१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजेट निर्माणको चटारो

शुक्लागण्डकी नगरपालिका–३ वन्केवास्थित वडा कार्यालयमा भएको योजना तर्जुमा गोष्ठिमा सहभागीहरु। तस्बिर: विनोद/नागरिक

तनहुँका स्थानीय तह आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमसँगै बजेट बनाउने चटारोमा छन्। भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिलाई सबैलाई खुसी पार्ने बजेट ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ प्रदेश र संघको निर्वाचन पनि यही बर्ष हुने भएकाले पनि लोकप्रिय (वितरणमुखी) बजेट कसरी बनाउने भन्नेमा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको पाइन्छ। यतिबेला स्थानीय तहका प्रमुख उपप्रमुख वडा वडामा पुगेर योजना मागिरहेका छन्। वडा जनप्रतिनिधि टोल टोलमा पुगेका छन्।

शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखी वडामा योजना तर्जुमा थालेको छ। आगामी असार ४ गतेभित्र सबै वडामा पुगेर योजना तर्जुमा हुने उपप्रमुख खुमबहादुर विक (राजु)ले बताए। असार १० गते नगरसभामा नीति, कार्यक्रम तथा बजेट पेश हुनेछ। टुक्रे योजनामा बजेट विनियोजन नहुने विकले बताए। ‘यसपाली टुक्रे योजनामा बजेट विनियोजन हुनेछैन्। हरेक योजनाको काम सक्ने गरेर बजेट विनियोजन गर्नेछौँ’, उनले भने। कम विकास भएका वडालाई प्राथमिकता दिएर बजेट दिने उपप्रमुख विकले बताए। कृषि उत्पादन, उद्यमशिलता र सामाजिक विकासलाई निती, कार्यक्रम तथा बजेटले प्राथमिकता दिने उनले जानकारी दिए। शुक्लागण्डकीले डेढ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी छ।

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधि पनि टोल टोलमा पुगेर योजना मागिरहेका छन्। वडास्तरीय योजना तर्जुमा गोष्ठी पनि गाउँपालिकाले सुरु गरेको छ। स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र पुर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याईने गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। उनका अनुसार गाउँपालिकाले १५ शैय्याको अस्पताल निर्माण, उपचार कोष सञ्चालन गर्ने, उत्पादनामा आधारित अनुदान, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने जस्ता योजना समेटिनेछ। सडकको नयाँ ट्रयाक सकभर नखोल्ने उनले बताए। उनले भने, ‘नयाँ सडकको ट्रयाक सकेसम्म नखोल्ने भनेका छौँ। भएका सडकलाई स्तरोन्नती र कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिनेछौँ’, उनले भने।

व्यास नगरपालिकाले वडास्तरीय योजना तर्जुमा गोष्ठि सकाएको छ। अब नगरस्तरीय योजना तर्जुमा गोष्ठि गर्न बाँकी रहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए। आगामी आर्थिक बर्षको बजेटमा अधुरो योजनालाई प्राथकिमतामा राख्ने न्यौपानेले जानकारी दिए। ‘जहाँ विकासको लहर पुगेको छैन्। पिछडिएको, विकासको मुल प्रवाहमा समाहित हुन नसकेको क्षेत्रलाई प्राथमिकता दिनेछौँ’, उनले भने।  

राजनीतिकरण नगरीकन बजेट तयार पार्नुपर्ने शुक्लागण्डकी नगरपालिका–३ का रामकुमार श्रेष्ठ बताउँछन्। ‘शिक्षा, स्वास्थ्य, सामाजिक विकास र भौतिक पुर्वाधारलाई समावेश गरेर बजेट ल्याउदाँ राम्रो हुन्छ। यो पार्टी त्यो पार्टी नभनिकन योजना बनाउनुपर्छ’, उनले भने। विदेशिनेको संख्या घटाउनलाई स्थानीय तहले विद्यार्थीलाई प्राविधिक शिक्षा दिने योजनामा ध्यान दिन उनको सुझाव छ। युवा स्वरोजगार र सिपमुलक तालिम अहिलेको खाँचो रहेको श्रेष्ठले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७९ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App