गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य लक्ष्य सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्नु रहेको बताएका छन्।
बुधबार आयोजना हुने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार विराटनगर आइपुगेका मन्त्री अर्यालले शान्ति सुरक्षाको प्रत्याभूति र घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पारे।
मोरङको बुधनगरस्थित नेपाल-भारत एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को स्थलगत निरीक्षणपछि बोल्दै मन्त्री अर्यालले भने, ‘शान्ति सुरक्षाबिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन सक्दैनन्। गृह प्रशासनले शान्ति सुरक्षालाई नै विकास र समृद्धिको पहिलो शर्त मानेर आफ्ना रणनीति तय गरेको छ।’
निरीक्षणका क्रममा १ सय २९ बिघा क्षेत्रफलमा फैलिएको एकीकृत जाँच चौकी (आईसीपी) को सुरक्षा चुनौतीबारे जानकारी लिँदै मन्त्री अर्यालले त्यहाँ छुट्टै सुरक्षा फौज तैनाथ गर्ने मागप्रति सरकारको ध्यानाकर्षण भएको बताए।
उनले भने, ‘यस विषयमा गृह मन्त्रालयले अन्तर-मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउनेछ।’
यसैबीच, गृहमन्त्री अर्यालले जेन-जी आन्दोलनका क्रममा आगजनी भई खरानी भएको र हाल पुनः मर्मत गरी सञ्चालनमा ल्याइएको मोरङ जिल्ला प्रशासन कार्यालयको भवन निरीक्षण गरे।
निरीक्षणका क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कट्टेलले आन्दोलनका बेला भएको भौतिक क्षति र पुनर्निर्माणपछि मन्त्रालयको प्राथमिकतामा रहेका सेवा प्रवाहका विषयमा मन्त्रीलाई ‘ब्रिफिङ’ गरेका थिए।
साथै, मन्त्री अर्यालले कोभिड–१९ महामारीका बेला नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको पनि निरीक्षण गरे।
सेनाको निगरानीमा रहेको उक्त सेन्टर हाल प्रयोगविहीन अवस्थामा रहेको छ।
प्रकाशित: १५ पुस २०८२ २१:२४ मंगलबार




