नेपालले नयाँ संविधान जारी गर्दा आफू अनुकूल नगरेको झोँकमा भारतले अघोषित नाकावन्दी गर्यो । भारतको त्यो कदमको विरोध गर्दै उसबेला केपी ओली निकै राष्ट्रवादी देखिए । यसले ओली र उनी नेतृत्वको दललाई राम्रै फाइदा भयो । लगत्तै निर्वाचनमा जनताले नेकपालाई दुई तिहाइ नजिकको बहुमत दिएर देश सम्हाल्न सिंहदरबार पठाए ।
संसद् भवन हुँदै बालुवाटार छिरेपछि ओलीलाई बालुवाटारमाथिको आकाश सपाट खुलेको लाग्यो । त्यो खुला वातावरणले ओलीको हृदयको द्वार खुल्यो । त्यहाँ एक खाले उज्यालो प्रवेश गर्यो । ओलीहृदयको आकाश पनि बाहिरी आकाश झैँ फराकिलो दृष्टिगोचर हुन्थ्यो । हृदयको उज्यालो अनुहारमा पोतेर आँखाले टाढा कतै हेर्दै मौनतामै टोलाउँदै बसिरहेका थिए उनी । यस्तो देखिन्थ्यो– मानौँ, कुनै साधु साधनामा ब्रह्मलीन छन् ।
आँखा नचिम्लेरै नेपाललाई भारत हुँदै युरोप अमेरिकासँग जोड्ने र त्यहाँको विकास सर्लक्कै नेपाल छिराउने इरादा ओली मनमा सवार भयो । रातारात पानीजहाज समुद्रको पानीमा छाल मार्दै कोसी, नारायणी र वागमती हुँदै नेपाल छिरे र राजधानी पसे । भारतबाट उकालो र चीनबाट ओरालो लागेर नेपालका डाँडाकाँडामा फन्का मार्दै रेल कुद्न थाले । खाल्टा पुरिएर सडक तेल घसेजस्ता चिल्ला देखिन थाले ।
जनता रोगको त्रास र भोकको अत्यासमा छट्पटिइरहेका बेला सिंहदरबारको कुर्सीमा बसेर कविता कोरल्न ओथारो बस्ने होइन । बूढो गोरुले भकारो ओगटेझैँ देशको सर्वोच्च कुर्सी ओगट्ने अनि जनतालाई आहतमा राखेर गीत सुसेलेर बस्ने ?
विदेशिएका नेपाली युवा देश फर्केर धमाधम गैँती, साबेल चलाउन थाले । बाँझा जमिनमा लहलह बाली झुल्न थालिहाल्यो । खाडीका तेलखानीको अनुभव सँगालेर फर्केका मजदुरले धमाधम ललितपुरदेखि दोलखासम्म पेट्रोलियम र ग्याँस निकालेर प्रशोधन गर्न थालिहाले । हिजो पानीका धारा पुग्न नसकेका घरका भान्सामै पाइपबाट ग्याँस पुगेको छ । भारत हुँदै धेरै देशले नेपालको विद्युत खरिदका लागि धमाधम बोलपत्र भरिरहेका छन् । हिमाली हिउँको शुद्ध पानी ‘हिमालयन प्योर वाटर’ का नाममा विश्व बजारका बडेबडे ‘सपिङ कम्प्लेक्स’मा धमाधम बिक्री भइरहेको छ । नेपालमा पर्यटकको भिड थाम्न नसकेर विभिन्न देशस्थित नेपाली दुतावासले अड्कलेर प्रवेशाज्ञा दिन थालेका छन् ।
बालुवाटार प्रवेश गरेपछिका केही दिन अचम्मै भयो । के दिन, के रात यस्तै यस्तै सपना शृङ्खलाबद्ध भएर आए । जागा हुँदा पनि र निदाउँदा पनि बारम्बार यस्तै दृश्य दोहोरिएपछि ओली महोदयलाई अहम् ज्ञान प्राप्त भयो । उनले देश समृद्धिको नयाँ शिखरमा पुगेको उद्घोष गर्दै राष्ट्रका नाममा सम्बोधन गरे ।
