२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पार्टी एकता मजबुत पार्दै जनताको भरोसा जित्छौँ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै जनताको भरोसा जित्नेगरी अघि बढ्नुपर्ने बताएका छन् ।

आज पार्टीको मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित प्रदेश कार्यसमिति तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको विशेष बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गरे ।  

‘कांग्रेसमा कुनै गुट छैन, हामी सबै एक हौँ । सबै मिलेर अघि बढ्नुपर्छ’, उनले भने, ‘निवर्तमान सभापति शेरबहादुर देउवासँग सल्लाह लिइरहेका छौँ ।’ मधेसका मुद्दालाई नेपाली कांग्रेसले सम्बोधन गर्ने उनको भनाइ छ ।

उनले मधेस प्रदेशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दालाई प्राथमिकतामा राखेर स्पष्ट एजेन्डाका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।  

सभापति थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र गुटबन्दीभन्दा माथि उठेर साझा लक्ष्यका लागि काम गर्नुपर्नेमा जोड दिए ।  

प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई जनतासँग नजिक रहेर काम गर्न, विकास र सुशासनलाई प्राथमिकतामा राख्न तथा पार्टीका निर्णय र नीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे ।

कार्यक्रममा पार्टीका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टी सङ्गठनलाई जनताको दैनिक समस्यासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।  

 

प्रकाशित: १६ माघ २०८२ १९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App