१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रहेनन् पौभाः चित्रकलाका अभिभावक प्रेममान

पौभाः चित्रकलाका अभिभावक प्रेममान चित्रकारको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । रोगले च्यापेपछि बिहीबारदेखि कलंकीस्थित नेसनल अस्पतालको आइसियुमा उनको उपचार भइरहेको थियो । आइतबार नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । उनी केही समयदेखि दम रोगबाट पीडित थिए ।

सन् १९४४ को डिसेम्बरमा काठमाडौंको भीमसेनस्थानमा जन्मिएका प्रेममानले परम्परागत पौभाः चित्रकलाको विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी ल्यान्डस्केप, पोट्रेट, मूर्तिकला र आधुनिक कलामा समेत दखल राख्थे । उनले २०४९ सालमा परम्परागत पौभाः चित्रकारिताको विस्तार गर्न संघ स्थापना गरेका थिए । ‘चित्रकारहरूले मात्र यस क्षेत्रको विकास र विस्तार गर्न सक्दैनन् भन्ने ध्येयले उहाँले २०४९ सालमा अन्य समुदायका व्यक्तिलाई पनि सिकाउने उद्देश्यले संघ नै स्थापना गर्नुभयो,’ प्रेममानका चेलासमेत रहेका चित्रकार समुन्द्रमान सिंहले भने, ‘उहाँकै कारण यो क्षेत्र बृहत् भएको हो ।’ प्रेममानकै कारण आफूहरूले चित्रकलालाई पेसाका रूपमा आत्मसात् गर्न सकेको उनले बताए । ‘आज हामीले पौभाः चित्रकलाका अभिभावक गुमाएका छौं,’ उनले भने ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले सामाजिक सञ्जालमार्फत चित्रकार प्रेममानको निधनको खबरले अत्यन्त मर्माहित भएको बताएका छन् । ‘मेरा मित्रप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवारप्रति म तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिवार हार्दिक समवेदना व्यक्त गर्दछ,’ उनले लेखेका छन् । प्रतिष्ठानद्वारा प्रकाशित वक्तव्यमा उल्लेख छ, ‘परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान दिनुभएका उहाँले धेरै कलाकार उत्पादन गरेर नेपाली चित्रकला जगतलाई गुन लगाउनुभएको छ ।’

पछिल्लो समय उनले युवा कलाकारलाई परम्परागत चित्रकला सिकाउँदै आएका थिए । नेपाल राष्ट्र बैंकको सिक्का डिजाइन समितिका सदस्यसमेत रहेका उनी परम्परागत कलाकार संघका अध्यक्ष पनि थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश खनालका अनुसार उनी परम्परगत शैली झल्काउने धार्मिक चित्रकलामा निपुण थिए । ‘परम्परागत शैली झल्काउने देवीदेवताका शक्तिलाई केन्द्रित गरेर उनी चित्रकला कोर्थे,’ खनालले भने, ‘उनले परम्परागत पौभा चित्रकलालाई कल्पना गरेर आकृति दिने गरेका थिए । चित्रकलामा आकृति दिन सबैभन्दा जटिल मानिन्छ । परम्परागत चित्रकलालाई परिमार्जित गर्दै युवा पुस्तामा आफूले जानेका कुरा हस्तान्तरण गर्न उनी सफल भए ।’ चित्रकलाबाहेक उनका नेपाल भाषामा एल्बम र पुस्तकसमेत प्रकाशित भएका छन् । उनका पत्नी विद्या तुलाधर, दुई छोरी भावना र प्रेरणा तथा छोरा किचमान चित्रकार छन् ।

प्रकाशित: १ भाद्र २०७७ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App