बालुवाटार प्रवेशको छोटो समयमै देशलाई समृद्धिको यो उचाइमा पुर्याउन सकेकामा ओली उत्फुल्ल बने । लामो यात्राको गन्तव्य नजिकै पुगेपछि बटुवाले मस्तको थकाइ मार्छ । आनन्द अनुभूत गर्छ । यही अनुभूति गर्दै गर्दा ओली मन कविहृदयमा परिणत भइहाल्यो । स्वैरकाल्पनिक र स्वप्नील भावजगत्मा ओलीको मन एकोहोरिन थाल्यो । तेस्रो विश्वको गरिब मुलुक एकाएक विश्वबजारमा विकसित देशसँग प्रतिस्पर्धा गर्न थालेको दृश्यले देशको कार्यकारी प्रमुख(प्रधानमन्त्री) आनन्दमग्न नहुने कुरै भएन । रातारात यतिका परिवर्तन गरी जनतालाई सुखसयल प्रदान गरेपछि सन्तोषको लामो स्वास फेर्नु स्वाभाविक थियो । उनले फेरे ।
आहतमा छट्पटाइरहेका जनतालाई आनन्दको राहत दिइसकेपछि कार्यकारीसँग खास धेरै जिम्मेवारी बाँकी रहँदैनन् । उनको कविहृदय मनसुनको मूल झैँ धाराप्रवाह बग्न थाल्यो । उनी समृद्धिका समृद्धशाली कविता लेख्न थाले । समृद्धिका कविताले बालुवाटार रसमय बन्यो । काव्यिक रसको आनन्द लिन बालुवाटारका रूखमा चराचुरुङ्गी र चउरमा मृगका हुल भुम्मिन थाले । यो दृश्य हेर्दै ओली रामराज्यको कलियुग शृङ्खला सिर्जना गर्न सकेकामा गदगद हुन थाले । केही संगीतकारलाई बालुवाटार बोलाएर आफ्ना गीतमा संगीत भर्न अह्राए । गायकगायिकालाई एक रात राजसी भोजन गराएर आफ्ना जादूयी शब्दमा स्वर भर्न लगाए । आदिकवि भानुले भनेझैँ अलकापुरीको झल्को कान्तिपुरी नगरीमा फेरि पनि देखिन थाल्यो ।
हिजो लामो समय सत्तामा चढाउँदा पनि केही लछारपाटो नलाएपछि एउटै चुनावमा डङ्ग्रङ्ङ लडाइदिए जनताले काँग्रेसलाई । केही पुरानो ब्याजले बाँचेका र केही नयाँ विचार रोपेर हुर्किएकाहरू काँग्रेसबाट पनि छिरे संसदभवन । सो पार्टीबाट संसद् छिर्नेमा राजाका विरुद्ध खुल्ला मञ्चमा हुँकार गरी गणतान्त्रिक छवि बोकेर उदाएका गगनकुमार थापा पनि छन् । काँग्रेस निर्वाचनबाट पछारिएर नेकपा उचालिएपछि पनि दुई तिहाइ निकटको बहुमतसहितका बलिया प्रधानमन्त्रीलाई यिनै थापाले निरन्तर टक्कर दिँदै आएका छन् । बहुमुखी प्रधानमन्त्रीका अनेक तिकडमबाजीलाई ‘जस्तालाई तस्तै’ गर्न यिनी माहिर छन् । यी थापा महोदय मनमनै सोच्छन् सायद– “प्रधानमन्त्रीलाई यसरी नै टक्कर दिँदै जान सके भोलि आफ्नो पनि यस्तै बलियो प्रधानमन्त्री बन्ने मौका जुर्छ ।”
संसद्मा र खुला मञ्चहरूमा प्रधानमन्त्रीसँगको यिनको टक्कर सुन्न लायक हुन्छ । बालुवाटारमा कविता लेखेर समृद्धि फुलाउने प्रधानमन्त्रीलाई एक दिन संसद्मै कवितामै जवाफ फर्काए थापा काजीले ।
