वसन्त यामको उत्तरार्ध। न गर्मी न जाडो। साँझ छिप्पिँदै थियो। सबैजना भान्छाकोठामा ओर्लियौं।आमा कामधन्दामा व्यस्त हुनुहुन्थ्यो। वातावरण सुनसान बन्दै थियो। यदाकदा हावा चल्दा मन्दिरका ससाना घण्टी बजेको आवाज सुनिन्थ्यो। भुइँतलाको दुईकोठे सानो घर थियो हाम्रो। एउटामा भान्सा, अर्काेमा परिवारका चारजना सुत्थ्यौं लाइनै। दुईचार दिनयता बुबाको अनुहारमा मलिनता छाएको आभास हुन्थ्यो।
खाना खाइवरी सुत्ने तर्खरमा थियौं। ‘भोलि बिहान छिट्टै उठ्नु छ राजु सुत। भाइलाई पनि छिटो उठाउनू अनि आफू पनि पढ्नू भाइलाई पनि पढाउनू,’ आमाले भन्नुभयो, ‘के गर्नु बाबु, गरिबको कोखमा जन्मियौ। घरको काम पनि सघाउनुपर्छ। हामी बिहानै खेतमा जानुपर्छ।’
उहाँको कुरामा चित्त बुझेन। भनें, ‘ह्या आामा पनि, के गरिबगरिब भनिराख्या भन्या?’ कुरा टुंग्याउन बुबाले भन्नुभयो, ‘लल सुत अब।’
म अलि बुझ्ने भइसकेको थिएँ। आमाबुबाको दुःख नजिकबाट देखेको थिएँ। ठूलो भएपछि कमाएर आमाबुबालाई सुखसँग राख्ने चाहना सगरमाथा भएर उभिन्थ्यो। सानै भएकाले केवल सपना मात्र देख्ने सामर्थ्य थियो ममा। विपना तुल्याउने बेला आइसकेको थिएन।
‘आज राम्ररी पढे भोलि ठूलो मान्छे बन्न सकिन्छ। हामीले जस्तो दुःख पाउनुपर्दैन,’ बुबाको अर्ती थियो यो। बुबाको अर्ती आत्मसात् गर्दै पढाइ जारी थियो मेरो। कापीकलमको खाँचो परिरहन्थ्यो। बुबालाई भन्ने हिम्मत हुन्नथ्यो। डरले होइन, बुवासँग सधैं पैसाको खाँचो हुन्छ भन्ने बुझाइले।
भाइ सुजन निद्रामा मस्त। म पनि निदाउने तरखरमा। ‘साहुको खेत कमाएर नि वर्षभरि गुजारा नचल्ने भयो। बाबुहरूलाई पनि कसरी पढाउने भइसक्यो। ज्यामी काम पनि पाउनै मुस्किल छ। गुजारा चलाउनै कठिन हुने भो। विदेशतिर जाने विचारमा छु लक्ष्मी।’ बुबाले आमासँग भन्नुभयो।
‘होइन, यतै केही गरिहालिन्छ नि ! किन जानुपर्यो ?’ आमाले जवाफ दिनुभयो।
‘होइन, हामीले त दुःख पायौं। छोराहरूका लागि केही गर्नैपर्छ। यिनीहरूले पनि हामीले जस्तै दुःख नपाऊन्। ठूलो बाबु ९ कक्षामा पुगिसक्यो। भोलि कलेज पढाउनुपर्ला। उनीहरूलाई पनि अरूका छोराछोरीले जस्तै राम्रो लगाउने, मीठो खाने रहर होला।’
‘तपाईं विदेश जनुभयो भने हामी तीनजना मात्र कसरी बस्नु ? बाबा भनेपछि हुरुक्क हुने सुजनलाई कसरी सम्झाउनु ?’ आमाबुवाको वार्तालाप सुनेर भावुक भएँ। निद्रा पुरै भाग्यो।
‘होइन बुढी, बाबुलाई फकाएर राख्नू। ठुले बुझ्ने भइसक्यो। उनीहरूकै लागि नकमाईकन हुन्न। यता काम छैन। उता कामैकाम। दुई वर्ष मात्र विदेश बस्छु म। मेरो बाटोमा आँसुको पर्खाल नलगाऊ।’ आमाको जवाफ थियो, ‘अब के भन्नु त, आफैं निर्णय गर्नुस्।’ अहिलेसम्म बुबाको काखमा हुर्केका हामी। एकदिन पनि बुबाबाट टाढिएका थिएनौ। आमाबुबाको कुराकानीले मन अमिलो बनायो। मनका अनेक तर्कनाले निद्रादेवी पनि टाढिइन्। अघिसम्म धिपधिप गरिरहेको टुकी पनि निभ्यो। ‘बुबा एक्लै परदेशमा गएपछि हामी कसरी बस्ने होला। हामी त तीनजना छौं, बसौंला। तर बुबा त एक्लै...!
