३१ चैत्र २०८१ आइतबार
image/svg+xml ७:९ पूर्वाह्न
कला/संस्कृति

संस्कार रूपान्तरण कि विलयन?

संस्कृति

हि–हितं मत्वा ज्ञानकेन्द्रं स्वतन्त्रेण विचारयेत्,

नान्धा नुसरणं कुर्यात् कदाचित् कोऽर्पिकस्पाचित्।

देश, काल, परिस्थिति, पात्र र अधिकारअनुसार मानवको सुविधाका लागि विविध किसिमका नियम, धर्मोपदेश, कानुन र प्रथाको निर्माण भएका छन् । परिस्थिति र वातावरण परिवर्तन हुनेबित्तिकै यो विधिविधान पनि परिवर्तन हुन्छ। गायत्रीका ‘हि’ अक्षरको मतलब हो मानिसले सामाजिक हितका लागि देश, काल र विवेकअनुसार विविध नियम, प्रथा र परम्परा बदल्न सक्नुपर्छ। आज हाम्रो समाजमा त्यस्ता प्रथा छन्, जसलाई बदल्नु अति जरुरी छ । जसलाई नबुझी हामी अन्धानुकरण गर्छौं। यिनको परिवर्तन नै गायत्री मन्त्र ‘हि’ अक्षरको तात्पर्य हो।

विज्ञान–प्रविधिले वर्तमान विश्व निरन्तर साँघुरो बनिरहेको छ। विज्ञान, प्रविधि तथा विश्वव्यापीकरण अवधारणाको कारण संसारको एउटा कुनाको सानोभन्दा सानो सूचना क्षणभरमै संसारभर पुग्छ र सबैले थाहा पाउँछन्। पृथ्वीको एउटा कुनाको मान्छे अर्को कुनामा केही घण्टाभित्रै पुग्छ। विज्ञान–प्रविधिको आविष्कार तथा त्यसको अनुकरणले वर्तमान समयमा संसारका हरेक जातिका परम्परित भाषा, साहित्य, सङ्गीत, आस्था, विचार, मूल्य, मान्यता, संस्कार, संस्कृति, परिवर्तनशील एवं एकअर्काबाट प्रभावित भई लोप हुने अवस्थामा समेत पुगेका छन्।

समयको प्रवाहसँगै परम्परित संस्कार र संस्कृतिको परिवर्तनधर्मितालाई रोक्न नसके पनि प्राचीन सांस्कृतिक मूल्यमान्यताको खोजी, अध्ययन, अनुसन्धान गरी त्यसका सकारात्मक तथा नकारात्मक पक्षलाई केलाउँदै समयानुकूल बनाएर ग्रहण गर्न सके प्राचीन संस्कार–संस्कृतिलाई संरक्षण गर्न सकिन्छ।

संस्कृतिविहीन व्यक्ति, जाति, समाज र राष्ट्र पहिचानविहीन तथा अस्तित्वविहीन हुने हुँदा आफ्नो प्राचीन भाषा, संस्कार, संस्कृति, सम्पदाको संरक्षण गर्नु कुनै सबैको कर्तव्य हो। संस्कार–संस्कृति रूपान्तरण हुँदा कुनै पनि जातिविशेषको मौलिक पहिचान जीवित रहन्छ तर परसंस्कृतिको अनुकरण र अनुशरणले नेपाली प्राचीन संस्कृति विलयनको अवस्थामा पुगिसकेको छ।

वर्तमान समयमा हरेक समुदायले आफ्नोे पहिचानको खोजी गर्न थालेको देखिन्छ। आफ्ना प्राचीन संस्कृति र इतिहासको खोजी गर्दै वर्तमानसम्म केकस्ता शृङ्खलाहरू पार गर्दै आएका छन् भन्ने खोजी भइरहेको वर्तमान समयमा मौलिक संस्कृतिको खोज र यसको आफ्नोपनलाई जोगाई राख्नुपर्ने चुनौती थपिएको छ।

