१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सागर उदासका तीन गीत

लकडाउनका सृजना

सागर उदास

लगाउँछौं खुकुरीमा धार  

देशका लागि बोल कवि, बोल कलाकार

छिमेकीले किन हेप्छ हामीलाई बारम्बार ?

नेपालीको रगत ताते गछौं प्रतिकार ।  

नेपालीको रगत ताते गर्छौं प्रतिकार ।  

 

दाजूभाई भनि गर्छ व्यबहार अति छुच्चो

नेपाली माथि सिमानामा सधैं थिचोमिचो ।  

सहिन्न त्यो हेपाहाको वचनको मार  

हाम्रो माटो फिर्ता लिन लाग्छौं बारम्बार ।  

 

जनता भई बाँच्यौं हामी, अब रैती हुन्नौं

दास भएनौ कहिल्यै हामी, अब दासता सहन्नौं ।  

देशका लागि मछौं तर मानिँदैन हार

आबश्यक परे लगाउँछौं खुकुरीमा धार ।  

 

माझी दाई  

साँझबिहान छाक टार्न माछी मार्थे माझी दाई

हिउँद वर्षा घाटमा डुङ्गा तार्थे माझी दाई ।  

 

कलेटी छ ओठमा तर मन छ फूलको थुंगा

कैले वारी, कैले पारी माझी दाईको डुंगा

पुलहरू बने, मान्छे हिँड्छन् अचेल पुलबाटै

सबै ठाउँमा बन्द भए डुंगा तार्ने घाट

डुँगा तारी गामबेंसी गर्थे माझी दाई

हिउँद वर्षा घाटमा डुंगा तार्थे माझी दाई ।  

 

माछा मारौं छैनन माछी, सुकि गए खोली

आज रित्तै, भोलि रित्तै माझी दाईको झोली

संकटमा प¥यो भन्छन् गरिखाने पेशा

सीप देऊ अब हाम्लाई समृद्ध होस् देश

कहिलेकाहिँ घाटमा बास गर्थे माझी दाई

हिउँद वर्षा घाटमा डुंगा तार्थे माझी दाई ।  

 

सामाजिक दूरी

भेट्न मन नलागेर टाढा भएको होइन

हजुर भेट्न, झल्को मेट्न गाउँ आएको होइन

घर आउँदा गामबेंसी गर्न मन लाग्यो

पहिले आफैं सुरक्षित हुन मन लाग्यो ।  

 

किन छलढाँट गरुँ मैले, भेट हुँदा बोल्छु  

सुन्छु कुरा, मेरा पनि मन्का कुरा खोल्छु  

पहिलेजस्तै नजिकै हुन मन लाग्यो

धेरैचोटि हातपाउ धुन मन लाग्यो ।

 

सुरक्षित हुन सन्देश फैलाई गर्नुपर्छ चर्चा

नसोचेको हुन सक्छ धेरै लापरवाही गर्दा

गाउँघरमा हाँसखेल गर्दै चर्न मन लाग्यो

सामाजिक दूरी कायम गर्न मन लाग्यो ।  

प्रकाशित: ६ असार २०७७ १५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App