बलिया प्रधानमन्त्रीका पछाडि ठूलो जत्था छ । यही जत्थालाई अरिंगाल जत्थाको नामले सुशोभित गरेका छन् ओलीले । सेना–प्रहरीमा जस्तै विभिन्न ब्रिगेड तयार गरेका छन् ओलीले अरिंगाल जत्थामा । सेना–प्रहरीको गठनसँग लगभग मेल खाने भएकाले जनमानसले यसलाई अरिंगाल सेनाका नामले पुकार्न थालेको धेरै भयो । आफू सबैभन्दा माथि हुँ भन्ने देखाउनकै लागि पनि ओलीले आफूविरुद्ध आइलाग्नेमाथि अरिंगाल सेना झोसिदिन्छन् । अरिंगाल सेना यसरी तयार थियो कि यो बोलीका विरुद्ध बोली, गोलीका विरुद्ध गोली वर्षाउन पोख्त थियो । आफ्ना बालुवाटारे अद्वितीय कवितालाई अवमूल्यन गरी बालकविता सुनाएका थापा काजीविरुद्ध संसदमै कविता बोकेरै उभ्याए ओलीले एक अरिंगाल अधिकृत(नवराज सिलवाल)लाई ।
हिजो प्रहरी संगठनमा बन्दुकको राम्रै निशाना लगाएर आएका सिलवालले मात्रै थापाकाजी माथि सही निशाना लगाउन सक्ने ओलीको बुझाइ थियो । त्यसैले सिलवाललाई कवितारूपी बन्दुक बोकाएर सदनमा छिराए ओलीले । सिलवालले यो जिम्मेवारी बडो कुशलतापूर्वक निर्वाह गरे । कविताको बारुदले विपक्षी थापा काजीलाई तर्साउन सफल भएकामा ओली महोदयले सिलवाललाई बालुवाटारमै बोलाएर स्याबासी दिएको सुनिन्छ ।
जनताको काम गर्नका लागि बालुवाटारमा पुगेकाहरू सपनामा रुमल्लिएर देश बर्बाद बनाउन कम्मर कसेर लागेका छन् । एकादुई राष्ट्रियताका तुरुप फालेर दुनियाँको आँखामा भ्रम छरिदिन्छन् उनी । रमिते दुनियाँ पक्ष विपक्षमा बाँडिन्छ ।
जनताको काम गर्नका लागि प्रमुख कार्यकारीका रूपमा बालुवाटारमा पुगेकाहरू सपनामा रुमल्लिएर देश बर्बाद बनाउन कम्मर कसेर लागेका छन् । एकादुई राष्ट्रियताका तुरुप फालेर दुनियाँको आँखामा भ्रम छरिदिन्छन् उनी । रमिते दुनियाँ पक्ष विपक्षमा बाँडिन्छ । आरोप प्रत्यारोपका स्तरहीन बहसमा उत्रन्छ । कार्यकारी बालुवाटार बसेर बकम्फुसे कल्पना गर्दै कविता नामका केही पङ्क्ति कोर्न थाल्छन् वा कोर्न लगाउँछन् । अरिंगाल सेनाबाट संरक्षित मिडिया ठूल्ठूला अक्षरमा कविता छाप्न तँछाडमछाड गर्छन् । ओली उर्दी जारी गर्छन् । कविता ‘चेन अफ कमाण्ड’ लाई शिरोधार्य गर्दै अरिंगाल सेनामार्फत् देशभर प्रशंसा बटुल्दै दौडिन्छ ।
कविको भूमिकामा प्रधानमन्त्रीको उदयले थापाकाजीमा छटपटी पैदा हुन्छ । जिम्मेवारीभन्दा टाढा भागेर कविता लेखेर केके न गरेँ भनी नाक फुलाएर बस्ने ? यो प्रश्न दिमागमा फन्फनी घुमेपछि ओलीको होचो कद देखाउने उद्देश्यले बालकविता लेखेर संसद्मा प्रस्तुत गरिहाल्छन् थापाकाजी । संसद्मा विधान निर्माणको छलफल गर्नुपर्ने युवा पुस्ताको प्रतिनिधि काजी आफूलाई ओलीझैँ बहुमुखी देखाउने लोभमा कविताको हुर्मत काढ्छन् ।
ए ! बालकविता सुनाएर सिंगो देशको महानायक (अरिंगाल सेना ओलीलाई यसै भन्छ) को संसद्मा मानमर्दन गर्ने ? हिजो बन्दुक समाएका हातले तत्काल कविता कोरेर थापाकाजी विरुद्ध जाइलाग्न पुगिहाले सिलवाल ।
