मैले मेरो माइती हेर्ने झ्यालबाट देखेँ– अघिअघि बुवा र पछिपछि आमा घरको मूल दैलोबाट प्रातःकालीन डुलाईका लागि निस्कनुभएको । बुवाले दक्षिणतिर हेर्नुभयो । मलाई नै हेर्नुभयो भन्ने ठाने अनि शिर झुकाएँ । दैलोको दायाँ–बायाँ डिलमा सजाउन राखिएका गमला र माटाका हात्ती हेर्नुभयो । एक सिँडी ओर्लिएर ती हात्तीको कान नजिक मुख लगेर साउती मार्नुभयो । बुवाले तिनलाई सजीव नै हुन् भन्ने मान्नुहुन्छ भन्ने मलाई लाग्यो । जलका राजा इन्द्र भगवान्कहाँ उनको वाहनको माध्यमबाट केही सन्देश पठाउनुभयो वा घरको रखवारी ग-यौ र शृंगार पनि भइदियौ भनेर धन्यवाद पो दिनुभयो कि जस्तो पनि लाग्यो । मान्छे सुसंस्कृत भएदेखि नै आफ्नो इच्छा–आकांक्षा पूर्ण गरिदेऊ भनी आफ्नै कल्पना अनुसारको देवताको मूर्ति बनाएर प्राण प्रतिष्ठा गर्ने चलन छ । बुवाको यस्तै कुनै आकांक्षा पो थियो कि हात्तीलाई हेर्नु र मान्नुमा ?
त्यसबेला बुवाआमा दुवैका गोडामा जुत्ता–चप्पल केही थिएनन् । बुवाले भुइँमा पैँताला रगडनुभयो । सैनिकले परेड खेलेजस्तै गरी केहीबेर ढ्याप–ढ्याप गर्दै हिँड्नुभयो । यसरी हिँड्दा बुवाले लगाउनुभएको फुर्के उनी टोपीको फुर्का पल्टनको जवानको टोपीको प्वाँखजस्तै फिर्फिर गरेको देखियो । बुवा माटोमा प्रत्यक्ष स्पर्श हुँदा ईश्वरीय ऊर्जा प्राप्त हुन्छ भन्ने मान्नुहुन्छ । मन्दिरमा पूरा जिउ लम्पसार पारेर साष्टांग दण्डवत् गर्नाको रहस्य पनि यही हो भन्नुहुन्छ । हामी सानै हुँदा ‘जाओ धुले अड्डामा खेल भनेर बारीमा पठाउनुहुन्थ्यो । हामीले यसको रहस्य पछि मात्र थाहा पाएका हौँ ।
ए ! बुवा–आमा त पूर्वतिरको पारिजातको बोटमुनि पुगिसक्नुभएछ । उहाँहरूकाशिरमा पारिजातको फूल झरिरहेको थियो । दुवैले बोटको माथिमाथि हेर्दै पाइला अगाडि सार्नुभएको देखेँ । भुइँको फूल कुल्चिन्छ कि झैँ गरी सचेत पनि हुनुभएजस्तै लाग्यो । भाद्र–आश्विन महिनामा फुल्ने यो फूल आफ्ना पितृलाई खुसीपार्न श्राद्धमा चढाउने चलन छ । बुवा पनि पिण्डमा यो फूल चढाउनुहुन्छ । यसको बोट यहाँ रोप्नुभन्दा अगाडि नै बुवाको द्रष्टा दृष्टिले फूल फुलाएर बोटबाट झारिसकेको थियो ।यसैले त २०१६ सालमै बुवाले तलको गीत लेख्नुभएको हो ।
हामीले त यही चौरमा राखिएको अग्लो र फूलैफूलले सिँगारिएको खाटमा बुवाको भौतिक शरीरलाई आरामसाथ आसीन गराएर शृंगारपटार गरी पीताम्बरहरू ओढाएको, मालाहरू लगाएको, श्रीखण्डको लेप लगाएको शान्त र दिव्य अनुहारलाई बिदा गरिसकेका थियौँ ।
त्यसरी होस् मरण
सुन्दर सृष्टि निहारी सुखैले चिम्लूँ नयन
बिहानपख रातको कुसुम पारिजातको
जसरी जान्छ झरेर भुइँमा विना पवन... ।
