१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरामा कूटनीतिक पाहुनाको हाइकिङ (फोटो सहित)

पोखरा नजिकैको धम्पुस–धिताल खण्डमा आइतबार हाइकिङमा रमाउँदै नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी। तस्बिरः नागरिक

उखरमाउलो गर्मिसँगै केहीदिनदेखि नियमित झै वर्षा हुँदा अन्यत्रको तुलनामा पोखरा केही शीतल छ।  शनिबारको वर्षापछि त आइतबार झनै शीतल थियो। त्यही शीतलतामा हरियाली डाडाँकाँडा, वनजंगल, खेतबारी, बस्ती, खोलानाला नियाल्दै नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिले पोखरा र आसपासका क्षेत्रलाई आइतबार नियाल्ने मौका पाए।  

काठमाडौंबाट आइतबार बिहानै पोखरा ओर्लेका उनीहरु सिधै २० किलोमिटर परको धम्पुस उक्लिए। धम्पुस अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने मुख्य प्रवेशद्वार मानिन्छ। पोखराबाट धम्पुससम्म गाडीका उक्लेका उनीहरु धम्पुसबाट धितालतिर मोडिए अनि अस्तामसम्म हाइकिङ गरे। करिब अढाईघण्टाको पैदल यात्रा गरेर ती पाहुना अस्ताम ओर्लिए।  

हरियाली डाँडाकाँडा, वस्ती, वनजंगल, खोलानाला नियाल्दै कूटनीतिक नियोगका पाहुना साढे सातकिलोमिटर दूरी पुरा गरेर अस्ताम पुगेका थिए। अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा खाना खाएर पोखरा नियाले। बादल लागेकोले पाहुनाले लुकेको हिमाल देख्न त पाएनन, तर हरियाली वनजंगल, बस्ती, खोलानाला नियाल्न पाउँदा भने उनीहरु औधि खुसी थिए।  

कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरुको एकदिने हाइकिङ आयोजना गर्नुको उद्देश्य थियो– अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवस। त्यही अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरु पोखरा आएका हुन्। कम्तिमा दुइदिन पोखरामा रहने ती पाहुनाले पोखरा क्षेत्र घुमफिर गर्ने, फेवातालमा डुंगा सयर गर्ने कार्यक्रम रहेको पर्यटन बोर्डले बताएको छ। उच्चपदस्थ पाहुनाको यो भ्रमणले पोखरामा पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने व्यावसायीको अपेक्षा छ।  

पर्यटन बोर्डका अनुसार नेपालका लागि इजरायलका राजदूत हनान गोडर, सार्क महासचिव गोलाम सरवर, नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिराना, नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, भारतीय राजदूतावासका काठमाडौं नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, यूएसएआईडी, यूएनडिपी, यूएनएफपीए लगायतका निकायका प्रमुख र उच्च पदस्थ कर्मचारी हाइकिङमा सहभागि भएको बोर्डका पोखरास्थित निमित्त प्रमुख नवीन पोखरेलले जानकारी दिए। 

हाइकिङ नगएपनि पोखरामा हुने अरु कार्यक्रममा सहभागि हुन नेपालस्थित चिनियाँ राजदूत छन सोङ पनि आएका छन्। आइतबारदेखि सुरु भएको तीनदिने कार्यक्रममा सहभागि हुन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्साल पनि पोखरा आउने तालिका रहेको पोखरेलले बताए।  

‘अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवस पारेर कार्यक्रम गरेका हौ। यसमा उच्च पदस्थ कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी आउँदा यसले पर्यटन क्षेत्रको प्रर्वद्धन हुने अपेक्षा गरेका छौं,’ पोखरेलले भने, ‘पाहुनाले हाइकिङ गर्दै आसपासको दृष्य नियाल्न पाए । उनीहरुले तस्बिर कैद गरे। त्यही तस्बिर सामाजिक सञ्जालमा राख्दा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ।’ 

