६ माघ २०८२ मंगलबार
image/svg+xml
कला/संस्कृति

कथित कम्युनिस्ट हुनु र ढोंगी पुजारी हुनु उस्तैउस्तै हो!

मुक्तक

१) मुक्तक

कार्य काफी छ काट्न, वचनको आरा चाहिन्न,

आफैं उम्रेको पिपल हुँ, कसैको सहारा चाहिन्न

छेक, तान, जाल हान, लुक, लुकाऊ, नदेखाऊ

बाघको डमरु हुँ खोज्छु, कसैको आहारा चाहिन्न।

२) मुक्तक

उकाली, ओराली, देउरालीमा साथ हुँदा पो मजा हुन्छ

थर्थराएका मेरा यी हातमा तिम्रो हात हुँदा पो मजा हुन्छ

चर्चा गरून् जति सन्तहरूले ध्यानस्थ एक्लो जीवनको

ममताले गाँसिएको टपरीको पात हुँदा पो मजा हुन्छ।

३) मुक्तक

कथित कम्युनिस्ट हुनु र ढोंगी पुजारी हुनु उस्तैउस्तै हो,

कार्लमार्क्सका अघि रुनु र शिवलिङ्ग धुनु उस्तैउस्तै हो।

तिम्रो प्रवर्तन मानी लेखिने छ अब झुटको यो नयाँ दर्शन,

भैंसीलाई बोको फुनु र तिम्ले समाजवाद छुनु उस्तैउस्तै हो।

४) मुक्तक

च्यातिएका धरा बीजले टाल्छ प्रकृतिले,

परी आए हिउँमै आगो बाल्छ प्रकृतिले।

दोहन गर, विकृत तुल्याऊ, कहिलेसम्म हो र?

हेर्दाहेर्दै अस्तित्व तिम्रो फाल्छ प्रकृतिले।

५) मुक्तक

घुरानले ढाकेको छ, हीरा कहाँ देखिन्छ र!

ढुट्याइएको धुलामा जिरा कहाँ देखिन्छ र!

वेश्या पागल केके देख्यौ, तिमीले देख्ने यस्तै नै हो,

समर्पण र प्रेमविना मीरा कहाँ देखिन्छ र!

६) मुक्तक

यो बाढी होइन पुँजीपतिको रहर बर्सिएको हो

सुन्दर, प्यारो हाम्रो गाउँमा शहर बर्सिएको हो!

विकासविकास भनीभनी कति भ्रम छर्छौ?

तिम्रा सोखको उडानमा यो जहर बर्सिएको हो!

७) मुक्तक

म छु र तिमी उभिएका छौ, भ्रम कसरी भन्छौ?

म छैन र तिमी उभिएका छौ, भ्रम कसरी भन्छौ?

छु र छैनको विमर्श आदिमअनादि ऊँ नमः

देखिन्नँ तर सास फेरिरहेका छौ, भ्रम कसरी भन्छौ?

८) मुक्तक

झरीमा रुझ्दै तिमीलाई पर्खेको याद आयो

घडी हेर्दाहेर्दै समय घर्केको याद आयो

उठेँ, बसेँ, पछारिएँ, कोपरेँ के के गरेँ गरेँ

मुटु राखी चौतारीमा फर्केको याद आयो।

९) मुक्तक

हुरीमा हुर्रिँदै हल्लिन्छ हलहले तर जरो छाडेको छैन!

पसिनाको दहमा रोप्नु परे पनि उसले गरो छाडेको छैन!

चिच्याउँछ, बोलाउँछ, देखाउँछ, हेर न हरियो जीवन,

प्रयत्न जति होस् झुन्डिएको विशेषण बरो छाडेको छैन!

१०) मुक्तक 

दिन र रात उस्तै लाग्छ,`मदिरा´ले छोएपछि

प्रेम र घात उस्तै लाग्छ `मदिरा´ले छोएपछि

जाँदै छौ भने विन्ती मार्क्सलाई सम्झाइदिनु

पैसा र पात उस्तै लाग्छ, `मदिरा´ले छोएपछि।

प्रकाशित: १६ फाल्गुन २०८१ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App