यस्तै, अर्को गीतमा हाम्री आमा महाकालीले आफू मरेर गएको सपना देखेको सुनाउँदाको प्रसंगमा यही पारिजातको फूलविना कारण झरेको उल्लेख भएको हो ।
आजै र राति के देखेँ सपना मै मरिगएको,
बतासबिनु हाँगाको फूल भुइँ झरिगएको ।
त्यहीँ नजिकै दुईवटा पारिजातको बोटको बीचमा रहेको तुलसीको मठ र वर– पिपलका गमलालाई परिक्रमा गरी बुवाआमाले हिन्दूका आस्थाका प्रतीकप्रति अहोभाव व्यक्त गर्नुभयो । पिपलको बोट भएको गमलाको आडमा फलामको दियोमा बत्ती बालेको हेरेर ‘विश्वास हो’ भन्नुहुन्छ । शनि ग्रहले नपिरोस् भनेर शनिबार यसरी बत्ती बालेर पीपललाई पूजागर्ने चलन छ । हामीलाई ती गमला देखाएर ‘हेर त यिनले खुम्चिनुपरेको छ, बेला बेलामा मलजल गर’ भन्नुहुन्छ । यसो भन्नुहुँदा वनस्पतिको स्वतन्त्र हुने अधिकारमा कुठाराघात भयो भन्ने बोध गर्नुभएको म बुझ्दछु ।
बुवाले आफ्नो बगैँचाका अम्बा, कागती, निबुवा, भोगटे र आरुमा फुल्ने रंगीन फूलमा कसले सुटुक्क बास्ना रङ भरिदियो होला भनी हामीलाई प्रकृतिमा अगम्य विराट शक्ति छ है भनी प्रकृतिप्रति जिज्ञासु बनाउनुभएको सम्झन्छु । घरको चौघेरामा फुलेका फूल र फलको बोट नहेरेरै ती फुल्दा ‘आहा भोगटे फुल्यो’, त्यस्तै ‘आहा पारिजात फुल्यो’ भनी प्रफुल्लित हुनुहुन्छ । यतिबेला उहाँभित्रै ती बोट छन् जस्तो लाग्छ । बिरुवा सारेदेखि फल पाकेर खाँदासम्म आनन्दको सागरमा माछाले डुबुल्की लगाएझैँ र मौरीले रस ग्रहण गरेझैँ गरी भावनाको रस सागरमा डुबेर ‘कृष्ण’ बन्नुहुन्छ । बुवा बगैँचामा घुम्नुहुँदाको भावभंगी नै सृष्टिको अगाध सौन्दर्य वर्णनगर्ने लिपिविनाको सजीव र सफल वर्णनझैँ लाग्छ । यसरी टहलिँदै घरअगाडिको स्वर्गको फल भनिने जामुनुको रूख भएको ठाउँमा आइपुग्नुभयो । बुवाले जामुनुको सुन्दर रूपको प्राकृतिक पंखजस्तो देखिने फूल फुलेदेखि पाकेर खानयोग्य भएसम्म आफ्नै कोठाको झ्यालबाट पनि नियालिरहनुहुन्छ । यो फल केटाकेटीले नपाक्दैदेखि पाकेसम्म लुकेर खाएको आफू पनि लुकेरै हेर्नुहुन्छ । यसरी नै मानिसले जिब्रोमा नवरसको सुस्वादको विकास गरेको मान्नुहुन्छ । यसको रूप, रंग र फलभित्रको गेडाले आफ्नो जातिविनाप्रयत्न जोगाउँछ भनी वर्षैपिच्छे नवीन नवीन भावले हेरी आफ्नो रचनाको भावभूमि फेला पार्नुहुन्छ ।
यो यही भाग्यमानी चौर हो, जहाँ बुवाका सन्तानहरूका विवाह व्रतबन्धजस्ता खुसीका कार्यक्रम भए । बुवाआमाको सहस्र चन्द्रदर्शन र बुवाको १०१ वर्षको जन्मोत्सव जस्तो पवित्र एवम् दिव्य धार्मिक कार्य भए । यहाँ बुवाका अभिनन्दनका कार्यक्रम अनि पुस्तक विमोचनजस्ता गरिमामय कार्यक्रम पनि भए । राष्ट्रकविका समुपस्थितिमा विवाह गर्ने भनेर एक–दुई जोडीले त एकापसमा माला पहि-याए पनि ।
