३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘एक युगको अन्त्य’

अब स्मृतिमा प्रेमध्वज प्रधान

नेपाली संगीतका सुमधुर आबाज प्रेमध्वज प्रधानको हामीसँग अब स्मृतिमात्र छ। मखमली आबाजका धनी प्रधानको बिहीबार निधन भएसँगै नेपाली संगीतको एक युगको अन्त्य भएको छ। नेपालमा प्रजातन्त्र प्राप्तिसँगै रेडियो स्थापना भएपछि रेडियो नेपालबाट गुन्जिएको पहिलो मखमली आबाज थियो, प्रेमध्वजको।

आफ्नी आमा प्राणदेवी प्रधानको प्रेरणाले नेपाली सुगम संगीतमा प्रवेश गरेका प्रेमध्वजले निरन्तर छ दशक नेपाली संगीतमा अतुलनीय योगदान दिए। गीतमा आधुनिकता र शब्दमा माधुर्य प्रस्तुत गर्ने पहिलो पुरुष गायकको रूपमा प्रधानलाई लिइन्छ। उनले उस्ताद गणेशलाल श्रेष्ठसँग संगीतको लय र ताल सिकेर आफूलाई सरल गायनमा सुशब्द बनाए।

निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र माइतीघरका निम्ति पहिलो पटक पाश्र्वगीत गाउने प्रेमध्वज नै पहिलो नेपाली गायक हुन्, जसले बलिउडका प्रसिद्ध संगीतकार जयदेवको संगीतमा मंगेशकर परिवारकी कुशल गायिका उषा मंगेशकरसँग युगल गीत गाए। चलचित्र माइतीघरपछि उनले फिल्ममा पहिलो पटक डेब्यु गरेका नायक शिव श्रेष्ठका निम्ति जीवन रेखामा आफ्नो स्वर दिए।

नेपाली चलचित्रको ५५ वर्षको इतिहासमा उनले मायालु, अन्याय, शान्तिदीप, पच्चीस वसन्त, जीवन संघर्ष, प्रतिज्ञा, विवश आदिमा धेरै नायकलाई आफ्नो मधुर आबाज पाश्र्वमा दिए। चलचित्रमा पाश्र्वगायनमा बसेका प्रेमध्वज आधुनिक गायनमा पनि पाश्र्वमै रहे, आफ्ना साथी नारायणगोपाल गुरुवाचार्य र माणिकरत्न स्थापितलाई गायनमा स्थापित गराउनमा।

प्रसिद्ध गायक नारायणगोपालले रेडियो नेपालमा स्वरपरीक्षानिम्ति गाएको पहिलो गीतमा प्रेमध्वज र माणिकरत्नको संगीत थियो। माणिीकरत्नको पहिलो हिट गीत ‘यो खोलाको सँग्लो पानी खाइदिऊँ खाइदिउँ लाग्छ ..’ मा पनि माणिकरत्नका साथमा प्रेमध्वजको संगीत थियो। नेपाली सुगम संगीतमा एक समय प्रेम–माणिकको संगीत भनेपछि अब्बल श्रेणीको मानिन्थ्यो।

उस्ताद भैरवबहादुर थापा, नातिकाजी श्रेष्ठ, शिवशंकरको संगीतपछि नेपालबाट भारतीय नेपालीका माझ प्रसिद्ध हुने संगीतकार थिए, प्रेम–माणिक। यो जोडीको पहिलो हिट गीत बन्यो, प्रेमध्वजको स्वरमा।

गोरेटो त्यो गाउँको खोजी खोजी थाकें पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ ..।

यस गीतका निम्ति प्रेमध्वज पहिलो पटक स्टेजमा गीटार लिएर उत्रे। नेपाली सुगम संगीतमा गीटार बोकेर मञ्चमा आउने पहिलो गायक पनि प्रेमध्वज नै थिए। उनले त्यतिबेला आफ्नो गीतको निम्ति कोलकाताबाट भर्खरै फर्केका रामशरण दर्नालसँग गीटारको कर्ड सिकेका थिए। नेपाली संगीत जगत्मा निजी खर्चमा मुम्बईमा गएर गीत रेकर्ड गराउने प्रेमध्वजले त्यतिबेलाका बलिउडका चर्चित संगीत संयोजक मनोहरि सिंहलाई आफ्ना सबै गीतको एरेन्ज गराएका थिए।