काव्य सिर्जना आफैँमा कठिन काम हो । लामो साधनामार्फत् नवीन विचार प्रक्षेपण गरी कवि, कलाकारले सिंगो युगलाई निर्देश गर्दै आएको काव्यिक इतिहासले देखाउँछ । त्यसैले त भनिन्छ– पहिले कवि कल्पना गर्छ अनि वैज्ञानिक आविष्कार गर्छ । सिर्जनकर्ममा अनवरत साधना गर्नेहरू युगौँयुग बाँच्ने यसैले हो । यो कठिन कार्य तिनै अथक साधकहरूको वशको कुरो हो । यो ती कविहरूकै क्षेत्र हो ।
ओली, थापा वा सिलवाल, कविता जसले लेखे पनि हुन्छ । तर जनताको सेवा गर्ने कुर्सीमा बसेर कविता लेख्न पाइँदैन र मिल्दैन । देश विकासका लागि वैज्ञानिक नीति, कार्यक्रम बनाउने र कार्यान्वयनमा अहोरात्र खट्ने हो प्रधानमन्त्री । काव्यसाधनामा जीवन समर्पण गरेका स्रष्टाको सिर्जनकर्मको मूल्य स्थापित गरेर काव्यप्रतिको मोह प्रदर्शन गर्ने हो प्रधानमन्त्रीले । जनता रोगको त्रास र भोकको अत्यासमा छट्पटिइरहेका बेला सिंहदरबारको कुर्सीमा बसेर कविता कोरल्न ओथारो बस्ने होइन । बूढो गोरुले भकारो ओगटेझैँ देशको सर्वोच्च कुर्सी ओगट्ने अनि जनतालाई आहतमा राखेर गीत सुसेलेर बस्ने ? यो पटक्कै मिल्दैन । शासकको विपरीत बुद्धिले देश विनाशतर्फ अग्रसर हुन्छ ।
आजसम्म हेपिएका वाङ्मयका साधकलाई सम्मानपूर्वक बाँच्न पाउने कानुन बनाउने संसद्मा कविताकै हुर्मत काढ्नु दुःखद् कुरा हो । थापाले ओलीको सातो खान कवितामाथि कुल्चिनु हुँदैनथ्यो । थापालाई संसद्मा उभिएर तथ्यपरक भाषण गरेकै सुहाउँछ । कविको क्षेत्रमा यसरी अतिक्रमण नगरेको भए उत्तम हुन्थ्यो ।
फेरि हिजो देशको सुरक्षाको बागडोर सम्हालेका सिलवाललाई कवितामोह रहेछ । अवकाशप्राप्त जीवनमा पेन्सन डकार्दै एकान्तमा कवितासँग रमाउने अवसर थियो त नेताको दैलो धाउँदै संसद् किन छिर्न कसले भन्यो ? संसद्मा स्तरहीन शब्द थुपारेर कविताका नाममा प्रस्तुत गर्दै सिंगो काव्य क्षेत्रको मानमर्दन गर्ने अधिकार कसले दियो ? काव्य साधना खेलाँची होइन माननीयज्यू !
माथिका यी घटनाले नेपाली राजनीतिकर्मीहरूको समग्र कलाक्षेत्रलाई हेर्ने दृष्टिकोण छर्लङ्ग पारेका छन् ।
संसदमा पक्ष विपक्षमा स्तरहीन जुहारी खेलिँदै आएका उदाहरण प्रजातन्त्र प्ुनस्र्थापनापछि हामीले प्रशस्तै देखेका छौँ । संसद्मा सांसद भेडाबाख्राकै हैसियतमा किनबेच भएको यथार्थ पनि ताजै छ । जुन जिम्मेवारीका लागि जनताबाट चुनिएर गएको हो, त्यो जिम्मेवारी एक इन्च पनि पुरा गर्न नसक्ने अनि साहित्यको सार्वकालिक कविता विधाको खिल्ली उडाउने ? यो कसरी सह्य हुन सक्छ ? काव्य रचना र काव्यसाधना भुलभुलैयाको विषय होइन । यो उच्च र कलात्मक जीवनदृष्टि र युगचेतनाबाट प्राप्त हुने चिज हो ।
ओ कवि ! कथित प्रज्ञा प्रतिष्ठानको कठपुतली बनेर भत्ताका लोभमा प्रायोजित अक्षर लेख्न छोडिहाल । नारा पोतेर बेरङ्गी बन्दै गएको कवितामा इन्द्रेणी रङ भर । प्रिय कवि ! तिमीले नेपालजस्तै नेपाल जोगाउनु छ । नेपालीजस्तै नेपाली संस्कृति कायम राख्नु छ ।
