३१ चैत्र २०८१ आइतबार
image/svg+xml २१:२० अपराह्न
अर्थ

पोखरामा आलुको पहाड

आलु महोत्सवमा निर्माण गरिएको आलुको पहाड। तस्बिर: नागरिक

पोखरामा आलु महोत्सव सुरु भएको छ। विष्णुपादुका क्लबको आयोजनामा पोखरा–२५ हेमजामा आइतबारदेखि तेह्रौँ संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ सुरु भएको हो।

वैशाख ३ गतेसम्म आयोजना हुने महोत्सवको आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे।

‘आलु एक, परिकार अनेक’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको मुख्य आकर्षण आलुको पहाड बनेको छ। आलु गाउँको रुपमा परिचित हेमजामा आयोजित महोत्सव स्थलमा ४० टनको आलुको पहाड बनाइएको हो। जहाँ आलु खरिद गर्नेसँगै दर्शकले आलुको पहाडमा सेल्फी खिच्ने गरेका छन्।

महोत्सवमा आलुको मूल्य प्रतिकेजी ४२ रुपैयाँ कायम गरिएको छ। पोखरा बजारमा अहिले आलुको मूल्य प्रतिकेजी ५० देखि ५५ रुपैयाँ कायम रहँदा महोत्सवमा झण्डै १५ रुपैयाँ कममा बिक्री भइरहेको हो। जसले गर्दा पोखरा तथा आसपासका क्षेत्रका आलु खरिद गर्न महोत्सव जाने गरेका छन्।

आलु महोत्सवमा करिब २५ थरिका आलुका परिकारको पनि दर्शकले स्वाद लिन पाउने आयोजक विष्णुपादुका क्लबले जनाएको छ।

यसका अलावा महोत्सवमा ताजा तरकारीको बृहत् प्रदर्शन, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने क्लबका महासचिव हिक्मत थापाले जानकारी दिए।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, हेमजालाई व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा प्रदान गर्ने लगायतका उद्देश्य रहेको क्लबले जनाएको छ।

हेमजामा करिब ५९० हेक्टर जमिनमा आलु खेती हुने गरेको क्लबले जनाएको छ। हेमजाका २ हजार घरपरिवार कृषिमा आधारित रहेको र त्यसमध्ये १ हजार ५० कृषकले व्यावसायिक रुपमा आलु खेत गर्ने गरेको क्लबको दाबी छ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर किसानको पक्षमा रहेको बताए।

महोत्सवले किसानले उत्पादन गरेको आलुलगायतका स्थानीय उत्पादनको बजारीकरणमा सघाउने विश्वास उनले व्यक्त गरे। किसानलाई प्रोत्साहन गर्न महानगरले बिउ, बिजन वितरणदेखि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ। उनले भने, ‘महोत्सवले आलुलगायतका स्थानीयको उत्पादनको बजारीकरणमा सघाएको छ।’

पोखरा महानगरपालिका वडा नम्बर–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले पछिल्लो समय व्यवसायीक रुपमा आलु खेती गर्ने कृषक बढेको बताए। त्यसका लागि महानगर र वडाले वातावरण निर्माण गरिरहेकोसमेत उनले दाबी गरे।

आलु महोत्सव अवलोकनका लागि साधारण प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकट दर कायम गरिएको छ।

प्रकाशित: २४ चैत्र २०८१ १८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App