मकवानपुरगढी गाउँपालिका–२ स्थित कान्तिलोकपथ सडकखण्डमा आइतबार अटो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा बजारबाट गढी दरबारतर्फ जाँदै गरेको ना २ ह १२९० नम्बरको अटो अनियन्त्रित भई सडक किनारको नालीमा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका–८ ओमनगर बस्ने ५४ वर्षीय सुर्ज थापा मगर गम्भीर घाइते भएका छन्।
अटोमा सवार चालककी छोरीका अनुसार गुडिरहेको अटोमा अचानक केही पड्किएको जस्तो आवाज आएपछि अटो अनियन्त्रित भई नालीमा खसेको थियो।
घाइते थापालाई उनकी छोरीले प्रहरी पुग्नुअघि नै हेटौंडा अस्पताल पुर्याएकी थिइन्। सामान्य उपचारपछि थप उपचारका लागि उनलाई भरतपुरस्थित नयाँ मेडिकल कलेज (सीएमसी) पठाइएको थियो।
नयाँ मेडिकल कलेजमा उपचारको क्रममा अवस्था गम्भीर बनेपछि थप उपचारका लागि अन्नपूर्ण अस्पताल, काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा गरिएको प्रारम्भिक जाँचमा अटोको चालक बस्ने भागमा ढुंगा लागेको देखिएको र गियर क्षेत्रमा समेत क्षति भएको प्रहरीले जनाएको छ। अटोमा चालकसहित चारजना सवार थिए भने अन्य तीन जना यात्रु भने सकुशल छन्।
प्रकाशित: २४ चैत्र २०८१ १८:३४ आइतबार