देशको व्यवस्थापिका र कार्यपालिका नै कर्तव्यविमुख भएर काव्यको अवमूल्यनमा लाग्नु निकै लाजमर्दो विषय हो । यसको सिको गर्दै सामाजिक सञ्जालका भित्ताभरि कविता भन्दै शब्दको फोहोर पोतिएको देखिन्छ आजभोलि । सस्तो लोकप्रियताका लागि पत्रकार र साहित्यकार नै बन्नुपर्छ भन्ने गलत मानसिकता हामीकहाँ बस्यो ।
व्यापारी राम्ररी व्यापारमै डुब्ने, कर्मचारी तोकिएको काममा निमग्न हुने, चिकित्सक चिकित्सा क्षेत्रकै अनुसन्धानमा निमग्न हुने, इन्जिनियर योजना निर्माणमा व्यस्त हुने, साहित्यकर्मी साहित्य सिर्जनामा नै लाग्ने हो । जोजो जुनजुन पेशामा आवद्ध छन् त्यही पेशामा दत्तचित्त भएर लाग्ने हो भने देशमा समृद्धि आउँछ । जुनसुकै पेसामा लागेर निष्ठापूर्वक गरेको कार्यले व्यक्ति सफल हुन सक्छ । कामले नै नाम प्राप्त हुने हो । नामको लोभमा फसेर ‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’तिर कोही पनि लाग्नु हुँदैन । देशको प्रधानमन्त्रीलाई नै सस्तो लोकप्रियता कमाउनु छ ।
ओलीको मूल्याङ्कन प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरेका आधारमा हुन्छ न कि कविता कोरेका आधारमा । देशमा पद्धति बसाउन जानेहरूले नै पद्धतिको धज्जी उडाएपछि अराजकता फैलिन्छ । अहिले अनलाइन मिडिया, युट्युब र सामाजिक सञ्जालभरि त्यही अराजक भिडको राज चलिरहेको छ ।
राज्यले साहित्य, संगीत र कलाको क्षेत्रमा लाग्नेहरूका लागि विशेष योजना कहिल्यै ल्याउन सकेन । एकेडेमी सधैँ कार्यकर्ता भर्ती केन्द्र बन्यो । वाङ्मयका क्षेत्रमा जीवन अर्पेका स्रष्टाको सिर्जनाको मूल्य छैन । राजनीति गर्नेहरूले यस क्षेत्रको हित त गरेनन् गरेनन् कमसेकम यसको अवमूल्यन नगरिदिए सिर्जना बाँचिरहन्थ्यो । वाङ्मयसँगै संस्कृति जीवन्त भइरहन्थ्यो ।
प्रिय कवि ! राज्यले हिंस्रक बनेर कवितामाथि आक्रमण गरिरहेका बेला कविताको फूल जोगाउनु छ तिमीले । सिंहदरबार र बालुवाटारबाटै काव्यमाथि धावा बोलिरहँदा तिनको होस खुल्ने कविता जन्माऊ कविज्यू । हृदयका भावहरू छचल्काइदेऊ र करोडौँ नेपालीको रगतमा घोलेर नसानसामा बगाइदेऊ कविता । फेरि एकपटक कवितालाई गाउँबेसी गराऊ । गीतलाई भञ्ज्याङ र देउरालीमा गुन्जाइदेऊ ।
सिंहदरबार र बालुवाटारबाटै काव्यमाथि धावा बोलिरहँदा तिनको होस खुल्ने कविता जन्माऊ कविज्यू हृदयका भावहरू छचल्काइदेऊ र करोडौँ नेपालीको रगतमा घोलेर नसानसामा बगाइदेऊ कविता ।
