एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा १३ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङका जिल्ला न्यायाधीश विकास श्रेष्ठले १३ राजनीतिक दलले उम्मेदवारी दर्ता गरेको जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दल बाहेक यहाँ स्वतन्त्र उम्मेदवारी दर्ता भएन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवम् ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्मीकपुर शाहका अनुसार नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङको उम्मेदवारी दर्ता भएको छ । उनी काँग्रेस ताप्लेजुङका सभापति हुन् ।
एमाले केन्द्रीय सदस्य तथा युवा संघका केन्द्रीय अध्यक्ष थेबेको मनोनयन दर्ता गराउन उपमहासचिव योगेश भट्टराई आफैं पुगेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री(पराग)को उम्मेदवारी परेको छ । उनी साविक नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठको उम्मेदवारी परेको छ । उनी जलविद्युत क्षेत्रको व्यवस्थापक जानकार तथा गायन क्षेत्रका अभियान्ता हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्द्रप्रसाद थापाको उम्मेदवारी परेको छ । श्रम संस्कृति पार्टीबाट सन्तोष राई उम्मेदवार बनेका छन् । राई जिल्ला समन्वय समिति सदस्य पद छाडेर प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् ।
उज्यालो नेपाल पार्टीबाट कीर्तिमान मादेन उम्मेदवार बन्ने भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट संघीय सदस्य मुक्साम लावुङको उम्मेदवारी परेको छ ।
जनता समाजवादी पार्टी नेपालबाट सूर्य तमू, जनता समाजवादी पार्टीबाट अरुण लेछर्बो र नेपाल जनमुक्ति पार्टीबाट जिल्ला अध्यक्ष इन्द्रकुमार थलङको उम्मेदवारी परेको छ ।
मंगोल नेस्नल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बू उम्मेदवार बनेका छन् । नेत्रविक्रम चन्द‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट नरपति पौडेल उम्मेदवार बनेका छन् ।
प्रकाशित: ६ माघ २०८२ १७:५३ मंगलबार