अन्ततः बुबा भारत जानुभयो। उहाँ जाने दिन बुबाको अनुहारमा एकटकले हेरिरहें।
‘के हेरेको त्यसरी ? म छिट्टै आइहाल्छु नि !’ बुबाले भन्नुभयो।
‘बा हामी त यहाँ तीनजना छौं। जसरी भए पनि मन बुझाएर बसौंला। तपाईं एक्लै बिरानो सहरमा कसरी बस्न सक्नुहोला ? मनभरि यस्तै कुरा खेलिरहेछ। हिजो राति तपाइँहरूको कुरा मैले पनि सुनेको थिएँ।’
उहाँले ‘छोरो ठूलो भएछ लक्ष्मी’ भन्नुभयो। मेरो कुराको कुनै जवाफ नदिएर उहाँ ‘म सहरमा तिम्रा लागि पापा लिन जान लागेको’ भनेर भाइलाई फकाउन थाल्नुभयो। उहाँ ओझेल नपरुन्जेल हामीले हेरिरह्यौं।
बुबा परदेसिएको महिनौं बित्दा पनि हाम्रा ओठमा हाँसो थिएन। खानेकुरा खाँदा पनि सधैं नरमाइलो अनुभूति भइरह्यो। आमाको अनुहार सधैं मलिन। भाइ हर्दम बालाई सम्झेर रुन्थ्यो।
‘बाबु ! राम्रोसँग पढ,’ आमा र म भन्थ्यौं। ‘बा आएपछि मात्र पढ्छु,’ भाइको जवाफ हुन्थ्यो। यता साहुको खेत कमाइरहेकै थियौं। काममा खटिने आमा एक्लै। धपेडीले एकपल्ट बिरामी पनि पर्नुभयो। धन्न, पल्लाघरकी शान्ति काकीले सघाउनुभयो।
बुबा भारत पस्नुभएको पनि सात महिना लागिसकेको थियो। मंसिरको तेस्रो साता चलिरहेको थियो। विद्यालयमा मेरो अन्तिम परीक्षा पनि। मनलाई दह्रोसँग बाँधेर परीक्षा सिध्याएँ। पुस लाग्यो। बुबा परदेसिएदेखि दुईवटा मात्र चिठी आएका थिए। बुबाबिनाको हाम्रो पहिलो दसैं नरमाइलो भएको थियो। तिहारमा उहाँ नहुँदा ढकमक्क फुलेका सयपत्री, गोदावरी, मखमली पनि अर्थहीन भए हाम्रा लागि। साँच्चै नै दसैं र तिहार नुनबिनाको तरकारीजस्तै खल्लो भएर बिते। सकेसम्म एक वर्षपछि आउँछु भनी उहाँले पत्रमा लेख्नुभएको थियो। त्यही समयको प्रतीक्षा गर्दै हाम्रो दिनचर्या बितिरह्यो।
पुसको १४ गते राजा वीरेन्द्रको जन्मदिन पारेर विद्यालयमा परीक्षाफल प्रकाशित हुँदै थियो। रिजल्ट कस्तो होला भन्ने बिहानैदेखि खुल्दुली भइरह्यो। नतिजा राम्रो ल्याउन सकिएन भने के गर्ने होला ? भन्ने विचार मनमा पलाउँथ्यो। खाना खाएर साथीहरूसँग परीक्षाफल हेर्न गयौं। त्यतिबेला प्रथम, द्वितीय र तृतीय हुनेलाई कार्यक्रम गरेर पुरस्कारसहित प्रमाणपत्र दिने चलन थियो। कक्षा १ देखि प्रथम, द्वितीय र तृतीय हुनेहरूको नाम घोषणा गर्दै पुरस्कार वितरण गर्न थालियो।
