राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सुरुङको परीक्षणबिनै निर्माण कम्पनीले तयार पारेको प्रारम्भिक कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको पाइएको छ। भेरी नदीको पानी बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने तथा बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सुरु गरिएको यो आयोजनामा नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको थियो।
भेरीगंगा नगरपालिकाको बबईदेखि चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङ निर्माणका लागि सिँचाइ विभागले चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा सम्झौता गरेको थियो। हालसम्म ९ अर्ब ८८ करोड रूपैयाँ आयोजनाले निर्माण कम्पनीलाई भुक्तानी दिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ भदौ १७ गते सुरुङको परीक्षणबिनै कार्यसम्पादन प्रतिवेदन स्वीकार गरेको औंल्याइएको छ।
‘सुरुङभित्रको ग्राउटिङको अवस्था, चुरे तथा महाभारत रेन्जमा निर्मित सुरुङमा रहेको चट्टान तथा अन्य भौगोलिक अवस्था र सुरक्षितपनाको सुनिश्चितता, सुरुङमा पानी भरी केही समय राखी सकेपछि गुणस्तर यकिन हुने पक्षमा आयोजनाले ध्यान पुर्याएको देखिएन्,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाले २०७७ भदौ १७ मा कार्यसम्पादन प्रतिवेदन स्वीकार गरी सुरुङमा पानी भरेपछि भौगोलिक कारणले आउने क्षति, जोखिम तथा सुरुङको गुणस्तर सम्वन्धमा निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको देखियो।’
महालेखापरीक्षकको कार्यालयले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यमूलक लेखापरीक्षण गरेको थियो। लेखापरीक्षण प्रतिवेदनमा सुरुङको त्रुटि सच्याउने अवधि बढाउन र सुरुङ निर्माण गुणस्तरयुक्त भएको सुनिश्चित गरिनुपर्ने औंल्याएको छ। ‘ठेक्काको त्रुटि सच्याउने अवधि ३६५ दिन भए पनि मूल नहरको हेडवर्क र सुरुङ निर्माण कार्य सँगसँगै नगरेकोले सो व्यवस्था पालना हुने स्थिति देखिएन्,’ प्रतिवेदनमा भनिएको छ, ‘त्रुटि सच्याउने अवधि बढाउनुको अलावा सुरुङमा पानी पठाई सुरुङको निर्माणकार्य गुणस्तरयुक्त भएको सुनिश्चित हुनुपर्दछ।’
५१ हजार हेक्टर भन्न मिल्दैन
भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टरमा बाह्रैमास सिँचाइ सुविधा पुर्याउने गरेर आयोजनाको निर्माण थालिए पनि बबई सिँचाइ परियोजनाको स्रोत र सिँचित क्षेत्रलाई समेत भेरी–बबई डाइभर्सन आयोजनाले आफ्नो कार्यक्षेत्रमा गणना गरेको पाइएको छ। बबई सिँचाई योजनाले ३६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउँदै आएको छ।
‘बबई सिँचाई आयोजनाको कमान्ड एरिया ३६ हजार र सो योजनाले समेट्न नसकेको थप १५ हजार हेक्टरमा वर्षभर सिँचाइ सुविधा पुर्याउन भेरी नदीको ४० क्युसेक पानीलाई सुरुङको माध्यमबाट बबई नदीमा पुर्याउने उद्देश्यले भेरी–बबई डाइभर्सन आयोजना सञ्चालित छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा बबई सिँचाइ आयोजनाको स्रोत र सिंचित क्षेत्रलाई यस आयोजनाको कार्यक्षेत्रमा गणना गरेकोले दोहोरो गणना गरी आयोजना सम्भाव्य देखिएकोमा थप विश्लेषण भएको छैन।’
राष्ट्रिय गौरवको भेरी–बबई आयोजनाले बाह्रै महिना सिँचाइ सुविधाबाट कृषिको व्यवसायीकरण, कृषि उद्योग स्थापना, जग्गाको चक्लाबन्दीकरण जस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखे पनि कार्यान्वयन नभएको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ। ‘उक्त कार्यहरू बबई सिँचाइ आयोजनाबाट सम्पादन गर्ने लक्ष्य राखिए पनि जिम्मेवारी दिइएको छैन्,’ प्रतिवेदनमा भनिएको छ, ‘भूमि, पानी, उत्पादन र उत्पादकत्वबीच अन्योन्याश्रित सम्बन्ध कायम राख्न सिँचित क्षेत्रको मापदण्ड तयारी र कार्यान्वयनसँगै सिँचित हुने कृषि भूमिको दिगो रूपमा संरक्षण गर्न ध्यान दिनुपर्दछ।’
आयोजना समयमै सम्पन्न हुने अवस्था नरहेको प्रतिवेदनमा उल्लेख छ। ‘हालसम्मको प्रगतिस्थित हेर्दा आयोजनाको सम्पूर्ण कार्य गुरुयोजनाले लक्षित गरेको समयमा सम्पन्न हुने देखिँदैन्,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाको कुल कार्यमध्ये मूल नहर निर्माण तथा पक्की गर्ने कार्य १४.८ किलोमिटर, शाखा उपशाखा नहर १२१.६७ किलोमिटर, सर्भिस रोग विस्तार ११०.९३ किलोमिटर र पक्की नहर निर्माण १८.१ किलोमिटर बाँकी देखिन्छ।’ आयोजनाले भौतिकतर्फ ५२.१२ प्रतिशत र वित्तीयतर्फ ४४.७७ प्रतिशत प्रगति गरेको उल्लेख छ।
प्रकाशित: ६ भाद्र २०७८ ०२:२० आइतबार