प्रिय कवि ! यो वैश्विक युगमा तिमी नै एक हौ, जो भावनामा जीवन बाँचिरहेको छ । पैसामुखी समयमा गरिब राज्यको सत्ता दाताले चलाउँछन् कविज्यू । कुर्सीका लागि मरिमेट्ने र दातासँग लम्पसार पर्नेहरूले देशको संस्कृति, वाङ्मय र कला क्षेत्रमा पेट्रोल छर्केर आगो झोसिरहेकै हुन्छन् । यस्तो बेलामा तिमी नै एक हौ कवि जसले पुर्खाको संस्कृति साना बाबुनानीका मुटुमा रोपिदिन सक्छौ, हुर्काइदिन र फुलाइदिन सक्छौ । तिमी नै हौ कवि जसको कविताले बागमतीजस्तो फोहोर समाजलाई प्रशोधन गरेर शुद्ध पारिदिन सक्छ । दुर्गन्धित हिलोमा पनि कमल फुलाइरहने तिमी आज फेरि आफैँभित्र फुल्नु छ । प्रतिकूल राज्य र समाजका बाबजुद पनि कविताको खेती गरिरहनु छ । भावनाका फूल फुलाएर समाजको दुर्गन्ध प्रतिस्थापन गरी सुगन्ध छर्नु छ ।
प्रिय कवि ! यो तपोभूमिमा कालजयी रचनाका लागि फेरि एकपटक तपस्यामा लीन होऊ तिमी । साधनामा निमग्न बन । सत्ताको कुर्सी डगमगाइरहने यो देशमा तिमी नै हौ जसले मुटुमा माटोको माया अटल राख्न सक्छ । सुस्तादेखि सगरमाथा तिम्रै कविताको भावनाले जोगाउने हो । यहाँ सत्ता त स्वात्तै बगिसक्यो । ह्वास्सै गन्हाइसक्यो मानवीय सभ्यता । युगलाई गिज्याइरहेको यो शासनपद्धतिलाई सही बाटोमा हिँडाउन तिम्रा कविताका एक एक पङ्क्तिले निर्देशन दिनुपरेको छ ।
ओ कवि ! तिमी दलगत झन्डा च्यातेर मुटुमा देश बोकेर निस्क अब । युवा विदेश लखेटेर राज्यले बाँझा बनाएका देशका कुनाकन्दरामा कविता खेती गर्नु छ । तिमीले नै देश जोगाउनु छ । माटाको सुगन्ध बोकेको संस्कृति जोगाउनु छ । आफ्नो मौलिक जीवनशैली बचाउनु छ । खासमा जिन्दगीजस्तो जिन्दगी बाँच्न आम नेपालीलाई तिमीले नै सक्षम बनाउनु छ ।
ओ कवि ! कथित प्रज्ञा प्रतिष्ठानको कठपुतली बनेर भत्ताका लोभमा प्रायोजित अक्षर लेख्न छोडिहाल । नारा पोतेर बेरङ्गी बन्दै गएको कवितामा इन्द्रेणी रङ भर । प्रिय कवि ! तिमीले नेपालजस्तै नेपाल जोगाउनु छ । नेपालीजस्तै नेपाली संस्कृति कायम राख्नु छ । त्यसका लागि कविताजस्तै कविताको रक्षा गर्नु छ । सिंहदरबारबाटै क्षेप्यास्त्र प्रहार भइरहेका बेला संवेदनाको कवच पहिरिएर निश्छल भावनाको दुर्ग निर्माण गरिहाल । प्रतिरक्षात्मक अवस्थाको कवितालाई कविताकै हतियारले शत्रुसँग लड्न सक्षम बनाऊ ।
काव्यले आफ्नो मूल्य गुमायो भने जीवनमूल्य हराउँछ । जीवनको मूल्यका लागि प्रकृतिको मूल्य रहनुपर्छ । प्रकृतिको मूल्य स्थापनाका लागि कविताको मूल्य स्थापित हुनुपर्छ । अधर्मी राज्यले सङ्गठित आक्रमण गरेका बेला तिमीले कविताको धर्म जोगाउनु छ । प्रिय कवि ! तिमीले इतिहासको कठिन मोडमा उभिएर अस्तित्वरक्षाका लागि भेन्टिलेटरमा रहेको कवितामा जीवन भर्नु छ । कविता बाँचेरै युग बाँच्छ, मानव मूल्य बाँच्छ र इतिहास बाँच्छ ।
प्रिय कवि ! आज कवितालाई बचाऊ । आज कविता बँचायौ भने भोलि कवितासँगै तिमी युगयुग बाँचिरहनेछौ ।
प्रकाशित: ३० जेष्ठ २०७७ १५:५५ शुक्रबार