७ वैशाख २०८१ शुक्रबार
अर्थ

काष्ठमण्डप अनुमानभन्दा सात करोड सस्तोमा निर्माण हुने

पुरातत्व विभागले काष्ठमण्डप निर्माणकोे लागि १९ करोड ८८ रुपैयाँको लागत इस्टिमेट तयार पारेको थियो। तर उपभोक्ता समितिमार्फत करिब १३ करोड रुपैयाँमै ठडिने देखिएको छ।

काठमाडौं महानगरपालिकाले २०७४ सालको स्थानीय तहको निर्वाचन अगावै भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माण ठेक्का प्रक्रियाबाट अघि बढाउने निर्णय ग¥यो। तर ठेकेदारमार्फत रानीपोखरीलाई क्रंक्रिटको पोखरी बनाउन लागेको भन्दै जनस्तरबाट चर्काे विरोध आएसँगै महानगरका कर्मचारी संयन्त्रले रानीपोखरी जस्तै पनि काष्ठमण्डपको पुनर्निर्माण ठेकेदारमार्फत निर्माण गर्न हच्किए।

भूकम्प गएको दुई वर्ष गुज्रिँदा पनि जिम्मेवार निकायले काष्ठमण्डपको पुनर्निर्माण सुरु नगरेपछि २०७४ वैशाख १२ गते वसन्तपुरका स्थानीयबासीले स्वतःस्र्फूत रुपमा काष्ठमण्डप पुनर्निर्माण अभियान संस्थामार्फत निर्माण गर्ने घोषणा गरेका थिए। स्थानीयले आफैं काष्ठमण्डप गर्न जुर्मुराएसँगै महानगरका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल, पुरातत्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव यमलाल भुसालले हस्ताक्षर गरेर काष्ठमण्डप पुनर्निर्माणको जिम्मेवारी २०७४ वैशाख २९ गते काष्ठमण्डप पुनर्निर्माण अभियानलाई दिएका थिए।

तर स्थानीय तहको निर्वाचनमार्फत विजयी भएर आएसँगै महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले अभियानले काष्ठमण्डप निर्माण गर्न नसकेको आरोप लगाउँदै महानगर आफैंले निर्माण गर्ने घोषणा गरे। मेयर शाक्यले काष्ठमण्डप पुनर्निर्माण सुरु गर्नुअघि केही विवाद भए पनि पुनर्निर्माण सुरु भएपछि कुनै विवाद नभएको बताए। ‘काष्ठमण्डप निर्माण गर्नुअघि केही समस्या देखिएको थियो। विवाद सल्टाएर ५५ सदस्यीय उपभोक्ता समितिमार्फत निर्माण प्रक्रिया अघि बढाएसँगै कुनै विवाद देखिएको छैन,’ मेयर शाक्य भन्छन्, ‘स्थानीय तहमा जनप्रतिनिधि आएसँगै पुरानै स्वरुप र शैलीमा ऐतिहासिक सम्पदा संरक्षण तथा सम्बद्र्धन गर्दै आइरहेका छौं।’ नगरकार्यपालिकाको २०७४ भाद्र २२ गते बसेको आठौं बैठकले विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रमा रहेको काष्ठमण्डपको पुनर्निर्माण कार्य यथाशीघ्र अघि बढाउने निर्णय गरेको थियो।  

तर जनप्रतिनिधि आएको एक वर्षसम्म पनि काष्ठमण्डपको भत्कनुपूर्वको स्वरुप, शैली र संरचनाअनुसार पुुनर्निर्माण गर्ने÷गराउने विषयमा टुंगो नलाग्दा अझै निर्माण सुरु हुन सकेन। ०७५ वैशाख १८ गते काठमाडौं क्षेत्र नम्बर ८ का प्रदेशसभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय काष्ठमण्डप पुननिर्माण समितिले नगर कार्यपालिकामा पुनर्निर्माणका लागि प्रस्ताव पेस गरेको थियो। महानगरको २०७५ जेठ २४ गते बसेको बैठकले समितिको प्रस्ताव बमोजिम काष्ठमण्डपको पुनर्निर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो। महानगर र समितिबीच ११ बुँदे सहमतिपत्रमा सम्झौता भएको थियो।  

काष्ठमण्डप पुनर्निर्माण कार्य गर्दा पुरातात्विक, ऐतिहासिक तथा प्राचीन महŒवलाई पूर्ववत रहने गरी नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत गराएर काम गर्नुपर्ने कुरा उल्लेख गरिएको छ। अहिले समितिले पुरातत्व विभागले तयार पारेको डिजाइन र लागत इस्टिमेट अनुसार नै निर्माण गरेको छ। विभागले १९ करोड ८८ लाख लागतको इस्टिमेट तयार पारेको थियो। काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेश सांसद शाक्य महानगरले काष्ठमण्डप पुनर्निर्माणको लागि आवश्यक पर्ने सम्पूर्ण तोकिएको समयभित्रै उपलब्ध गराएकै कारणले पुनर्निर्माण कार्यले गति लिएको बताउँछन्।

