बागलुङको निसीखोला गाउँपालिका–२ मा रहेको अर्नाकोट गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। तर, यहाँ खानेपानीको ठूलो समस्या छ। स्थानीयले वर्षौँदेखि खानेपानी अभाव झेल्दै आएका छन्।
खानेपानी अभावले अर्नाकोटका बासिन्दा गाउँ छोड्न बाध्य छन्। पर्यटकीय र धार्मिक दृष्टिकोणले महत्वपूर्ण यो गाउँमा हिउँदमा धारामा दुई गाग्री पानी पनि मुस्किलले आउँछ।
खानेपानी समस्या समाधान गर्न लिफ्ट आयोजनामार्फत पानी वितरणको प्रयास भए पनि त्यसले माग पूरा गर्न सकेको छैन। स्थानीय छलविर विकले खानेपानी अभावको गुनासो गरे। ‘खानेपानीको ठूलो समस्या छ, दुई गाग्री पानीले दिनभर कसरी पुर्याउने, सरसफाइ र पशुपालनका लागि त खानेपानी पुग्दैन,’ ८१ वर्षीय विकले भने, ‘पानीको कारणले समयमा सुत्नसमेत पाइँदैन, सक्नेहरू त गाउँ छोडेर सहर गइसके, हामी गाउँ छोड्न सकिएन, बाँचुन्जेल प्रशस्त खानेपानी भएको हेर्नसमेत पाइएन।’
छलविरजस्तै नरमती रसाइलीको दैनिकी पानी जोहो गर्नमै बित्छ। उनले पानी लिन छिमेकी ढोरपाटन नगरपालिका–५ को वसन्तधाराको मुलसम्म पुग्नुपर्छ। ‘एक÷दुई गाग्री पानी आउँछ, त्यही पनि कहिले आउँदैन, एक घण्टा हिँडेर पानी बोक्नुपर्छ, वर्खामा पुरानो धारामा जेनतेन पानी आउँछ, हिउँदमा झनै सास्ती हुन्छ,’ नरमतीले भनिन्।
केही वर्षअघि लिफ्टिङ प्रविधिबाट पानी ल्याइए पनि बारम्बार बिग्रने समस्याले काम गरेको छैन। विसं २०४७ मा ल्याइएको खानेपानी आयोजनाको मुहान सुक्दा अर्नाकोटबाट बसाइँ सर्नेहरू बढेका छन्। स्थानीय ओमबहादुर रसाइलीका अनुसार निसीखोलाको पातीहाल्ने नजिकबाट पानी ल्याउन सम्भव छ, तर बजेट अभाव छ। अर्नाकोट क्षेत्रमा करिब चार सय घरधुरी छन्, जहाँ सबैले खानेपानी अभाव झेल्छन्।
खानेपानी जोहो गर्नुपर्दा पठनपाठनमा असर परेको अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीले बताए। विद्यालयमा पर्याप्त पानी नहुँदा बालबालिकालाई खानेपानी, सरसफाइ र स्वास्थ्यसँग सम्बन्धित क्रियाकलापमा समस्या भएको उनको भनाइ छ।
उच्च भू–भागमा रहेको अर्नाकोटमा खानेपानी अभाव भएको वडाध्यक्ष कुविर विश्वकर्माले बताए। ‘अर्नाकोट बस्तीमा नजिकै पानीको मूल छैन, भएका साना मूल सुके, लिफ्ट आयोजना दीर्घकालीन भएन,’ उनले भने, ‘बस्तीबाट टाढा रहेका मूलबाट पानी ल्याउन धेरै बजेट चाहिन्छ, त्यो वडाबाट सम्भव छैन, पालिकामार्फत प्रदेश र सङ्घ सरकारसँग बजेट माग भइरहेको छ।’ रासस
प्रकाशित: १० वैशाख २०८२ १०:१९ बुधबार