संस्कृतिको यसप्रकारको अध्ययन अनुसन्धानले निश्चय नै महत्त्वपूर्ण टेवा पुर्‍याउन सक्छ तर यस्ता अध्ययनमा जातिको सांस्कृतिक अध्ययनमा केन्द्रित भई त्यसको रूपान्तरणमा हुनुपर्ने आजको आवश्यकता हो। संस्कृति किन छोडियो, यसको प्रभाव कहाँसम्म परेको छ र कालान्तरमा यसले कस्तो दूरगामी असर पार्छ भन्ने कुराको अध्ययनपश्चात् जातिको मूर्त तथा अमूर्त संस्कृतिको पहिचान हुने हुँदा यी जातिको मौलिक पहिचान प्राप्त गर्न सकिनेछ।

 वस्तुतः संस्कृति भनेको मानिसले जीविकोपार्जन गर्ने क्रममा परम्परागत रूपमा सिक्दै र भोग्दै आएको जीवनशैली वा जीवनपद्धति हो भन्ने कुरालाई जोगाउन सकिन्छ। सामान्यतः रीतिथिति, परम्परा, वेशभूषा, खानपान, चाडपर्व, आस्था, विश्वास, नाचगान, धर्मकर्म, सिपकला, कथा–गाथा आदिलाई मात्र संस्कृतिको रूपमा बुझ्ने गरिन्छ। तर संस्कृतिले व्यापक क्षेत्र ओगटेको छ। कुनै पनि जाति, वर्ग र समुदायले परापूर्व कालदेखि नै अनवरत रूपमा अवलम्बन गर्दै आएको, अङ्गीकार गर्दै आएको समग्र क्रियाकलापको समष्टि रूप नै वास्तवमा संस्कृति हो।

यसरी हेर्दा के देखिन्छ भने संस्कृति भनेको मानिसको समग्र क्रियाकलाप हो। यो स्थान, जाति विशेष रहेको हुन्छ। समयअनुकूल यो स्वतः परिवर्तन हुनुपर्नेमा कर, बल र छल तथा अन्धानुकरणले गर्दा रूपान्तरणभन्दा पनि विलयनको अवस्थामा पुग्नु कुनै पनि जाति वा समाजका लागि अनुत्पादक बन्छ।

मानिसले खाना, छाना र नाना अर्थात् गास, बास र कपासका निम्ति अथवा आफ्नो जीविकोपार्जनका निम्ति अनेकन् प्रयास र व्यवहार गर्नुपर्ने बाध्यता थियो। बाँच्न र हाँस्नका लागि अथवा जीविकोपार्जन र मनोरञ्जनका लागि अनेकौं सङ्घर्षमय क्रियाकलाप गर्नुपर्ने भयो। त्यही क्रियाकलापको निरन्तरता नै मानिसको संस्कृति बन्न पुग्यो र यो क्रम निरन्तर छ तर वर्तमान समयमा यसको क्रमभङ्गतामा असर परिरहेको छ।

संस्कृति मानिसको समग्र जीवनशैली हो। तर यहाँ विचारणीय के छ भने वर्तमान पुस्ताले बाँचेको समयको नवीन परिवेश र पर्यावरणको जीवनशैली भने संस्कृति होइन। संस्कृति हुनका लागि परम्परागत रूपमा एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तासम्म निरन्तर हस्तान्तरण हुँदै आएको हुनुपर्छ।

पुर्खाहरूको बिरासतको रूपमा प्राप्त ज्ञान, विवेक, सिपकला, कथागाथा, भाषा, गीतसङ्गीत, वेशभूषा, खानपान, धर्मकर्म, चाडपर्व, आस्था, विश्वास, मूल्य, मान्यता आदि समग्रताको नाम नै संस्कृति हो। आधुनिकताका नाममा यसलाई जोरबलले विलयन गर्न खोजिएको पाइन्छ।

