२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ३:४८ पूर्वाह्न
अर्थ

ओरालो लाग्दै टेस्लाको बिक्री

विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले गत वर्ष पहिलो पटक विश्वव्यापी बिक्री झरेको अनुभव गर्‍यो। सन् २०२४ मा २०२३ को तुलनामा बिक्री एक प्रतिशतले घटेको छ। यो घट्ने दर अन्य धेरै कम्पनीहरूको पनि छ तर टेस्लाका सन्दर्भमा भने चिन्ताजनक रहेको विश्लेषकहरूले बताउन थालेका छन्।

यसअघि टेस्लाको बिक्री अघिल्ला दुई वर्षमा क्रमशः ३८ प्रतिशत र ४० प्रतिशतले बिक्री बढाएको थियो। कम्पनीको बिक्री बढ्नेबित्तिकै यसको सेयर अचाक्ली बढेको थियो। त्यो सेयर बढ्नुमा भविष्यमा टेस्लाका कारहरूको बिक्री ह्वात्त बढिरहने विश्वास सर्वसाधारणको थियो र उनीहरूले त्यसको सेयर खरिद गरिरहेका थिए। 

छोटो अवधिको मूल्यांकन गर्दा टेस्लाले डिसेम्बर र जनवरीबीच अमेरिकी बिक्रीमा १६ प्रतिशतको तीव्र गिरावट रिपोर्ट जारी गरेको छ तर यो कम्पनीका लागि सामान्य प्रवृत्ति हो, किनभने यसले वर्षको अन्त्यमा आफ्नो वार्षिक लक्ष्य पूरा गर्न बिक्री बढाउने गर्दछ। त्यसपछि जनवरीमा यो घट्न पुग्छ। उदाहरणका लागि २०२४ को जनवरीमा बिक्री २०२३ को डिसेम्बरभन्दा २४ प्रतिशतले कम थियो।

अहिले कम्पनीको बिक्री एक प्रतिशतले घट्नुमा उनी सरकारमा प्रत्यक्ष संलग्न भएर हो त? त्यसो त यसअघि पनि उनी आफ्ना अन्य चार कम्पनीमा संलग्न थिए। अहिले आएर सरकार सञ्चालन पनि थपिएको छ। पछिल्लो कारणले उनले कम्पनीमा उनले पर्याप्त ध्यान नदिएर बिक्री घटेको हो त? यसबारे विश्लेषकहरू यसै हो भन्ने ठोकुवा गर्न सकिरहेका छैनन्। 

‘टेस्लाको आँकडामा मस्कको विवादको प्रभाव अहिलेसम्म देखिएको छैन,’ कोक्स अटोमोटिभका स्टेफानी भाल्देज स्ट्रिटीको भनाइ छ, ट्रम्प सरकारमा इलनको प्रत्यक्ष सहभागिता सर्वसाधारणले नरुचाएका कारण कारको बिक्री घटेको हो कि होइन भन्ने ठ्याक्कै भन्न सकिने अवस्था छैन। 

कारको रुझान हेर्दा पनि त्यो कारणले मानिसहरूलाई टेस्ला किन्ने वा नकिन्ने निर्णयमा प्रभाव पारेको छ भन्ने देखिदैन।’ अन्य धेरै कारणमध्ये त्यो पनि एउटा कारण हुनसक्ने उनको भनाइ छ। वास्तविक समस्या भने पछिल्लो समय अन्य कारहरूसँगको बढ्दो प्रतिस्पर्धा, कारको मूल्यजस्ता कुराले टेस्लाको बिक्रीमा असर भने परिरहेको महसुस गर्न सकिन्छ ।

पक्का चाहिँ के हो भने पछिल्लो समय टेस्लाप्रति रुचि घट्ने संकेत एसएनडिपी ग्लोबल मोबिलिटीको तथ्यांकले देखाएको छ। डेमोक्रेट र रिपब्लिकन राज्यहरूमा कार बिक्रीको रुझान हेर्दा ब्लु स्टेट (डेमोक्रेट)भन्दा रेड स्टेट (रिपब्लिकन) बाहुल्यमा बढी देखिएको थियो। 

ब्लु स्टेटहरूमा टेस्ला पुनः किन्ने ग्राहकको प्रतिशत २०२३ को अन्तिम त्रैमासिकमा ७२ प्रतिशतदेखि २०२४ को अन्तिम त्रैमासमा ६५ प्रतिशतमा झरेको थियो। रेड स्टेटहरूमा यो ४७.६ प्रतिशतदेखि ४८.२ प्रतिशतमा सीमित वृद्धि भएको थियो। यसले गर्दा ब्लु स्टेटहरू (क्यालिफोर्निया जस्ता ठूला बजारसहित) मा टेस्लाको बजार हिस्सेदारी लगभग १ प्रतिशतले घटेको छ।

मस्कको राजनीतिक सक्रियताले ग्राहकलाई प्रभावित गरेको अन्य प्रमाणहरू पनि देखिएका छन्। मर्निङ कन्सल्टले गरेको सर्वेक्षणअनुसार ३२ प्रतिशत अमेरिकी कार खरिदकर्ताहरूले टेस्ला किन्ने विचार नगर्ने बताएका छन्। यो संख्या २०२१ मा १७ प्रतिशत थियो । क्विनिपियाक विश्वविद्यालयको जनवरीमा गरिएको सर्वेक्षणले ५३ प्रतिशत मतदाताले मस्कले ट्रम्प प्रशासनमा प्रमुख भूमिका खेल्ननहुने बताउँदै उनको सो कार्यमा आपत्तिसमेत जनाएका थिए।

अबका केही महिनामा प्रयोग भएका टेस्लाका कारहरू बजारमा धमाधम आउने सम्भावना पनि छ। कोक्स अटोट्रेडरमा ११,३०० भन्दा बढी प्रयोग भएका टेस्ला सूचीबद्ध छन्, जो गत वर्षको तुलनामा २८ प्रतिशतले बढी हो। यो कोभिडपछिको बिक्री बढी र तीन वर्षपछि कार बदल्ने प्रवृत्तिको कारण पनि हुन सक्ने विश्लेषकहरूले बताएका छन्।

नयाँ टेस्ला बिक्री घट्ने मुख्य कारणहरूमा प्रतिस्पर्धी कम्पनीहरूको उदय पनि एउटा हो। जिएम, फोर्ड, भोक्सवागनजस्ता पश्चिमी कम्पनीहरूले थप सस्तो मूल्यमा इलेक्ट्रिक कारहरू ल्याइरहेका छन्। चिनियाँ कार निर्माता बिवाइडीले विश्वभर इभी बिक्रीमा टेस्लालाई पछार्ने अवस्थामा पुगेको छ। जर्मनीमा टेस्लाको बिक्री जनवरीमा गत वर्षको तुलनामा ५९ प्रतिशतले झरेको छ।

‘ग्राहकले कार किन्ने विचार गर्दा मूल्य, विकल्प र मूल्यको धारणाजस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यसमा कम्पनीका मालिकको राजनीतिक रुझान वा धारणा कस्तो छ भन्ने कमैलाई चासो हुन्छ,’ विश्लेषक इभान ड्रअरी भन्छन्, ‘आफूलाई मनपर्ने कार छ भने त धेरै मानिसहरूले राजनीतिक विचारलाई कार किन्नेबेलामा वास्तै गर्दैनन्।’ एजेन्सी

प्रकाशित: ६ फाल्गुन २०८१ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App