कक्षा ९ को पालो आएपछि मेरो मन धक्कसँग फुल्यो। तृतीय स्थान घोषणा भयो। मेरो नाम आएन। कक्षामा सधैं तृतीय हुन्थें। मेरो होसहवास उड्यो। द्वितीय स्थानमा अर्कै साथीको नाम आयो। मेरो हंसले ठाउँ छोड्न लाग्यो। अन्ततः प्रथम स्थानमा मेरो नाम घोषणा भयो। म खुसीले निशब्द भएँ। साथीहरूले बधाई दिए। मलाई पुरस्कार र प्रमाणपत्र लिन बोलाइयो। मञ्चमा गएर हेडसरबाट प्रथम भएको पुरस्कार र प्रमाणपत्र ग्रहण गरें। कक्षामा सधैं तृतीय हुने मेरा लागि प्रथम हुनु ठूलो कुरा थियो। गुरुहरूबाट आशीर्वाद र हौसला पनि प्राप्त भयो। त्यतिबेला लाग्यो, यो क्षण मेरा बुवा यहाँ हुनुभएको भए...।
घर पुग्दा नसोचेको दृश्य देखियो। बुबा, भाइ सुजन र आमा गफ पो गरिराख्नुभएको रहेछ। खुसीले लक्ष्मण रेखा नाघ्यो। मनले चिताए पुग्छ भन्छन्। त्यही भयो मेरा लागि। परीक्षामा पाएको सफलता र बुबाको घरमा आगमनले खुसीको आँसु रोकिएन। केही बोल्नै सकिनँ। बुबा आफैंले मलाई तानेर अङ्कमाल गर्नुभयो र सोध्नुभयो, ‘किन रोएको ?’
‘खुुसीको आँसु हो बुबा।’
‘खुसीमा पनि रुन्छन् त ?’
‘डबल खुसी भएर बुबा’
‘कस्तो डबल खुसी?’
‘आज म प्रथम भएँ। पुरस्कार पनि ल्याएँ बा।’
‘स्याबास छोरा !’
अरू त केही बोल्न सक्नुभएन उहाँले। उहाँको गह भरिएको अनुमान गर्न मलाई गाह्रो परेन।
बुबाले अमालाई सारी र हामी दुई भाइलाई लुगा ल्याइदिनुभएको रहेछ। दिनुभयो, लिएँ। त्यहीबेला मैले उहाँको हात देखें र अनायासै चिच्याएर सोधें, ‘यो के भएको? खै तपाईंका दुइटा औंला ?’ आमाले बेलिविस्तार लाउनुभयो।
‘बाबु ! बुबाले सबै कुरा भनिसक्नुभयो। बुबाले भारतको दरभंगामा धेरै दुःख पाउनुभएछ। हावापानी पनि नमिलेर बिरामी पर्नुभएछ। जेनतेन दुःख गरेर कमाएको केही पैसा बोकेर घर फर्कने सुर कसिरहेका बेला त्यहाँका गुन्डाहरूले प्लेटफार्मनजिकै निर्घात कुटपिट गरेछन्। आफूसँग भएको पैसा मुठी बाँधेर राख्नुभएको रहेछ। चोरहरूले धारिलो चक्कु प्रहार गरेर पैसा लगेछ। बुबाका दुइटा औंला काटिएछन् बाबु।’
आमा भक्कानिन थाल्नुभयो। मेरा आँखामा आँसु पनि थामिएन। रोएर मात्र समस्याको समाधान हुँदैन। मैले पाकोे मान्छेले जस्तै भनें, ‘औंला नभएर के भयो त ? हात छँदै छौं नि बुवा !’ वातावरण सहज बनाउने प्रयत्न गरें। भनें, ‘अनि तिनीहरूलाई पुलिसले समातेनन् बा ?’