वर्तमान समयका मानिसमा जुन विवेक, ज्ञान र बुद्धि छ, त्यो पुर्खामा थिएन। मानिसले आफ्नो शारीरिक आकारप्रकार र ज्यानसँगै ज्ञानको पनि विकास गर्दै लग्यो। पुर्खाहरूको जनसंख्या वृद्धिसँगै खानपान र वासस्थानको अभाव हुन थाल्यो। फलतः पुर्खाका विभिन्न झुन्डहरू खाना, छाना र नानाको खोजीमा विश्वका विभिन्न ठाउँमा भौंतारिन विवश भए। त्यसैले मानिस विश्वका विभिन्न ठाउँमा फैलिन पुगे।

यसरी मानिसले विभिन्न ठाउँमा अनेक संस्कृतिको निर्माण गरेर निरन्तर बाँचिरहेका छन्। गरिब तथा अविकसित देशमा भाषा र संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको छ। यसमा नेपाल अछुतो छैन। हाम्रो कला, संस्कृति, भाषा जोगाउन पनि महत्त्वपूर्ण कदम चाल्नुपर्ने आजको आवश्यकता हो।

विश्वमा हरेक जाति, वर्ग र समुदायले आआफ्नो भूगोल, परिस्थिति र तरिकाले जीवनयापन गर्ने भएकाले सोहीअनुरूपको संस्कृति निर्माण हुने गर्छ। त्यसैले संसारमा विभिन्न प्रकारका संस्कृतिको जन्म र विकास हुन पुगेको हो। ती संस्कृतिलाई अलग अलग ढंगले चिन्ने र बुझ्ने गरिन्छ, जस्तै धर्मका आधारमा किराती संस्कृति, बौद्ध संस्कृति, हिन्दु संस्कृति, इसाई, सिख संस्कृति आदि।

यसैगरी जातका आधारमा विहारी संस्कृति, राई संस्कृति, नेवार संस्कृति, तामाङ संस्कृति, क्षत्री संस्कृति, आसामी संस्कृति, बाहुन संस्कृति, लाप्चा संस्कृति आदि रहेका छन्। यसरी नै देश अर्थात् भूगोलअनुसार नेपाली संस्कृति, भारतीय संस्कृति, जर्मनी संस्कृति, पूर्वीय संस्कृति, पाश्चात्य संस्कृति आदि विभाजन देखिन्छ।

यसरी मानिसद्वारा निर्मित संस्कृतिका अनेक रूप र प्रकार हुने गर्छन्। संस्कृति मानिसको पहिचान हो। अन्य पशुपक्षी, जीवजन्तुभन्दा मानिस पृथक् हुनुको प्रमुख कारण संस्कृति नै हो। नेपाल र नेपालीको पहिचान अर्थात् मौलिकपन जोगाउन संस्कृतिको रूपान्तरण त हुन सक्छ तर विदेशी संस्कृतिको मोह र नेपाली संस्कृति तथा परम्परामाथि गरिएको निरन्तर प्रहारले सांस्कृतिक विलयन हुँदै गएको छ।

आधुनिकतातर्फको मोह एवं विदेशी संस्कृतिको चरम प्रभावले जीवनशैलीमा परिवर्तन भइसकेको देखिन्छ। जसको प्रत्यक्ष प्रभावका रूपमा आज मनाइने जन्मोत्सवमा बत्ती निभाउने, केक काट्ने, विवाहमा हल्दी–मेहन्दी लगाउने, भोजमा मदिरा र चर्को सङ्गीतमा रमाउने, किनमेल गर्न ठुला ठुला मल रोज्ने, पठन संस्कृतिमा ह्रास, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक विखण्डन तथा आदरसत्कारमा कमीजस्ता संस्कृतिको विकास भएको पाइन्छ।

सामाजिक सञ्जालको बढ्दो दुरूपयोगका कारण छाडा तथा अश्लील संस्कृति मौलाउँदै जानुले पनि हाम्रो समाजको प्राचीन संस्कृति र पहिचानमा दिनानुदिन ह्रास हुँदै गएको छ। अहिले संस्कृति रूपान्तरण होइन, विलयन नै  भएको देखिन्छ।  

प्रकाशित: २ चैत्र २०८१ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App