उच्च पदस्थ पाहुनाको भ्रमणले पोखरा क्षेत्रको मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन हुने पनि उनले बताए।  बोर्डका अनुसार नेपालमा पर्यटक आगमन हुने प्रमुख मुलुकमध्ये पहिलो नम्बरमा भारतीय धेरै छन। त्यसपछि अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बंगलादेश लगायतका मुलुकका पाहुना बढी आउँछन। ‘उच्च पदस्थ पाहुनाले सामाजिक सञ्जालमा राखेको एउटै फोटो नेपालको पर्यटन प्रवद्र्धनका लागि काफि हुन्छ। उनीहरुको भ्रमणले यो क्षेत्र घुमघामका लागि उपयुक्त, सुरक्षित रहेको सन्देश प्रवाह हुनेछ,’ पोखरेलले भने, ‘यसले पोखरा क्षेत्रप्रति पाहुनाको सकारात्मक धारणा पनि बनाउनेछ।’

पाहुनाहरुसँगै सहभागि पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीका अनुसार अढाई घण्टाको हाइकिङले पाहुना निकै नै खुसी भएका थिए । ‘मौसमले पनि साथ दियो, खासै गर्मि पनि भएन। पाहुना निकै नै खुसी भए,’ पन्थीले भने, ‘वनजंगल, बस्तीको हरियाली दृष्यमा रमाउँदा पाहुना निकै नै रमाए।’ पन्थीका अनुसार पाहुनाले हाइकिङ गरेको उचाइँबाट धिताल, धम्पुस, मर्दीको फाँट, ल्वाङघलेलका बस्ती देखिन्छ। अरुबेला हिमाली दृष्य देखिने ठाउँ भएपनि बादलले गर्दा हिमाल देख्न नपाएको उनले बताए।

‘मनास्लुदेखि धवलागिरीसम्मको हिमाली श्रृंखला देख्न सकिने ठाउँ हो। तर, बादलले गर्दा देख्न पाइएन। तर, ग्रामिण र हरियाली बस्ती तथा वनक्षेत्र घुम्न पाउँदा साह््रै खुसी थिए,’ उनले भने। अझ ठाउँठाउँमा पञ्चेबाजा बजाउँदै पाहुनालाई सेलरोटी र गुन्द्रुकको स्वाद चाख्न पाउँदा पाहुना झनै रमाएको उनले बताए।  

टानका अध्यक्ष धर्मराज पन्थीका अनुसार अन्नपूर्ण दिवसको मूल कार्यक्रम भने सोमबार हुनेछ। सोमबार विशिष्ट पाहुनासहित गण्डकी प्रदेश सरकार, पोखरा महानगरका प्रमुख र प्रतिनिधिसहित पर्यटन क्षेत्रका संघ, संस्था, पर्यटन व्यवसायीको उपस्थितिमा पोखरा क्षेत्रकै हाइकिङ गराइनेछ। ‘पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि उच्चपदस्थ पाहुनाको यो आगमनले विशेष अर्थ राख्छ,’ पन्थीले भने, ‘यसले साहसिक पर्यटन प्रवद्र्धनमा थप भूमिका निभाउनेछ। अन्नपूर्ण क्षेत्रको पहिचान थप फराकिलो बनाउने प्रयासमा हामी जुटेका हौ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि विशिष्ट पाहुनाले गरेको हाईकिङले गण्डकी प्रदेशको पर्यटनमा विशेष महत्व राख्ने बताउँछन। ‘राजदूत र विशिष्ट पाहुनाको भ्रमणले गण्डकी क्षेत्रको प्रवद्र्धन भएको छ। आगामि दिनमा थप पाहुना भित्र्याउन सहज हुनेछ,’ श्रेष्ठले भने, ‘पाहुनाको भ्रमणलाई आधिकारिक मानेर अरु पर्यटक आउन उत्साहित हुनेछन।’ पोखरा र आसपासका क्षेत्रमा पाहुना भित्र्याउनका लागि यस्ता गतिविधि आवश्यक रहेको बताए।  

अन्नपूर्ण दिवस विश्वका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहण गरिएको पहिलो हिमाल हो। यसबाट नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ। सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलोपटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विषेश रुपमा मनाउन थालिएको हो।  

प्रकाशित: २० जेष्ठ २०८१ १५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App