यसपछि बुवा आमा त हलुवाबेद र भोगटे भएतिर पुग्नुभइसकेछ । बुवालाई हलुवाबेद खुब मनपर्छ । चिनीरोग भएपछि अड्कलेर खानुपर्दा बच्चाले झैँ नाराजी नजानिदोगरी व्यक्त गर्दाको अनुहार हेर्दा खिन्नलाग्छ । हाम्रो परिवारमा भोगटे सँगै बसेर खाने एउटा फल उत्सवजस्तै हुन्छ । यो साँध्दा सबैले मीठो बनाउन आ–आफ्नो पारखी मिलाउँछौँ । तयारी गर्नमै सबै ध्यानमय भएजस्तो लाग्छ । खाँदा मीठो हुनेमात्र होइन, त्यो तयार गर्दाको तत्परताको भाव मिश्रितहुँदा खानेकुरा अझ मीठो हुन्छ । खानमा, लगाउनमा, बोल्नमा र सहसम्बन्ध बनाउनमा भावको महत्व हुने कुरा बुवाले सिकाउनुभएको हो । यसैले त गाउँघरमा जस्तैगरी छर–छिमेकमा पुगेसम्म र मिलेसम्म आफ्नो बारीमा फलेको फल बाँडेर खाने संस्कार बुवाले हामीमा बसाल्नुभयो । समवयी साथीहरू कहाँ त कहिलेकाहीँआफैँ फल बोकेर पु-याउनुहुन्छ । उहाँहरूलाईघरमै आएर फल टिपेर खान पनि निम्त्याउनुहुन्छ । घरको चौघेराको बाटोसँग जोडिएको पर्खालको आडमा बुवाले आफैँ किनेर बोकी ल्याउनुभएर धूपीका रूखहरू रोप्नुभएको हो । अहिले यी रूख विशाल भएका छन् । पहिले त लेकको धूपीको सुगन्ध र सौन्दर्य सम्झिएर ती रूख रोप्नुभएको हो । त्यसबेला तिनले घरलाई हावाहुरी र पानी छेक्ने काम पनि गरे । यी झ्याम्म परेकारूखमा घामका किरणले लुकामारी खेलेको हेरेर पुलकित हुनुहुन्छ । त्यस्तै पानीपर्दा यिनका मसिना मसिना केस्राबाट झर्ने पानीको थोपालाई हीराको जस्तै मान्नुहुन्छ । यिनका क्षणिक सौन्दर्यमा वर्तमानकोमहŒव आकलन गर्नुहुन्छ । यी धूपी अहिले राष्ट्रकवि निवासको परिचय गराउने स्तम्भ मात्र नभएर वरपर भर्खर आएर बसोबास गर्नेकालागि पनि भरपर्दो ठेगाना भएको छ ।
अतीतका सुन्दर र आनन्ददायी दृश्यसँग धेरैबेर म भुलेँछु । बुवाआमाले प्रातः भ्रमण सक्नुभयो कि भनेर हेरेकी त त्यो ठूलो हरियो चिसो–चिसो चौरमा बुवा पाँच वर्षे बच्चाले जस्तै उफ्रिएर धूपीको हाँगा तान्दै हुनुहुँदो रहेछ । कहिले लम्कने त कहिले वल्लो भुइँदेखि पल्लो भुइँसम्म हात घुमाउँदै इन्द्रेणीको सात रंगमा आफूलाई पल्लवितगर्नुभएजस्तै लाग्यो ।एक खुट्टाले उभिएर हात फिँजाउनु हुँदा मयुरले आफ्नो सप्तरंगी प्वाँख फिँजाएजस्तो देखेँ । बेला–बेला थप्पडी पनि मार्नुभयो । त्यस्तै गरी बूढी र माझीऔँला मिलाएर चुटकी मार्नुभएको देखेँ सुनेँ । मेरुदण्डसीधा बनाई उभिएर प्राणायाम पनि गर्नु भएजस्तो लाग्यो । यी सबै क्रिया गर्नुको रहस्य स्वास्थ्य राम्रो राख्नु र परमात्मासँग नजिकको सम्बन्ध जोड्ने हो भन्नुहुन्छ । यही जीवन र जगत्सँगको सम्बन्ध नै योग हो भन्नुहुन्छ । यो यही भाग्यमानी चौर हो, जहाँ बुवाका सन्तानहरूका विवाह व्रतबन्धजस्ता खुसीका कार्यक्रम भए । बुवाआमाको सहस्र चन्द्रदर्शन र बुवाको १०१ वर्षको जन्मोत्सव जस्तो पवित्र एवम् दिव्य धार्मिक कार्य भए ।