१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

टूला दरका भारतीय नोट नसाटिँदा झन्झट

पोखरामा भारतीय नोटबारे आयोजित छलफल। तस्बिर: नागरिक

भारतीय ठूला दरका नोटको प्रयोगलाई वैधानिकता दिन यहाँका व्यवसायीले माग गरेका छन्। ठुला दरका भारतीय नोट नचल्दा पर्यटकीय गन्तव्यमा घुम्न आएका भारतीय पर्यटकलाई मर्का परेको व्यवसायीको भनाई छ।

पर्यटकीय सहरमा भारतीय नोटले गर्दा समस्या निम्तिएको भन्दै पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रियामा व्यवसायीले भारतीय ठुला दरका नोटको व्यवस्थापन हुनुपर्ने बताए।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भारतीय ठूला दरका नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने, अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने र व्यवसायीहरुसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने बताए। ‘ठूला दरका भारतीय नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएका छन्,’ उनले भने, ‘नेपाल भित्रिएका भारतीय पर्यटकले चाहे जति खर्च गर्न समेत सकेका छैनन्। कम्तीमा पर्यटकले खर्च गर्न पाउने व्यवस्था मिलाउनुपर्छ।’

अध्यक्ष प्रजापतिले नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नचलेकै कारण आर्थिक कारोबारमा झन्झट आइपरेको बताए। ‘यहाँ भारतीय नागरिकको एटीम, भिसा र मास्टर कार्ड पनि मुस्किलले चल्छ,’ उनले भने,‘ एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन। त्यसैले अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगई सुख छैन।’

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले घरघरमा थन्किएका भारतीय नोट व्यवस्थापन गर्न राष्ट्र बैकले नै पहल गर्नुपर्ने बताए। वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ठूला दरका भारतीय नोटहरु सकेसम्म प्रयोगमा नल्याउन व्यवसायीहरुसँग आग्रह गरे।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी उपाध्यक्ष कृष्ण आचार्यले नेपालका केही निषेधित क्षेत्रमा जान विदेशी पर्यटकले अमेरिकी डलरमै प्रवेश अनुमति शुल्क बुझाउनुपर्ने तर सजिलै डलर साट्न नपाउँदा समस्या भएको सुनाए। उनले डिजिटल भुक्तानीलाई छिटो व्यवस्थित गर्नुपर्ने माग राखे।

नेपाल बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष सूर्य रोकाले पनि भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताए। नेपाल हुँदै नक्कली नोटहरु भारत भित्रने आशंकासँगै भारतले त्यो नीति लिएको उनको भनाइ थियो।

नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले आपूर्ति बढी हुँदा बजारमा भारतीय रुपैयाँ छ्यापछ्याप्ती भएको बताएकी थिइन। ‘भारतीय पर्यटकको आवागमन बढेको छ, सीमा क्षेत्रमा त क्यासिनो पनि खुलेका छन्, त्यहाँबाट भारतीय रुपैयाँ पर्याप्त मात्रामा भित्रिएको छ,’ उनले भनिन्। जोशीले भारतकै चाहनाका कारण नेपालमा ठूला भारतीय नोट प्रचलनमा नआएको बत्ताइन। ठूला नोट प्रचलनमा ल्याउनको लागि भारतसँग सरकारले नै कूटनीतिक पहल गर्नुपर्ने उनको धारणा थियो। अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आउने हो भने भारतीय नोटको समस्या कम हुने उनले बताइन्।

निर्देशक जोशीले एक सय रुपैयाँभन्दा ठूला आकारका भारतीय नोटहरु साटिँदैन भन्ने थाहा हुँदाहुँदै पनि प्रचलनमा रहेको बत्ताइन। ‘भारतले नै नलिने पैसा राष्ट्र बैङ्कले झनै लिँदैन। यसमा हाम्रो पनि दोष छ,’ उनले भनिन। नेपाल राष्ट्र बैङ्कले डिजिटल पैसा प्रयोगमा ल्याउने तयारी थालेको र विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित गरिने पनि उनले जानकारी दिइन्।  

प्रकाशित: ११ असार २०८० १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App