नेपालबाहिर भारतको कोलकाता गएर एचएमभीको निम्ति उनले रेकर्ड गराएको पहिलो गीत रवीन्द्र शाहको शब्द र आफ्नै संगीतमा ‘तिमी आयौ मेरो दिलमा ..’ थियो। यस गीतले उनलाई पूर्व–पश्चिम मात्र होइन, दसैंदिशामा नयाँ परिचय दियो। गत महिनामात्र यस गीतको रचनागर्भबारे उनले पंक्तिकारलाई भनेका थिए, ‘यो मैले बाहिरी संगीतको प्रभावबाट बनाएको अलि फरक शैलीको गीत होे। खूब चल्यो त्यो बेला।

अंग्रेजी फिल्म ‘कम सेप्टेम्बर’ बाट प्रभावित यस गीतपछि प्रेमध्वजले आफ्ना समकालीनका माझ अलग र स्पष्ट छाप बनाए। प्रेमध्वजले उस्ताद गोविन्दलाल, भैरवबहादुर थापा, नातिकाजी श्रेष्ठ, शिवशंकर, अम्बर गुरुङ, मनोहरि सिंह, ज्ञानबहादुर श्रेष्ठ, सिके रसाइली, वसन्त छेत्रीदेखि नयाँ पुस्तका संगीतकार ज्योति घिमिरेको संगीतमा पनि गाएका छन्। शरण रञ्जितको जोडी टुटेपछि रञ्जित गजमेरको संगीतमा पहिलो गीत पिटर जे कार्थकको संगीतमा पनि उनैले गाएका हुन्।

नेपाली र नेवारी भाषामा समान रूपमा गीत गाएका प्रेमध्वजले आधुनिकबाहेक राष्ट्रिय गीत पनि प्रशस्त गाएका छन्। भूपी शेरचनको शब्दमा ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ..’, दमननाथ ढुंगानाको शब्दमा ‘यही हो नेपाल, नेपालीको घर ..’ उनका लोकप्रिय राष्ट्रिय गीत हुन्।

आधुनिक, फिल्मी र राष्ट्रिय गीतबाहेक उनले लोकगायक झलकमान गन्धर्वको संकलनमा गाएको लोकगीत अझै पनि यादगार मानिन्छ।

‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो

मगमग चल्यो बासना..।’

यो गीतले गोरखाको पालुङटारलाई निकै चर्चामा ल्याएको थियो।

माओवादीको एक सम्मेलनमा राजनीतिज्ञ डा.बाबुराम भट्टराईले यही गीत गाएर एउटा सभा सञ्चालन गर्नुभएको थियो, पार्टी टुक्रिनुअघि। सिन्धुपाल्चोकको चौतारा पुख्र्यौली घर भएका प्रेमध्वजले आफ्नो गीतमार्फत गोरखाको पालुङटारसँग सम्बन्ध जोडे, त्यसले नेपाली सुगम संगीतको अनुसेवीको पोखराको बाटुलेचौरका गान्धर्वजातिका गायक झलकमानप्रति गरिएको सम्मानको पनि संगीत समीक्षकले खुलेर इतिहास लेख्छन्।

गायनका हिसाबले प्रेमध्वज आफ्ना साथी माणिकरत्न र नारायणगोपालभन्दा पहिले आएका हुन्। ख्याति पनि माणिकरत्न र नारायणगोपाललाई भन्दा पहिल्यै मिल्यो तर प्रेमध्वजमा एकरति पनि त्यो अहम् र घमन्ड कहिल्यै देखिएन। भन्छन्, प्रेमध्वज नेपाली वर्णमालाको पूर्णविरामजस्तै सीधा छन्। उनले नेपाली संगीतमा पूर्णविराम लाग्न पनि दिएनन्। उनले आधुनिक गायनमा मेलोडी अर्थात् मधुरताको श्रीगणेश गरे। उनले श्रीगणेश गरेको मधुरगायनको स्वरगाथालाई पछि कन्हैयाकुमार, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, रामकृष्ण ढकाल, उदय सोतांङ, यम बरालसम्मले कायम गरे। नेपालमा मेलोडी गायनको श्रीगणेश गर्ने यी गायकको संयोगले पहिलो नाम गणेश नै थियो।

