२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा चल्ने

अन्नपूर्ण केवलकार

पोखरामा निर्माण गरिएको अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा संचालन हुने भएको छ। अघिल्लो महिनादेखि संचालमा रहेको केवलकार अहिलेसम्म दिनमा आठ घण्टा मात्र संचालन हुँदै आएको थियो।  

कोरोना भाइरस संक्रमण कम भएको र पर्यटकीय चहलपहल सुरु भएसँगै केवलकारको संचालन समय पनि थप गरिएको अन्नपूर्ण केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले बताए। उनका अनुसार मंगलबारदेखि केवलकार बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म संचालन हुन थालेको छ। यसअघि यो केवलकार बिहान १० देखि बेलुकी ६ बजेसम्म मात्र संचालन हुँदै आएको थियो।  

पोखरामा यतिबेला आन्तरिक पर्यटक बढ्न थालेको र केही भारतीय पाहुना पनि भित्रिन थालेपछि संचालन अवधि पनि बढाएको पौड्यालले बताए। ‘पर्यटकीय सिजन पनि सुरु भएको छ। यो बेला कोरोना संक्रमण कम भएपछि पाहुना आउन थालेका छन्,’ पौड्यालले भने, ‘अहिले संचालन गरेको समय अवधि कम भएकोले समय बढाएका हौ।’

अहिले दिनमा करिब चार सय जना यात्रुले केवलकारमा सयर गरिहेको उनको भनाई छ। यो केवलकारमा यात्रा गर्दा आन्तरिक यात्रुले प्रतिव्यक्ति सात सय रुपैयाँ र भारतीय पाहुनाले आठ सय रुपैयाँ तिर्नुपर्छ। ‘हामीले केवलकारको सेवा विस्तार गरेसँगै यसको नामाकरण सूर्यदर्शन सेवा भनेका छौ,’ पौड्यालले भने, ‘बिहान सूर्याेदयको दर्शन र बेलुकी सूयास्तको अवलोकन गर्न पनि सेवा विस्तारले सघाउँछ।’  

पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर संचालन थालेको छ। कोरोना भाइरस संक्रमणले गर्दा यो कम्पनिले तोकिएको समयमा सेवा सुचारु गर्न पाएको थिएन। सुरुमा दुई वर्षमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको केवलकार कोरोना भाइरस संक्रमणले गर्दा चार वर्षमा बल्ल पूरा भएको थियो।  

करिब २ अर्ब रुपैयाँ लगानीमा केवलकारको निर्माण गरिएको छ। यो केवलकारको दूरी केवल नौ मिनेटमा पूरा हुन्छ। सेदीमा निर्माण गरिएको स्टेशन समुन्द्री सतहभन्दा ८२४ मिटरको उचाईमा छ भने सराङकोटको स्टेशन १ हजार ५ सय २३ मिटरको उचाईमा छ। १७ वटा गोण्डलामार्फत अहिले पर्यटकलाई सराङकोट उकाल्ने र ओराल्ने गरिएको छ। प्रत्येक गोण्डलामा ८ जना यात्रु अटाउँछन्।  

प्रकाशित: १ चैत्र २०७८ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App