‘पुरातत्व विभागले काष्ठमण्डप निर्माणकोे लागि १९ करोड ८८ रुपैयाँको लागत इस्टिमेट तयार पारेको थियो। तर उपभोक्ता समितिमार्फत करिब १३ करोड रुपैयाँमा नै काष्ठमण्डप ठड्याउने लक्ष्यसहित काम गरिरहेका छौं।’ उनी भन्छन्, ‘काष्ठमण्डप निर्माण सुरु हुनुअगावै धेरै छलफल र बहस भयो। तर निर्माण भएपछि कुनै प्रकारको विवाद र समस्या आएको छैन। महानगरले पनि रकम अभाव हुन दिएको छैन।’ स्थानीय तहमा जनप्रतिनिधि आएसँगै सम्पदा संरक्षण सहज भएको उनको अनुभव छ।  

अहिले काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशतभन्दा धेरै सम्पन्न भइसकेको छ। पहिलो तल्लाको थाम, निदाल, दलिन राख्ने काम सकिएको छ।  

कर्मचारी देशको जुनसुकै भू–भागबाट आएका हुन्छन्। त्यसैले उनीहरुले सबै सम्पदाको ऐतिहासिक तथा धार्मिक महŒव चाहेर पनि बुझ्न सक्दैनन्। तर स्थानीय तहका जनप्रतिनिधि सोही ठाउँकै भएकाले अपनत्व महसुस गर्छन्।  

त्रिभुवन विश्वविद्यालयका इतिहास प्राध्यापक त्रिरत्न मानन्धर स्थानीय तहमा जनप्रतिनिधि आएसँगै स्थानीयसँग हातेमालो गर्दै सम्पदा पुनर्निर्माण गर्दै आएको बताउँछन्। उनी भन्छन्, ‘जनप्रतिनिधि नहुँदा केही कर्मचारीले सम्पदा संरक्षण गर्ने प्रयास गर्थे, तर सफल हुन सक्दैनथे। स्थानीय तहमा जनप्रतिनिधि आएसँगै ऐतिहासिक कला, संस्कृति संरक्षणमा जागरुकता देखाएका छन्। यो निकै सराहनीय कार्य हो।’

प्राध्यापक मानन्धरले विनाशले कहिलेकहीँ इतिहासको गर्भमा रहेको ऐतिहासिक तथ्य रहस्योद्घाटन गर्ने बताउँछन्। ‘विनाश पक्कै पनि राम्रो कुरा होइन, तर भूकम्पको विनाशले इतिहासको गर्भमा लुकेको काष्ठमण्डपको ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई बाहिर ल्याइदिने काम गर्याे,’ उनले भने।

इतिहासकारले काष्ठमण्डप १२औं शताब्दीमा निर्माण भएको दाबी गर्दै आएका थिए। तर भूकम्पछि बेलायतको चर्चित डुह्राम विश्वविद्यालय, स्टर्लिङ विश्वविद्यालय र नेपालको पुरातत्व विभागका पुरातत्वविद्ले काष्ठमण्डप उत्खनन गर्दा यसको भित्री भागको नौवटा मण्डप सातौं शताब्दीमा बनेको देखाएको छ।  

काष्ठमण्डप बज्रयान शैलीमा चारपाटे वर्गाकारमा बनेको थियो। भूकम्पअघि भत्किएको काष्ठमण्डप तीनतल्ले संरचनामा बनेको थियो। जसको भुइँतल्ला र माथिल्लो तल्लामा बार्दली राखिएको थियो। झिँगटीको छानोले काष्ठमण्डप छाइएको थियो।  

मानन्धर थप्छन्, ‘काष्ठमण्डप पुनर्निर्माणमा केही ढिलासुस्ती हुँदा विश्वका चर्चित विश्वविद्यालयका आर्काेलोजिस्टले राम्रोसँग अध्ययन गर्न पाए। अहिले पनि ऐतिहासिक तथा सांस्कृतिक धरोधरलाई ख्याल गर्दै निर्माण गरेका होलान्।’ काठमाडौं महानगरले आर्थिक वर्ष ०७६÷७७ मा सम्पदा संरक्षण तथा पुनर्निर्माणमा ९५ करोड ४८ करोड रुपैयाँ खर्च गरेको छ। 

मूर्त सम्पदाको लागि ५९ करोड ६९ लाख र अमूर्त सम्पदाको लागि १२ करोड रुपैयाँ खर्च गरेको छ। सो आवमा ६ वटा मूर्त सम्पदा पुनर्निमाण भयो। अमूर्त ५७ र क्रमागत योजनामा रहेका २४ निर्माण भए। महानगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा १३१ वटा साना–ठूला सम्पदा निर्माणका लागि एक अर्ब नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। महानगरले अघिल्ला वर्षदेखि निर्माण हुँदै आएका सम्पदाका चालु योजनाका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बजेट पुस्तिकामा उल्लेख छ। महानगरमा निर्माणाधीन सम्पदाका चालु योजना ३१ वटा छन्।

प्रकाशित: २८ भाद्र २०७७ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App