रत्नध्वज प्रधानको एक्लो छोरा गणेशध्वज प्रधानलाई स्कुल भर्ना गर्दा हेडमास्टर प्रेमबहादुर श्रेष्ठले तिमी जस्तो सुन्दर केटाको नाम प्रेम हुनुपर्छ भनेर प्रेमध्वज प्रधान राखिदिएका थिए।

आबाजको दुनियामा अर्कै विशिष्टता बोकेर आएका प्रेमध्वजले आफ्नो समयमा धेरै प्रेमिल युगल गीत गाए, जसमध्ये तारादेवीसँग गाएको युगल गीत ‘ऐना नभए आफ्नो अनुहार कहाँ हेर्छौ तिमी..’ सदावहार नै बन्यो। किरण खरेलको शब्द र शिवशंकरको संगीतको यो युगल गीत रेडियो नेपालको इतिहासमा फर्मायसी कार्यक्रममा सबैभन्दा बढी बज्ने गीत हो भनेर साहित्यकार श्यामदास वैष्णवले एक लेखमा पुष्टि गरेका छन्।

प्रधानले आफ्ना अग्रज, अनुज सबै पुस्ताका गीतकारका गीत गाएका छन्। रत्नशमशेर थापा, मबिबी शाह, तुंगमर्दन थापा, यादव खरेल, चन्द्रमित लक्सम, राजेन्द्र थापा, राजेन्द्र रिजाल, कृष्णहरि बराल, उषा शेरचन, गीता त्रिपाठी आदि। आफ्ना पुस्ताकी गायिका तारादेवीदेखि लिएर पछिल्लो पुस्ताकी गायिका मीना पोखरेल निरौला, इन्दिरा जोशीसम्म पनि उनले युगल गीत गाएका छन्।

युगल गीत होस् वा एकल गीत प्रेमध्वजले त्यसमा पु¥याउने आफ्नो योग्यताको छविमा कसैले दाग लगाउन सक्दैन। चलचित्रमा जुनसुकै नायकका लागि गीत गाउँदा चरित्र अनुसारको भावभंगिमा प्रकट गर्न सक्नु उनको शतप्रतिशत क्षमता रहन्थ्यो। चलचित्र जीवन रेखामा अम्बर गुरुङको संगीतमा किरण खरेलको शब्दमा गाएको गीत ‘हाँस्ने रहरहरू आँसुमा डुबेछ ..’ नेपाली चलचित्रको उत्कृष्ट गीतमध्ये एक मानिन्छ भने ‘तिम्रो नाम अझै छ ओंठमा..’ सर्वप्रिय उत्कृष्ट गीतमध्ये एक मानिन्छ।

गीत–संगीतको हरेक दशाब्दीमा हिट गीतको आलेख बनाएका प्रेमध्वजले आफ्नै संगीतमा गाएको ‘माया नमार मायालु ..., दिल नतोड मायालु..’ भर्खरभर्खर संगीत सिक्नेका निम्ति गीटारको पहिलो पाठ मानिन्छ।

प्रेमध्वज ती भाग्यमानी नेपाली गायकमध्ये हुन्, जसले बलिउडमा गएर फिल्मफेअर अवार्डमा एकल प्रस्तुति दिएर बलिऊडमा आफ्नो चमक देखाएका थिए। उनको यो प्रस्तुति देखेर पचासको दशकका प्रसिद्ध संगीतकार खैय्यामले उनलाई मुम्बईमा बस्न अनुरोध गरेका थिए।

जयदेव, खैय्याम, आरडी बर्मन, मनोहिर सिंहको साथ पाएर पनि उनले मुम्बई बस्न मानेनन्। आफ्नी एक्ली आमाको साथ छोड्न नसेकर उनी नेपाल फर्के र अन्तिम समयसम्म नेपाली संगीतलाई साथ दिइरहे।