यहाँ बुवाका अभिनन्दनका कार्यक्रम अनि पुस्तक विमोचनजस्ता गरिमामय कार्यक्रम पनि भए । राष्ट्रकविका समुपस्थितिमा विवाह गर्ने भनेर एक–दुई जोडीले त एकापसमा माला पहि-याए पनि ।
प्रातःकालीन घुमाई सकेपछि बुवाआमा आउनुभएर गुलाबको सानो बगैँचा अगाडि राखिएको मेचमा बस्नुभयो । मेचमा बुवाले टेक्नुहुने आकर्षक लौरी अड्याएको देखेँ । बुवा यहाँ बसेर विशेषतःगुलाब र पहेँलो लाउरेफूल हेरेर घन्टौँ बिताउनुहुन्छ । फूलका पत्रपत्रर केशरलाई कोट्ट्याएर विज्ञानलेअध्ययन गर्छ र ज्ञान दिन्छ । यो बाह्य ज्ञान हो । जसलाई जो कसैले बुझ्नसक्छ । तर त्यस्ता ज्ञान सूचना मात्र हुन् । अर्को अध्ययनले खण्डन पनि गर्न सक्छ भन्नुहुन्छ । फूललाई चेतनाले हेरेर अनुभूत हुने ज्ञान शाश्वत हुन्छ, त्यो कहिल्यै परिवर्तित नहुने प्रथम ज्ञान हो भन्नुहुन्छ । यी फूलमा बुवा कति छिर्नुहुन्छ, कति पत्ता नचुँडीकन, फूल पात र काँडालाई समष्टिमा कहिले दार्शनिक भएर दर्शन गर्नुहुन्छ । कहिले आध्यात्मिक भएर परमात्माको सुन्दर एवं विराट सिर्जनाको दर्शन चेतनाले गरी बोधस्थ ध्यानी हुनुहुन्छ । यी फूलहरूमा बुवा सधैँ रहस्यै रहस्य अनुभूत गर्नुहुन्छ ।
मैले आमालाई घर–आँगनमा छिर्ने ढोकाको आडैमा भएको आँपको बोटमा आड लागेर धूपीको रूखको टुप्पामाथि हेरिरहनुभएको देखेँ । यसैबेला एउटा परेवा अनन्त आकाशतिर उड्यो । उहाँले चौरमा चर्दै गरेको एउटा ढुकुरलाई एकोहोरो हेरेर बसिरहनुभयो । ढोकाको अर्को भागमा ठिंगउभिएको शरीरमा काँडैकाँडा भएको सिउँडीको रूख जसले राष्ट्रकविलाई अश्वस्थामा काव्य लेख्ने भावभूमि दियो । त्योचाहिँ थिएन । म झल्याँस्स भएँ ! मैले कसरी बुवाआमालाई सँगै त्यो दैलोबाट निस्कनुभएको देखेँ? हामीले त यही चौरमा राखिएको अग्लो र फूलैफूलले सिँगारिएको खाटमा बुवाको भौतिक शरीरलाई आरामसाथ आसीन गराएर शृंगारपटार गरी पीताम्बरहरू ओढाएको, मालाहरू लगाएको,श्रीखण्डको लेप लगाएको शान्त र दिव्य अनुहारलाई बिदा गरिसकेका थियौँ । त्यो बुवाले चिरविश्राम लिनुभएको दिन २०७७ भाद्र २ गते मंगलबार ०५ः५५ बजे तिथिले पितृऔँसीको दिन छोएको थियो । यो सबैले आ–आफ्ना बाबुको मुख हेर्ने र श्रद्धागर्ने महान् दिन कहिल्यै नबिर्सने दिन !
प्रकाशित: २२ कार्तिक २०७७ ०६:३७ शनिबार