‘तिनीहरू कता भागे पत्तै भएन। थानामा उजुरी दिएँ। पुलिसले मेरो उपचार गरिदियो। त्यहाँ मसँगै काम गर्ने एकजना दलबिरे नाम गरेको नेपाली थियो। केही समय उसैले पाल्यो मलाई। काम गर्न सक्ने भएपछि एक महिना काम गरें। तिमीहरूको यादले सताएर म फर्कें।’
‘राम्रो गर्नुभयो बुबा,’ मैले भने।
‘होइन छोरा, एक महिनापछि उता फर्कनुपर्छ। दलबिरेलाई फर्केर सँगै काम गर्ने वचन दिएको छु।’ मनमा हुरी चल्यो। यत्रो दुःख पाएर पनि फेरि फर्कनुपर्छ पो भन्नुहुन्छ बुवा त। मनमा विचारको ज्वारभाटा चल्न थाल्यो। बुवालाई फेरि बिरानो मुलुकमा जान दिन्नँ भन्ने अठोट लिएँ। भनें, ‘बा म तपाईंसँग केही मागूँ ?’
‘के कुरा?’
‘प्रथम भएकोमा मलाई के दिनुहुन्छ ?’
‘तिम्रा लागि लुगा ल्याइदिएको छु।’
‘लुगा त बाबुलाई पनि त ल्याइदिनुभएकोछ नि ! पहिला भएको गिफ्ट छुट्टै चाहिन्छ।’
‘त्यसो भए के चाहियो भन त ?’
‘दिने भए मात्र माग्छु।’
‘माग।’
‘बुुबा ! तपाइँ फेरि परदेश नजानुस्। हामीलाई तपाइँ बाहेक केही चाहिँदैन। तपाईंको मायाबिनाको पैसा चाहिँदैन। आफ्नो घर, परिवार छाडेर कमाएको पैसा के काम ? हामी सबै सँगै बस्नुमै स्वर्ग छ। बा तपाईंबिनाको स्वर्ग भए पनि मन्जुर छैन।’ मैले थपें, ‘मैले तपाईंको सामीप्य मागें। नाइँ नभन्नुहोला।’
आमाले पनि मेरै कुरामा समर्थन गर्नुभयो। भाइ पनि अब विदेश जानुपर्दैन भन्दैथियो। ‘हेर्नुस् राजुका बा, मलाई त त्यो बेलामा पनि तपाईं विदेश गएको मन परेको थिएन। अहिले औंला गुमाएर आउनुभयो। धन्न अरू केही भएन,’ आमाले भन्नुभयो, ‘पल्लाघरे काइँला बा यो बुढेसकालमा सधैं रोएर बस्नुपरेको छ। छोराले विदेशबाट पैसा पठायो भनेर मक्ख परेका थिए। छोराको शव आएपछि बूढा बौलाहाजस्तै भएका छन्। मान्छेका लागि पैसा हो, पैसाका लागि मान्छे होइन।’
‘तिमीहरूको खुसीमै म खुसी हुन्छु। सबैले यतै बसेर आफ्नो पेट पालेकै छन्। ठिकै छ। म अब जान्नँ परदेश। बरु दलबिरेलाई एउटा चिठी लेखिदेऊ है छोरा। दुःख पर्दाको साथी उनी नै हुन्।’ मैले हुन्छ भनें। साँझ ओर्लिसकेको थियो। पर टुकी बलिरहेको थियो। सानो टुकीकै भरमा पनि वातावरण उज्यालिएको महसुस भयो। हामी सबैका मुहारमा लालीमा पोतियो।
प्रकाशित: १२ भाद्र २०७८ ०१:२८ शनिबार