मातुभूमिलाई माया गर्ने प्रेमध्वज ती विरल कोटिका गायकमध्ये हुन्, जसले आफ्नी आमाको संगीतमा गीत गाउन पाए। स्मरणीय रहोस्, प्रधानकी आमा प्राणदेवी दर्बारकी प्रिय गायिका थिइन्।

आफ्नी आमाको शब्द र संगीतमा गाएको गीतले इतिहास बनाउने प्रेमध्वजले २०१६ सालको चुनावमा कमरेड पुष्पलाल श्रेष्ठका निम्ति कवि दुर्गालाल श्रेष्ठको रचनाको चुनावी गीत गाएर लहरीमा यात्रा गरेका थिए। उनको स्मृति अनुसार चुनाव प्रचारमा गीत गाउँदा नारायणगोपालले तबलामा साथ दिएका थिए।

गायक नारायणगोपालसित जोडिएको एउटा अविस्मरणीय इतिहासमा उनी सधै सम्झन्थे– नारायणले रेडियो नेपालमा स्वरपरीक्षा दिन जाँदा मेरो अफिसमा आएर मेरो साइकल मागेर लगेका थिए।

नारायणगोपाल र उनको सांगीतिक यात्रा साइकलको दुई पांग्रा जस्तै छुट्टियो। दुवैले एकअर्काको गीत त्यसपछि कहिल्यै गाएनन् तर सम्बन्धचाहिँ सधै यथावत् रह्यो, निकट र स्नेही। नारायणगोपाल र प्रमेध्वजकी आमा प्राणदेवी घनिष्ठ मित्र थिए भनें नारायणगोपालकी पहिली प्रेमिका बेबी (बोलाउने नाम) र प्रेमध्वज त्यस्तै घनिष्ठ थिए।

नारायणगोपालको निधनपछि स्थापित ‘नारायणगोपाल संगीत कोष’ ले आयोजना गरेको आधुनिक गायन प्रतियोगितामा प्रमेध्वज सम्मानित निर्णायक थिए। यसरी उनी नारायणगोपालसँग सधै जोडिइरहे।

नारायणगोपाल, तारादेवी, नातिकाजी, शिवशंकर, अम्बर गुरुङको प्रस्थानपछि प्रेमध्वज नेपाली आधुनिक संगीतका अन्तिम महान गायक थिए, जसलाई नेपाली संगीतको निर्मातामध्ये एक मानिन्छ। र, यी अन्तिम महान गायकलाई वैशाख २३ गते दिउँसो १ बजेर ४५ मिनेटमा हृदयाघातको धक्काले निर्जीव बनाइदियो। एक साताअघि डा. प्रवीण श्रेष्ठको निगरानीमा काठमाडौं न्यूरो अस्पताल मा भर्ना गरिएको थियो उनलाई। डा. श्रेष्ठले नै सन् २०१५ मार्च १६ मा उनको हैमाटोमाको अप्रेसन गरेका थिए।

पे्रमध्वजको निधनले नेपाली संगीतमा अपूरणीय क्षति भएको छ। यसमा दुई मत छैन। उनको अनुपस्थितिले नेपाली संगीतमा बर्खी परेको छ।

आधुनिक संगीतमा यति ठूलो क्षति हुँदा प्रेमध्वजको बिदाइमा राज्य सञ्चानका तर्फबाट शून्य उपस्थिति थियो भने राजनीतिक पार्टीका नेताका तर्फबाट कुनै शोक समवेदना जारी गरिएको पाइएन। यो एउटा दुखद पक्ष रह्यो।

१९९४ सालमा काठमाडौंको नःघल टोलमा जन्मिएका प्रेमध्वजले १५ वर्षको उमेरदेखि नेपाली संगीतको सेवा गर्दै आएका हुन्। नेपाली भाषीका निम्ति एक प्रमुख गायकका रूपमा चिनिएका प्रेमध्वजको युग नै नेपाली संगीतको स्वर्णीम युग मानिन्छ। 

हार्दिक श्रद्धाञ्ली।

प्रकाशित: २४ वैशाख २०७८ ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App