१ कार्तिक २०७८ सोमबार
कला

‘काममा मलाई हिटलर नै भन्छन्’

काठमाडौं – रेडियो नेपाल, नेपाल टेलिभिजन हुँदै फिल्मसम्मको यात्रामा आउँदा कलाकार भनेर चिनिएकी दीपाश्री निरौलाले अहिले सफल निर्देशकको पहिचान बनाइसकेकी छन्। रेडियो नेपालमा सहकर्मी दीपकराज गिरीसँग ‘धनिया’ र ‘रामबिलास’को जोडी भएर कार्यक्रम चलाएपछि दीपाश्रीले पछाडि फर्केर हेर्नु परेन।

नेपाल टेलिभिजनको हास्य टेलिश्रृंखला ‘तितो सत्य’ले उनलाई थप नयाँ उचाइ दियो। रेडियो र टेलिभिजनको अनुभवलाई निर्देशकका रूपमा फिल्मी पर्दामा प्रस्तुत गर्दा दीपाश्रीले ‘सफल निर्देशक’को ट्याग पाइसकेकी छन्। दीपाश्रीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा’ देखि ‘छक्का पन्जा ३’ सम्म आइपुग्दा तीनवटै फिल्मले बम्पर व्यापार गरिसकेको छ।

दीपाश्री कलाकारितामा महिला र पुरुषको भूमिका फरक भएपनि निर्देशकिय रूपमा क्षमताले मात्र पहिचान मिल्ने बताउँछिन्। ‘देखासिकीको भरमा काम गर्नुभन्दा आफूमा क्षमता हुनुपर्छ। क्षमता भएपछि जे गर्न पनि सहज हुन्छ। महिला पनि निर्देशनमा आउन थालेपछि महिलाले गर्न सक्छन् र ? भन्ने धारणा हट्दै गएको छ,’ दीपाश्रीले भनिन्, ‘प्रारम्भको समयमा गाह«ो पथ्र्यो। अवसर नपाएका महिला अग्रसर भएपछि घोकन्ते भन्दा सिकेको विद्यामा राम्रो क्षमता हुन्छ भन्ने प्रमाणित गरिसके।’

दीपाश्रीको आफू निर्देशक भएपछि लामो दृश्यमा आफै देखिनुहुन्न भन्ने बुझाई छ। ‘त्यही कारण आफैंले निर्देशन गरेको फिल्ममा एक वा दुई दृश्यमा मात्र देखिन्छु। कलाकारलाई अभिनयमा बगाउने काम निर्देशकको हो। व्यापारको लागि फिल्म बनाइने भएकाले व्यापारिक दृष्टिले पनि काम गर्नुपर्छ’, उनी भन्छिन्।

देखासिकीको भरमा काम गर्नुभन्दा आफूमा क्षमता हुनुपर्छ। क्षमता भएपछि जे गर्न पनि सहज हुन्छ। महिला पनि निर्देशनमा आउन थालेपछि महिलाले गर्न सक्छन् र ? भन्ने धारणा हट्दै गएको छ।

दीपाश्रीले ‘तितो सत्य’ बनाउँदा सिकेको ‘वान लाइन इडिटिङ’ले पनि उनलाई काम गर्न सजिलो बनाइदिएको छ। ‘७५ प्रतिशत फिल्म सम्पादनकै क्रममा बन्छ। त्यसैले अल्छी लाग्ने कुरा दिमागबाटै निकाल्छु। उनी संगीत हाल्दा समेत स्टुडियो पुग्दा गीतकार छक्क पर्छन्। ‘अरुबेला जिस्कन्छु तर काममा मलाई हिट्लर नै भन्छन्,’ निरौलाले कामका कुरा सुनाइन्, ‘कामको पूजा गर्नुपर्छ। अब्बल कामबाट दर्शकको मन जित्ने हो।’

यीबाहेक उनी विशेष खुबीका साथ विशेष जनरामा फिल्म बनाउन सके महिला निर्देशकले दर्शकको मन जित्न सक्ने बताउँछिन्। ‘मसँग हास्यव्यंग्यको खुबी राम्रो छ। त्यसैले यसमा फिट भएँ होला’, उनी भन्छिन्, ‘तर अरु कोही रोदन वा मसलादार फिल्मको जनरामा फिट हुनसक्छन्। त्यहाँ म सक्दिनँ होला।’

