुगेका छन्। ताघ्रिङका भेडीगोठ थुर्जुलेक खर्कतिर लागेका छन्। लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु र लमजुङ हिमालको काखसम्म पुग्छन्।
बेँसीमा रहँदा भेडीगोठको मल खेतबारीमा प्रयोग हुन्छ। डा. न्यौपानेका अनुसार भेडाको ऊनबाट राडी, बख्खुलगायत सामग्री बनाइन्छ। जिल्लामा २३ हजार भेडाबाख्रा छन्। वार्षिक १० हजार किलो ऊन उत्पादन हुन्छ, जुन प्रतिकिलो ३०० रुपैयाँमा बिक्री हुन्छ। भेडाको मासुबाट वार्षिक १६० मेट्रिक टन उत्पादन भई ८ करोड रुपैयाँ आम्दानी हुन्छ।
घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन र घुम्ती तथा घरमा पालिएका बाख्राबाट वार्षिक १,२०० मेट्रिक टन मासु उत्पादन हुन्छ। यसबाट ६० करोड रुपैयाँ आम्दानी हुन्छ।
जिल्लामा वार्षिक ६० करोड रुपैयाँ आम्दानी भए पनि नयाँ पुस्ताले यो पेसालाई बेवास्ता गर्दा भेडीगोठ लोप हुने अवस्थामा पुगेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन्। गुरुङ समुदायका बस्तीमा भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने र प्रयोग गर्ने चलन अझै छ। यहाँ उत्पादित ऊन र ऊनका सामग्रीको बजारमा माग उच्च छ। तर, यो पेसा अग्रज पुस्तामा सीमित हुँदा परम्परा लोप हुने चिन्ता छ। रासस
प्रकाशित: १० वैशाख २०८२ १२:३९ बुधबार