दिपाश्रीभन्दा फरक माहोलमा नायिका बन्न आएकी रेखा थापाले चुलबुले भूमिकामा फिल्म ‘हिरो’ बाट फिल्म क्षेत्रमा प्रवेश गरिन्। पूर्व निर्माता पति छविराज ओझासँग मिलेर रेखाले ‘अजम्बरी नाता’, ‘हिम्मत’, ‘किस्मत’, ‘हिफाजत’, ‘कसले चोर्यो मेरो मन’, ‘रावण’, ‘अन्दाज’ र ‘हमेशा’ निर्माण गरिन्।

छविसँगको विवाह र विवादसँगै सम्बन्धविच्छेद भएपछि एक्लिएकी थापाले अरुको फिल्ममा काम पाउने भर गरेर बसिनन्। उनले एक्लै फिल्म बनाउने आँट गरिन्। उनले ‘डेब्यु’ निर्देशन गरेको फिल्म ‘हिम्मतवाली’ले उनलाई चर्चा दिलायो। हिरोको हिरोइज्म र शारीरिक सुगठनमा केन्द्रित नेपाली फिल्ममा महिलालाई रोनाधोनामै सिमित राखेको थियो। उनले महिलालाई गम्भिर संवाद बोल्ने, हिरोले झैं फाइट खेल्ने, घोडा चढ्ने, भीरबाट हामफाल्ने कुरा सिकाइन्। टेम्पो चालकका रूपमा  ‘रामप्यारी’, हिंसा गर्ने पुरुषसँग बदला लिनसक्ने ‘रुद्रप्रिया’ र समाजमा विद्रोह गर्न सक्ने ‘मालिका’ जस्ता फिल्म बनाइन्।

‘महिलालाई जहाँ पनि सतही रूपमा बुझ्दा रहेछन्’, थापा भन्छिन्, ‘केटी मान्छेले फिल्म बनाउनै सक्दैन भन्ने धारणा फिल्म क्षेत्रमा रहेछ। तर आँटसँगै क्षमता भए पुरुषभन्दा अब्बल फिल्म निर्माण गर्न सकिन्छ।’ फिल्म ‘मालिका’मा उनले बालविवाहको विषयवस्तु उठाइन्। ‘यही विषय पुरुषले उठाउथ्यो भने जल्दोबल्दो महिलाको विषय उठान पुरुषले गर्यो भनेर वाहवाह हुन्थ्यो ?’, रेखाले भनिन्, ‘तर महिला भएर महिलाकै विषय उठाई। के कुरा ठुलो भयो र भन्नेहरू धेरै भेटें।’

फिल्ममा उनका सहकर्मीले अनुशासित भएर काम गरेको पाएकी छन्। अन्य फिल्ममा मद्यपान गर्ने, हल्लाखल्ला गर्नेहरू उनको फिल्ममा मद्यपान नगरी काम गरेको अनुभव रेखासँग छ। समाजले नै छोरा र छोरी भन्ने लौंगिक आधार हुर्काएकाले त्यसको असर फिल्ममा देखिनु नौलो नहुने उनी ठान्छिन्।

रेखाले पुरुष निर्देशक र महिला निर्देशकमा रहने कोमल मन र करुणाको फरकपनाले काममा केही कमजोरी हुने गरेको महसुस गरेकी छिन्।  ‘कामका बेला मलाई कसैले माया गरेर बोलाउँदा त्यो बेला ‘मलाई माया गर्यो’ भन्नुभन्दा पनि त्यसको असर फिल्ममा नदेखियोस भनेर हेक्का राख्नुपर्नेरहेछ,’ उनी भन्छिन्।

उनी निर्माता र निर्देशक आफै हुँदाको चुनौतीका रूपमा सबैभन्दा पहिला आर्थिक व्यवस्थापनलाई लिन्छिन्। त्यसपछि समूहको कामको व्यवस्थापन र अभिनय व्यवस्थापन अर्को चुनौती छ। नेपाली फिल्मका लागि विदेशमा सिकेर आएका कुराभन्दा पनि यहीको समाज र कथा बुझ्नु जरुरी रहेको उनले बताइन्। ‘नेपाली फिल्म क्षेत्र आफैमा ठूलो विश्विद्यालय हो। फिल्म सिक्न बाहिर जानै पर्दैन’, थापाले भनिन्, ‘विदेशबाट सिकेर आएपनि त्यहाँको प्रविधि र फमुर्ला यहाँ काम छैन।’

प्रकाशित: २७ पुस २०७५ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App